काठमाडौँ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा डेकनाथ गौतम निर्वाचित हुनुभएको छ ।
सङ्गठनको पुस २४ र २५ मा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट गौतमको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । दाङ निवासी नवनिर्वाचित अध्यक्ष गौतम विगत ३५ वर्षदेखि यातायात व्यवसायमा संलग्न हुनुहुन्छ ।
सङ्गठनको प्रथम उपाध्यक्षमा भरत तिमल्सिना, पाँच उपाध्यक्षमा शंकर गिरी, नवराज सिंह, जगन्नाथप्रसाद कलवार, सान्तप्रसाद तिमल्सिना र भिमबहादुर बस्नेत, महासचिवमा बसन्त भण्डारी निर्वाचित हुनुभएको छ ।
यसैगरी, उपमहासचिवत्रयमा देवीन श्रेष्ठ, भरत नेपाल र इन्द्रबहादुर पुन, सात सचिवमा लबकुमार केसी, नारायण घिमिरे, ज्ञानबहादुर केसी, राजन कंडेल, मञ्जु बस्नेत, लब केसी र बलबहादुर भण्डारी र कोषाध्यक्षमा ज्ञानेन्द्र हुमागाई हुनुभएको छ । यस्तै बाँकी सदस्यपनि उक्त महाधिवेशनले निर्विरोध निर्वाचित गरेको छ ।
दुई दिनसम्म चलेको महाधिवेशनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गर्नुपर्ने, छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने, प्रविधिमैत्री यातायात विस्तार गर्नुपर्ने, मोटर विमा दर निर्देशिका परिमार्जन गर्नुपर्ने, सडक सुरक्षा परिषद् गठन गर्नुपर्नेलगायतका १३ बुँदे प्रस्तावसमेत पारित गरेको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिनुभयो ।