अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ९ गते, शुक्रबार २१:१९

९ चैत २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आज शुक्रवार काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाका सदस्यहरूका लागि स्वास्थ्य पुनर्स्थापना सम्बन्धी क्षमता अभिवृद्धि तथा अभिमुखीकरण सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको छ ।

यस छलफलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ कार्यक्रम संयोजक सन्दीप वि.क.ले अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाका सदस्यहरूका लागि स्वास्थ्य पुनर्स्थापना सम्बन्धी क्षमता अभिवृद्धि तथा अभिमुखीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै प्रस्तुतिका क्रममा उहाँले पुनर्स्थापनाका विषयमा प्रस्ट पार्दै अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सक्रिय जीवन निर्वाह गर्न सक्षम हुने गरी प्रदान गरिने चिकित्सकीय सेवा, सहायक सामाग्री, सीपमूलक तथा व्यावसायिक तालिम लगायतका सेवा उपलब्ध हुन सकेमा पुनर्स्थापना हुने बताउनु भयो । साथै उहाँले प्रस्तुतिका क्रममा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना, व्यापक पुनर्स्थापना सेवा, सहयोगी सामाग्री सहितको गुणस्तरीय सेवा, पुनर्स्थापना सेवाको ढाँचा, कानुनी आधारहरू जस्तै: जनस्वास्थ्य ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६ (स्वास्थ्य बिमा, निःशुल्क आकस्मिक स्वास्थ्य सेवा,) का विषयमा पनि जानकारी गराउनु भएको थियो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाका सदस्यहरूका लागि स्वास्थ्य पुनर्स्थापना सम्बन्धी क्षमता अभिवृद्धि गर्नका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू जो राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सदस्य संस्था रहेका छन् उनीहरूको सल्लाह सुझाव प्राप्त भएमा आर्थिक वर्षको बजेटको योजना बनाउन सहज हुने भन्दै सुझाव दिन पनि आग्रह गर्नु भयो ।

त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालकी अध्यक्ष गोमा देवी पौडेलले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य पुनर्स्थापनाका लागि खेलकुदका कार्यक्रमहरूलाई पनि समावेश गर्नु पर्ने बताउनु भयो ।

यस छलफल कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी महासचिव देव कुमारी पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य पुनर्स्थापना सम्बन्धी क्षमता अभिवृद्धि गर्नु पर्ने,

स्वास्थ्य पुनर्स्थापनाका विषयमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई समावेश गर्न जरुरी रहेको नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य पुनर्स्थापनाका लागि स्थानीय निकायहरूबाट नै प्राविधिक उत्पादन गर्नु पर्ने यसको लागि सबैले वकालत तथा पैरवी गर्न जरुरी रहेको पनि बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका सहसचिव टिकाराम सापकोटाले प्रत्येक स्थानीय निकायका जनप्रतिनिधिहरूलाई अपाङ्गताको विषयमा, उनीहरूको स्वास्थ्यको विषयमा जानकारी गराउन जरुरी रहेको बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले USAID र ह्याण्डिक्याप्ट इन्टरनेशनलको सहकार्यमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाका सदस्यहरूका लागि स्वास्थ्य पुनर्स्थापना सम्बन्धी क्षमता अभिवृद्धि तथा अभिमुखीकरण सम्बन्धी छलफलमा डा.सशक्ता थापाले डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस प्रस्तुतीका क्रममा उहाँले डाउन सिण्ड्रोम अपाङ्गता अवस्था वंशाणुगत नभएको र सामान्य व्यक्तिहरूको शरीरमा ४६ वटा क्रोमोजोम हुने र उनीहरूमा एक अतिरिक्त अर्थात् ४७ वटा क्रोमोजोम हुने भएको कारण डाउन सिण्ड्रोम अपाङ्गता अवस्था हुने बताउनु भयो । साथै उहाँले डाउन सिण्ड्रोम ट्राइसोमी -२१, टान्सलोकेशन -२१ र मेजियाक गरी ३ प्रकारको हुने बताउनु भयो । यसै प्रस्तुतीका क्रममा डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका लक्षणहरू, उनीहरूको स्वास्थ्य चुनौती, उनीहरूलाई गर्नु पर्ने स्याहार, सामाजिक दायित्व लगायतका विषयमा पनि प्रस्ट पार्नु भएको थियो ।
यस कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका विभिन्न सदस्य संघ संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु