नेपाल महिला रग्बी क्लबको आयोजनामा राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६ प्रदेश र २ क्लब गरी ८ टिम सहभागिता रहने आयोजक क्लबकी अध्यक्ष एलिसा थापाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहका शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्ने छन् ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । आयोजकले सहभागी टिमलाई एकतर्फी यातायात खर्च, खाना, खाजा र बसोबासको व्यवस्था गर्ने छ । उमेर समूहको खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दशौं राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेल भक्तपुरस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुनेछ ।