काठमाडौं, २८ मंसिर । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल आज हुँदैछ । आज शुक्रबार कतारको राजधानी दोहास्थित सनैयाको एसियन टाउन ग्राण्ड मलमा रहेको एमपी थियटरमा फाइनल कार्यक्रम हुन लागेको हो । शुक्रबार नेपाली समय अनुसार बेलुकी १० बजेपछि द भ्वाइसको फाइनल संस्करण नेपालमा विभिन्न माध्यमबाट प्रत्यक्ष हेर्न सकिने आयोजकले बताएका छन् । फाइनल कार्यक्रमका लागि ७९ वटा देशवाट गैर आवासीय नेपालीका प्रतिनिधीहरु कतार पुगिसकेका छन् । लगभल १६० भन्दा धेरै कतारी प्रहरीहरु अनि ३ सय सुरक्षागार्डहरुको सुरक्षाघेरा भित्र नेपालको पहिलो ‘द भ्वाइस अफ नेपाल’ छनौटका लागि प्रतिस्पर्धा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमका लागि ‘द भ्वाइस अफ नेपाल’ आफ्ना सम्पूर्ण दलबलका साथ कतार पुगिसकेको छ । प्रत्यक्ष प्रसारणका लागि सम्पूर्ण प्राविधिक तयारी भइसकेको अनि साथै कोचहरु बस्ने रातो कुर्सी पनि सेट गरिसकेको जनाइएको छ । कार्यक्रमका लागि डिसेम्बर १४ तारिख शुक्रबार सनैयाको एसियन टाउन मलमा नेपालीहरुको मेला लाग्ने देखिएको छ । दर्शकहरुको सहजताका लागि आयोजकले दर्जन बढी टिकट काउण्टरहरु अनि खानेकुराका स्टलहरुको पनि राखेको छ । सम्भवत नेपाल बाहिरको सर्वाधिक नेपाली उपस्थिती हुने कमै कार्यक्रमहरुमा आजको द भ्वाइसको फाइनल पनि पर्ने अनुमान छ । कार्यक्रमको सुरक्षामा कुनै पनि सम्झौता नहोस भन्नका लागि कार्यक्रम स्थलको सय मिटर वरपरसम्म पनि बिशेष सुरक्षा ब्यवस्था गरेको बताइएको छ । फाइनलकै दिनमा टिकट काटेर हेर्न जाने दर्शकहरुलाई सहजताका लागि प्रशस्त टिकट काउण्टर राखेको द भ्वाइसका निर्देशक लक्ष्मण पौडेलले बताए ।
यस ग्राण्ड फाइनलमा ४ जना कोचहरुलगायत उत्कृष्ट ८ आवाजहरु साथमा तेजेन्द्र गन्धर्वलगायत केही सरप्राइज आवाजहरु र धुर्मुस–सुन्तली लगायत अन्य कलाकार र बिशेष प्रस्तुतिहरु रहने आयोजकले बताएका छन् । साथै आयोजकले एकदिन अगावै टिकट किन्न चाहनेका लागि १० प्रतिशत टिकट रकममा छुट पनि ब्यस्था गरेको जनाएको छ । द भ्वाइस अफ नेपाल बिश्वभर लोकप्रिय गायन रियालीटी शो हो र यो नेपालमा प्रथम पटक प्रसारित भएको हो ।
फाइनलमा सिडी बिजय अधिकारी, कुशल आचार्य, सप्तक दुतराज र श्रृजय थपलियाले एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनलमा चार निर्णायकका एक÷एक प्रतिस्पर्धी प्रवेश गरेका हुन् । शीर्ष चार जनाबाट नै पहिलो द भ्वाइस अफ नेपाल चुनिनेछ । निर्णायकहरुले आफ्नो टिमका प्रतियोगिका लागि भोट अपिल पनि गरेका छन् । फिनालेमा शीर्ष चार जनासँगै सेमीफाइनलबाट बाहिरिएका ४ जनाले पनि प्रस्तुति दिनेछन् । फिनालेमा पुगेकालाई हरेक दिन एउटै आइडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको निर्माण टिमले जनाएको छ । आयोजकले कार्यक्रममको सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।
यसैगरि द भ्वाइसले बुधबार आफ्नो फेसबुकमा कतारबाट आफ्ना ४ जना फाइनलिष्टका साथमा लाइभ भिडियो प्रसारण गरेको थियो । प्रस्तोता सुशील नेपालले ४ जना ट्यालेन्टसंग तयारीका बिषयमा कुरा गरेका थिए । को बन्छ त नेपालको पहिलो द भ्वाइस अफ नेपाल भन्ने बिषयमा ट्यालेन्टहरुसँग कुराकानी भएको थियो । सबैजना आ–आफ्ना हिसाबले तयार भएका अनि नेपालको प्रथम द भ्वाइस नेपाल बन्न मेहनत अनि लगनका साथले लागि परेको बताएका थिए । अहिले आफ्नो मनपर्ने फाइनलिष्टका लागि भोट गर्ने क्रम पनि चलिरहेको छ । आजकोे फाइनल कार्यक्रमले नेपाललाई ‘प्रथम द भ्वाइस अफ नेपाल’ दिलाउने छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाली समयअनुसार राती १० बजे कान्तिपुर टिभी., डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिने छ ।
श्राेतः janasawal.com