B.P. Koirala’s Statement In Court को लोकार्पण समारोह अमेरिकामा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २३ गते, आईतवार १४:५२

काठमाडौं । लेखक तथा अनुवादक सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण कार्यक्रम संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

१३ वर्षको कलीलो उमेरमा नै प्रहरीको गिरफ्तारीमा पर्नुभएका बाल सत्याग्रही भनेर प्रख्यात सुभाष घिमिरे लोकतान्त्रिक आन्दोलनको क्रममा पटकपटक गिरफ्तार हुनुभएको थियो । ने.वि. संघ, नेपाली कांग्रेस र नेपाली जनसम्पर्क समितिका विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नुभएका घिमिरे चुली, एक्काइसौं शताब्दीकी सुम्निमा जस्ता उपन्यासहरूका अनुवादक पनि हुनुहुन्छ । अमेरिका अनुभूति, मौन विद्रोह, द साइलेन्ट रिबेलियन उपन्यासहरूका सर्जक सुभाष घिमिरेको द ग्रेट ग्याट्स्बी नामक अंग्रेजी उपन्यासको नेपाली अनुवाद प्रकाशोन्मुख छ । B.P. Koirala’s Satement In Court बी.पी. कोइरालाले अदालतमा दिनुभएको बयानको अंग्रेजी अनुवाद हो । संयुक्त राज्य अमेरिकाको ईस्टर्न इलिनोइ युनिभर्सिटीबाट स्नातकोत्तर गर्नुभएका घिमिरेले कृषि तथा वन विज्ञान विश्व विद्यालयबाट स्नातक गर्नुभएको छ ।

लोकार्पण समारोहमा अनुवादक घिमिरेले भन्नुभयो-“बी.पी. कोइरालाले अदालतमा दिनुभएको बयान” नेपाली इतिहासको एउटा त्यस्तो ऐतिहासिक अभिलेख हो, जसबाट जननायक बी.पी. कोइरालाको उच्चतम नैतिक आदर्शबाट निर्देशित चेतनासँग परिचित हुने मात्रै होइन, उहाँको अदम्य साहससॅंग पनि साक्षात्कार गर्ने अवसर पाइन्छ । त्यो इतिहासको त्यस्तो कालखण्ड थियो जतिबेला देश, जनता र लोकतन्त्रप्रतिको आफ्नो अटल निष्ठामा कसैसँग पनि सम्झौता गर्न अस्वीकार गर्ने बी.पी. कोइरालाले आफ्नो ज्यानसमेत गुमाउन सक्ने चुनौतीको सामना गर्नुपरेको थियो ।

अब अङ्ग्रेजी भाषामा अनुवाद भएर B.P. Koirala’s Statement In Court को रूपमा प्रकाशित भएपछि वीरता, नैतिकता र संघर्षको यो प्रेरणादायी नेपाली दस्तावेज विश्वभरका पाठकहरू समक्ष पुग्नेछ भन्ने सोचले म गदगद् छु । त्यसका अतिरिक्त अङ्ग्रेजी भाषामा लेखपढ गर्न रुचाउने नयाँ पुस्ताका नेपाली युवाहरूका लागि पनि यो अनुवाद निकै उपयोगी हुनेछ भन्ने कुराले पनि म उत्तिकै हर्षित छु ।”

जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सभापति केशव शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहको प्रमुख अतिथि जय नेपाल इन्टरनेशनल फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष, संयुक्त राज्य अमेरिकाका युवा वैज्ञानिक डा. यादव पण्डित हुनुहुन्थ्यो । उक्त समारोहको विशिष्ट अतिथि पुस्तकका समीक्षक वरिष्ठ समाजसेवी डा. श्याम कार्की र एनआरएनएकी नेतृ रविना थापा हुनुहुन्थ्यो ।

समारोहमा बानाका अध्यक्ष सुबोधविलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुंग, नेपाल महिला संघ पर्वत जिल्ला अध्यक्ष मुना लामिछाने, अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्डका अध्यक्ष मधुकर अधिकारी, चितवन समाजका अध्यक्ष तथा जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सल्लाहकार आनन्दकृष्ण घिमिरे, एनआरएनए मेरिल्याण्डका पूर्व अध्यक्ष तथा एनआरएनए एनसीसी अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर डोलनाथ घिमिरे, एनआरएनए एनसीसी अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा न्युजलेटर पब्लिकेशन कमिटीका संयोजक र उक्त कार्यक्रमको व्यवस्थापनमा अत्यन्त सक्रीय विष्णु बराल, बाना ट्रष्टी अध्यक्ष कुलमणि आचार्य, एनआरएनए आइसीसी पूर्व सदस्य शिवराज पौडेल, नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र कुमार सेन्चुरी, नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका महासचिव नेत्र केसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता नारायण थापा, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा, नेपाली जनसम्पर्क समिति अमेरिकाकी नेतृ चित्रा केसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता गौतम दाहाल, प्रवासी नेपाली मन्चका नेता प्रभु थापाले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो समारोहमा बी.पी. ट्रष्ट र अमेरिकाका सुपर लयेर खगेन्द्र जिसीको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

उक्त समारोहमा जय नेपाल इन्टरनेशनल फाउण्डेशन, मेरिल्याण्डका सदस्य झबिन्द्र बेलबासेले स्वागत भाषण गर्नुभएको थियो भने कार्यक्रमको संचालन पूर्व रेडियोकर्मी शोभा घिमिरेले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु