शर्मिला विश्वकर्मा, काठमाडौँ
कला मानिसको सीप तथा सभ्यताको पहिचान हो । कलाका विधिहरूमा मूर्तिकला, हस्तकला, चित्रकला, प्रिन्ट मेकिङ्ग, डिजिटल आर्ट लगायतका पर्दछन् । आकार आर्ट सेन्टरले आज फागुन ३० गते काठमाडौँमा एक पत्रकार सम्मेलन गरी कलाको पहिचान गराउन तथा यसलाई व्यस्थीत गर्ने उद्देश्यले यही चैत २ गते देखि ५ गते सम्म अन्तर्राष्ट्रिय कला कार्यशाला एवं प्लेन एयर वर्कसप २०२४ हुन लागेको जानकारी गराएको छ ।
यसै क्रममा आकार आर्ट सेन्टरका अध्यक्ष अनिता भट्टराईले कलालाई निरन्तरता दिन र बजारीकरण गर्नका लागि आर्थिक चुनौती रहेको भए पनि कलाकारहरूको कलालाई उत्साहित गर्न, प्रोत्साहन दिन तथा स्थायित्व प्रदान गरी पहिचान जोगाउनका लागि आकार आर्ट सेन्टरको स्थापना गरेर काम गरेको बताउनु भयो । साथै यस सेन्टरमा सबै प्रकारका कलाकारहरूको कलालाई सम्मान गर्दै अर्थ पूर्ण समावेशका लागि अगाडी बढेको र यसमा सञ्चार माध्यमहरू र सञ्चारकर्मीहरूको पनि उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
सो पत्रकार सम्मेलनमा नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष सन्तोष चन्द्र कुँवरले कलाकलाको मेहनत तथा कलाको सम्मान गर्न, उनीहरूको मेहनतको पारिश्रमिक उपलब्ध गराउनका लागि कलालाई व्यापारसँग जोडेर उद्योगको रूपमा विकास गर्नु पर्ने बताउनु भयो ।
यसै क्रममा एचआइभी सङ्क्रमित बालबालिका अध्ययनरत विद्यालय सफलता एचआइभी शिक्षा सदन अन्तर्गत बेबी होमका अध्यक्ष राजकुमार पुनले एचआइभी सङ्क्रमित बालबालिकाहरूले अन्य नागरिकहरूले अध्ययन गर्ने विद्यालयमा अध्ययन गर्न चुनौती भएको कारण सन् २०११ मा पहिचान सहितको विश्वको पहिलो विद्यालय सफलता एचआइभी शिक्षा सदनको स्थापना गरिएको र त्यहाँ ती बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएको बताउनु भयो । साथै उहाँले यही चैत २ गते देखि ५ गते सम्म काठमाडौँमा हुने अन्तर्राष्ट्रिय कला कार्यशाला एवं प्लेन एयर वर्कसमा प्रदर्शनीमा बिक्री भएका कलाबाट प्राप्त भएको ५० प्रतिशत रकम एचआइभी सङ्क्रमित बालबालिकाहरूलाई सहयोग गरिने पनि बताउनु भयो ।
चैत २ गते देखि सुरु हुने कालाशालाको शुभारम्भ नेपालका लागि युरोपियन युनियन (EU) का राजदूत भेरोनिक लोरेन्जोले गर्नु हुने छ भने उक्त कार्यशालामा नेपाल लगायत भारत, युएई, इरान, बङ्गलादेश र ताइवानका १२० कलाकारहरूको सहभागी हुने उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।