काठमाडौं–गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले दुबई भ्रमणमा कुनै गलत मनसायले भेटघाट कसैसँग पनि नगरेको स्पष्ट पारेको छ । एनआरएन युएईको बार्षिकोत्सब कार्यक्रम र त्यस कार्यक्रममा केहि समयका लागि प्रमुख अतिथि नभई बिशेष अतिथिको रुपमा उपस्थित भएका नेपाल प्रहरीका महानिरीक्षक खनालको विषयमा मानहानी हुने गरी केही सञ्चार माध्यममा आईजिपी खनाल युएईका सुन तस्करसँग मिलेको जनाउने समाचारप्रति एनआरएन युएईले गम्भीर आपत्ति जनाएको हो ।
गतसाता युएईमा सम्पन्न ईन्टरपोलको महासभामा भाग लिन दुबई पुगेका आईजिपी खनाललाई एनआरएन, युएईको बार्षिक कार्यक्रममा उपस्थित हुन गरेको आग्रह बमोजिम विशेष अतिथिको रुपमा उक्त कार्यक्रममा करीब १ घण्टा उपस्थित भएको जनाउँदै एनआरएनए यूएईले शुभकामना मन्तब्य दिने क्रममा प्रत्येक देशको कानुनलाई पालना गर्दै गलत क्रियाकलाप र कार्यमा संलग्न नहुन खनालले आग्रहसमेत गरेको जनाएको छ ।
‘खनालले सो कार्यक्रम खुल्ला प्रकृतिको भएको हुदाँ के र कस्ता प्रकृति र प्रवृतिका मानिसहरुको उपस्थिति हुन्छ भन्दा पनि प्रवासमा रहेका नेपालीहरु र त्यहाँ अवस्थित संस्थाहरुसँग भेट हुने अभिप्रायले उपस्थिति जनाउनुभएको थियो । समाचारमा उल्लेखित व्यबसायी ठाकुरप्रसाद ढुंगाना एनआरएनए आईसीसीका सदस्य हुनुभएकोले सो कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । तर समाचारमा उल्लेख गरिए जस्तो आईजिपी खनालले सो कार्यक्रममा कसैसंग व्यक्तिगत भेटघाट नगरेको र कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य व्यक्त गरी बिदा भएर निस्कनुभएको थियो’, संस्थाले जारी गरेको विज्ञप्तिमा छ । ‘युएई भ्रमणमा रहँदा खनालले कोही पनि आरोपित ब्यक्तिसँग ब्यक्तिगत रुपमा भेटनुभएको भन्ने बारे कुनै जानकारी नभएको हुँदा कपोलकल्पित र सुनियोजित ढंगले लेखिएको उक्त समाचारको खण्डन गर्दछौ,’ विज्ञप्तिमा उल्लेख छ ।
यता आईजीपी खनालले आफू उक्त कार्यक्रममा १ घण्टा बिताएको र हुँदै नभएको विषयलाई प्रचार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । ‘मैले कुनै विवादास्पद व्यक्तिसँग भेटेको छैन् र त्यहाँ फोटोसमेत नखिचुन् भनेर पहिले नै सचेत गराएको थिएँ । हुँदै नभएको कुरालाई विवादमा ल्याउँदा दुःख लाग्यो । मैले त्यहाँका नेपालीलाई मातृभूमिको शिर झुक्ने काम नगर्नु भनेर सम्झाएँ’, खनालले भने, ‘तर मैले त्यहाँ सुन तस्करीमा जोडिएका कसैलाई भेटेको छैन र मैले चिनेको पनि थिइनँ । एक घण्टा बसेर म कार्यक्रमबाट निस्किएँ, अब त्यहाँ को आए, को गए मेरो सरोकारको विषय पनि होइन ।’
