काठमाडौं, २४ चैत । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालले तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सह–आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलनबारे जानकारी गराइएको हो । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म काठमाडौंका होटल याक एण्ड यतीमा हुने छ ।
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा.हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दीगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु यस सम्मेलनको उद्देश्य रहेको उनले बताए ।
‘यातायातका विज्ञहरु, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायहरुबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिहरु बारे गहन छलफल गरिने छ,’– उनले भने ।
सार्वजनिक यातायात सुधार यातायात सेवालाई सर्वसुलभ, प्रभावकारी र वातावरणमैत्री बनाउन पहल गर्ने, स्मार्ट यातायात प्रणालीको प्रवद्र्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्ने, उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपदहरुको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको उद्देश्य रहेका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित, दीगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ले आयोजकको विश्वास रहेको छ । विभिन्न सरोकारवालाहरुसँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपायहरु खोजिने र सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने अपेक्षा लिइएको छ ।