काठमाडौं, १ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘स्वयम नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ । ७ महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं । अहिले धेरै ठूलो दबाब र उकुसमुकुसका साथ नेकपाकै नेताहरुले पनि सरकार असफलतातर्फ उन्मुख छ भनेर भन्नुभएको छ । उहाँहरुले ओली नेतृत्वको सरकार क्रमिक रुपमा असफलतातर्फ उन्मुख छ भन्नुभएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘केही दिन अगाडि, व्यवस्थापिका संसदको अन्तिम बैठकको दिन नेकपाकै बरिष्ठ नेता माधवजीले पनि जहाज डुब्नै लाग्यो कोही आएर बचाईदेउन भनेर गीत गाउनुभयो । मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर होला बाध्य भएर बोल्नुभएको हो । हिजो अस्तीमात्रै पनि म मिडियामा सुन्दैछु की पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ । प्रचण्डजीको पनि बोली सकारात्मक छैन् । सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ।’
उनले यो ७ महिनाको कार्यकालको समिक्षा हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको संकेतहरु देखा परेको स्पष्ट पारे । उनले भने,‘तर, म व्यक्तिगत रुपमा सरकारको सफलताको कामना गर्दछु । म असफल होस भन्न चाहँदिन् ।’
ठूलो–ठूलो कुरा गरेर गरिब, निमुखा जनतालाई आशामा अल्झाउन नहुने उनको तर्क छ । उनले भने,‘कहिले रेल आउला भनेर गरिब जनतालाई कुनै मतलब छैन् । यसले उनीहरुलाई आकर्षण गर्दैन् । दैनिक जिविकाको बारेमा मात्रै जनतालाई ध्यान छ । तर, सरकारले महँगी, भ्रष्टाचारलगायतमा खोई त अनुगमन गरेको ?’
नेता खड्काले बहुसंख्यक जनता सरकारको प्रस्तुतिबाट निराशातर्फ उन्मुख रहेका पनि बताए । उनले भने,‘बलात्कारपछि निर्मला पन्तको हत्या भयो । प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्नसक्छ भन्नुभयो । यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रधानमन्त्रीजस्तो व्यक्तिले दिने हो ?’
यद्धपी उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध भने सुधार गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरे । उनले भने,‘हेर्नुहोस्, विपीले पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नुभएको थियो । उहाँको सरकारपनि दुई तिहाई बहुमतको थियो । १८ महिनामै सरकार ढल्यो । कहीँ ओलीजीको पनि नियती त्यस्तै नहोस् । अब भाषणबाजी गरेर देश चल्दैन् । जनताले डेलिभरी खोजेका छन् । मुल्यवृद्धि नियन्त्रण गर्नुपर्छ ।’
सरकारले ५ वर्षसम्म राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना भएको खड्काको भनाई थियो । फरक प्रसँगमा उनले बुढीगण्डकी गेजुवालाई दिनु गलत भएको भन्दै विरोध जनाए । उनले भने,‘कुनै तयारी नै नगरी किन दिईयो ? हचुवाको भरमा निर्णय गर्नुहुँदैन् ।’ उनले वाईड बडी खरिद प्रकरणमा पनि ठूलो भ्रष्टाचार भएको कुरा सुन्नमा आएको बताए ।
सरकारले आफूहरुसँग कुनै छलफल तथा सम्वाद नै नगरेको भन्दै उनले गुनासो पोखे । उनले भने,‘प्रधानमन्त्री भारत, चीन र संयुक्तराष्ट्र जानुभयो । संयुक्त राष्ट्रसंघ जानुभन्दा पहिले देउवाजीसँग डाईलग गरेको भए हुन्थ्यो । अमेरिकाबाट कोष्टारिकापनि जानुभयो । १८ देखि २० करोड खर्च भयो । तर, भ्रमण दलमा प्रतिपक्षी दलका सांसदहरुलाई समावेश गर्नुभएन् । प्रधानमन्त्रीले सम्वाद नै गर्नुभएन् ।’
दुई तिहाईको बहुमत भएरमात्रै नहुने बताउँदै उनले सरकारले राजनीतिक, धार्मिक, आर्थिक र विदेश नीतिलाई सन्तुलनमा राख्न सक्नपर्नेमा जोड दिए ।