खनालले नकारात्मक कुरामा खेदो खनेको भन्दै वास्तविकता आफैंलाई आएर सोध्न पत्रकारहरुलाई चुनौती दिएका छन् । ‘नेपाल प्रहरीले अन्तर्राष्ट्रिय सम्मान पाएको कुरा नलेख्ने, हामीले अन्तर्राष्ट्रिय फोरममा गरेको बलियो उपस्थितिबारे मौन हुने तर नकारात्मक कुरामा खेदो खन्ने ?’, खनालले भने, ‘हुँदै नभएको कुरामा विवादमा ल्याउनु भन्दा अगाडि मलाई सीधै आएर सोधे हुन्छ, म जवाफ दिन सदैव तयार छु ।’
‘सामुहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ गत शुक्रबार सम्पन्न एनआरएनए युएईको वार्षिक भेला कार्यक्रममा नेपाली दूतावास युएईका कार्यवहाक राजदूत सागर फुँयालको प्रमुख आतिथ्यता रहेको थियो । समाचारहरुमा भनिएजस्तो खनाल प्रमुख अतिथी नभई कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । त्यसैगरी कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सेलर भेषबहादुर कार्की, एनआरएनए आईसीसी उपाध्यक्ष कुमार पन्त, मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, आईसीसी सदस्य ठाकुर प्रसाद ढुंगाना, आईसीसी सदस्य मनोज श्रेष्ठ, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएन साउदीका राजु सैयद लगायतको विशेष उपस्थिति रहेको थियो ।
आईसिसी सदस्य ढुंगानालाई ३३ केजी सुन काण्डमा जिल्ला अदालत, मोरङमा दोस्रोपटक पूरक अभियोग दर्ता गर्दा प्रतिवादी बनाइएको थियो । उनी अदालतमा उपस्थित भएर साधारण तारिखमा छुटेका हुन् । अहिलेसम्म ढुंगाना प्रत्यक्ष रुपमा सुन तस्करीमा संलग्न भएको देखिएको छैन । उनी तस्करीमा संलग्न नरहेको अदालतबाटै प्रमाणित भइसकेको छ । अदालतले ढुंगानालाई निर्दोष सावित गर्दै केही समय अनुसन्धानका लागि बन्द गरिएको कान्तिपुर होलिडेज ट्राभल्स पनि पुनः सञ्चालनका लागि अनुमति दिएको थियो ।
ढुंगानाका युएईका व्यवसायिक साझेदार बालकृष्ण खड्का र उनीबीच भएको लेनदेन कारोबारका कारण नै उनीमाथि अनुसन्धान भएको प्रहरी स्रोतले बतायो । खड्का उनको व्यापार साझेदार हुन् र उनी सुन तस्करीमा आरोपित छन् । करीब ढेढ वर्षदेखि नै ढुंगाना र खड्का व्यापारी साझेदार नरहे पनि उनीहरुबीच लेनदेन बाँकी रहेकाले ट्रान्जेक्सन देखिएको र यसैका आधारमा आफुमाथि छानविन भएको ढुंगानाको दाबी छ ।
त्यस्तै, यूएईकै रसअलखेमामा भएको कार्यक्रममासमेत ढुंगाना उपस्थित थिए । उनी एनआरएन आईसीसी सदस्य भएकोले कार्यक्रममा उपस्थित भएको जनाईएको छ । यो सबै एनआरएन यूएई र आइजिपी खनाललाई बदनाम गर्न कपोकल्पित र नियोजित आरोप भएको एनआरएन युएईका पदाधिकारीले बताए । ती पदाधिकारीले ढुंगानाका पूर्व पार्टनर, उनका प्रतिस्पर्धी केही ट्राभल व्यवसायी, व्यवसायी र केही पत्रकारको मिलेमतोमा अनावश्यक विषयलाई उचालेर ढुंगानाको बदनाम गर्ने प्रयास गरेको र यसैमा आइजिपी खनाल र एनआरएनए युुएईसमेतको बदनाम भएको बताए । ती पदाधिकारी अरु विषयभन्दा पनि यसमा केही व्यवसायीले ढुंगानालाई गिराएर आफु माथि जान सक्छु भन्ने व्यापारिक स्वार्थका कारण विवाद देखिएको बताउँछन् ।
श्राेतः janasawal.com