२० वैशाख २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ
पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गताको विविधता र आवश्यकताका आधारमा सहयोगी सेवा उपलब्ध हुनु पर्ने भनी तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका ७ का दिपक प्रसाद भण्डारी पुनः अनिश्चित अनसनमा बस्नु भएको छ । वि.स.२०६७ सालमा पोखराबाट तनहुँ आउने क्रममा आफै यात्रा गरेको बस दुर्घटना हुँदा स्पाइनल कर्ड इन्जुरी भएर पूर्ण रूपमा शारीरिक अपाङ्गता हुनु भएका दिपक प्रसाद भण्डारीको कुम भन्दा तलको कुनै पनि भाग चल्दैन र कुनै स्पर्श दुखेको पीडा पनि थाहा हुँदैन । उहाँका सबै दैनिक क्रियाकलापहरूमा सहयोगीको आवश्यकता हुन्छ ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ मा सहयोगी सेवा उपलब्ध गराइने व्यवस्था गरेको भए पनि उक्त व्यवस्था कार्यान्वयन नभए पछि उहाँले वि.स.२०८० चैत ६ गते देखि १४ गते सम्म काठमाडौँको रत्नपार्क स्थित शान्ति बाटिकामा धर्ना बस्नु भएको थियो । चैत १४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव सहितको समूह आएर वि.स.२०८१ वैशाख ११ गते सम्म ११ जना पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता अनुसार सहयोगी सेवाको सुरुवात गर्ने भन्ने सम्झौता गरेर उक्त धर्नालाई स्थगित गरिएको भए पनि उक्त सम्झौता कार्यान्वयन हुन नसके पछि पुनः यही वैशाख १८ गते देखि रत्नपार्कको शान्ति बाटिकामा अनिश्चित अनसन बसेको उहाँ बताउनु हुन्छ ।
यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ अनुसार पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताको आधारमा व्यक्तिगत सहयोगी सेवा तथा साङ्केतिक भाषा दोभासेका लागि आर्थिक बर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य व्यवस्था गरी लागु गर्नु पर्ने, सबै अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी संयन्त्रबाट नै आवश्यकता अनुसार सहायक सामाग्रीहरू निःशुल्क उपलब्ध गराइने लगायतका मागहरू राखेर पुनः अनिश्चित अनसन बसेको बताउनु भयो ।
साथै उहाँले चैत ६ गते देखि १४ गते सम्म धर्ना बसे पछि ११ जनालाई वि.स.२०८१ साल वैशाख १ गते देखि व्यक्तिगत सहयोगी तथा आवश्यक सहयोगी सामाग्री उपलब्ध गराउने भनेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने र पूर्ण अपाङ्गता भएका व्यक्ति दीपक भण्डारी बिच भएको सम्झौता भएको र उक्त सम्झौता कार्यान्वयन नभए पछि दोस्रो चरणमा अनिश्चित कालिन अनसन बसेको बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले राज्यले सहयोगी आवश्यक हुने अपाङ्गता भएका व्यक्तिहरूलाई अभिभावक तथा संरक्षकलाई नै सहयोगीको रूपमा परिचालन गर्ने र उनीहरूलाई सहयोगी सेवा प्रदान गरे बापत भएकै श्रोतबाट पारिश्रमिक प्रदान गरिनु पर्ने माग रहेको बताउनु भयो ।
त्यसै गरी राजनितज्ञहरु चित्रबहादुर के.सी., बाबुराम भट्टराई तथा राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले लगायतका व्यक्तिहरूले दीपक प्रसाद भण्डारीलाई अनसन स्थलमा नै गएर भेट गरी उहाँको मागलाई संवोधन गर्नका लागि आफ्नो तर्फबाट सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउनु भयो ।
दिपक प्रसाद भण्डारीले सुरु गर्नु भएको अनसनलाई सफल बनाउनका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूले ऐक्यबद्धता जनाएर साथ दिएका छन् ।