बेँसीशहरः चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न जानुभएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुन्।
तिलिचो तालमा पुगेर फर्कने क्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए। पोखराबाट यही कात्तिक ४ गते बिहान सात साथीका साथमा अधिकारी मनाङको यात्रामा निस्केका थिए ।
तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि बुधबार बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । गण्डकी अस्पताल पोखरामा परीक्षणका लागि अधिकारीको शव लगिएको बताइएको छ ।