नारी दिवसमा स्क्वाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १९ गते, शनिबार २०:१३

काठमाडौं, फागुन १९ गते ।काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
नारी दिवसका दिन फागुन २५ गते कमलपोखरीस्थित सिटी सेन्टर मलमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव विजयतमरत्न बज्राचार्यले जानकारी गराए ।
प्रतियोगितामा जम्मा तीन तौलसमूह प्रतिस्पर्धा हुनेछ । ५७ केजीमुनि, ५७.१ देखि ६५ केजीसम्म र ६५ केजीमाथि तौलसमूहमा खेल हुनेछ । प्रतियोगितामा नेपालभरिका विभिन्न जिम क्लब तथा संघ संस्थाहरूबाट करिब ९० खेलाडीको सहभागिता रहने टेक्निकल कमिटीका संयोजक सुकदेव कार्कीले बताए ।
प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २० हजार १ सय, १० हजार १ सय र ५ हजार १ सय नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५ लाख ७५ हजार खर्च हुने संघकी अध्यक्ष शोभा गुरुङले जानकारी गराइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु