नेपालकी डुवाना लामा पेरिस ओलम्पिक– २०२४ अन्तर्गत पौडीको महिला २ सय मिटर फ्रिस्टायलमा सोमबार ३० औं स्थानमा रहिन् । सहभागी ३१ खेलाडी मध्ये डुवाना ३० औं भएकी हुन् । हंगेरीकी निकोलेट पडार ‘डिस्क्वालिफाइ’ भइन् ।
पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुवानाले पहिलो हिटमा प्रतिस्पर्धा गरेकी थिइन् । हिटमा भने डुवाना ७ खेलाडी मध्ये सातौं भइन् । डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गरिन् । यो समय डुवानाको व्यक्तिगत उत्कृष्ट समय भन्दा पनि बढी हो । डुवानाको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्ड छ ।
यो स्पर्धामा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान सागको एकै संस्करणमा ४ स्वर्ण जितेकी तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ की सहभागी मध्ये सबै भन्दा कान्छी खेलाडी गौरिका सिंहको नाममा छ ।
वाइल्ड कार्ड मार्फत पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरेकी डुवानाले थाइल्यान्डमा अध्ययनसंगै ओलम्पिकको तयारी पनि गरेकी थिइन् । डुवाना पेरिसबाट नेपाल जाने र केहि दिनको बसाइपछि थाइल्यान्ड फर्कने डुवानाकी प्रशिक्षक नयना शाक्यले जानकारी दिइन् ।
पौडीमा नेपालबाट २ खेलाडी सहभागी छन् । एलेक्जेन्डर शाहले जुलाइ ३० तारिखमा पुरुष १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
सन् २००४ को एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी प्रशिक्षक शाक्यले एंकलमा समस्याका कारण डुवानाले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको बताइन् । पेरिस ओलम्पिकमा सहभागी ५ नेपाली प्रशिक्षक मध्ये नयनासहित २ जना ओलम्पियन छन् । अर्को ओलम्पियन प्रशिक्षकमा जुडोकी देबु थापा हुन् । देबुले २००८ को बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पेरिस ओलम्पिकमा डुवानासंगै ३ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिसकेका छन् ।
नेपालको साउन १४ गतेको खेल ः
जुडोमा नेपालकी मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि सर्बियाकी परिसिकसंग बिहान १०ः०० बजे प्रतिस्पर्धा गर्ने ।
ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहालले राती ९ः१० बजे आयरल्यान्डका हात गुयेनसंग प्रतिस्पर्धा गर्ने ।
नोट ः दुवै समयको फ्रान्सको हो ।