काठमाडौं, २५, असोज २०७६ । कुनैपनि देशको प्रमुख नेपाल भ्रमणमा आउँदा सयौं भीआइपीहरुको आवतजावतका लागि ठूलो संख्यामा सवारी साधनको आवश्यकता पर्दछ । अहिलेसम्म अधिकांश देशका प्रमुखहरुको नेपाल भ्रमणको बेला भारतबाट गाडि ल्याउने गरिन्थ्यो ।
दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमण अवधिभरका लागि आवश्यक गाडि पनि भारतबाट ल्याइएको हो ? होइन, यसपटक चिनियाँ राष्ट्रपति सीको भ्रमण अवधिभर (दुई दिन)का लागि आवश्यक सबै भीआइपी गाडिहरु नेपालमै अर्थात् नेपाल अन टाइम भेहिकल प्रा.लि. नामक कम्पनीले उपलब्ध गरेको छ ।
चिनियाँ राष्ट्रपतिको दुई दिनका लागि आवश्यक सम्पूर्ण गाडि व्यवस्थापनको जिम्मा लिएर काम गरिरहेको नेपाल अन टाइम भेहिकल प्रा.लि.का प्रबन्ध निर्देशक केदार कट्टेलले शिखरपोष्टलाई जानकारी दिनुभयो । उहाँकाअनुसार दुई दिनको लागि भीआइपी र अन्य गरी ५५ वटा वटा भन्दा बढि साना/ठूला गाडिहरु कम्पनीले उपलब्ध गराएको छ ।
कम्पनीले कोस्टर, हाइस, जिप, कार, डिलक्स बसलगायतका सुविधासम्पन्न गाडिहरु उपलब्ध गराएको छ । राष्ट्रपति सी स्वयं चढ्ने गाडि भने चीनबाटै ल्याइएको हो ।
‘शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको भ्रमणका क्रममा यति गहन जिम्मेवारी पाउनु कम्पनीको लागि गौरबको विषय हो’ कट्टेलले शिखरपोष्टसित भन्नुभयो ‘पहिले कुनै देशको प्रमुख आउँदा भारतबाट गाडि ल्याउनुपथ्र्यो । तर, यसपटक हामीले यति धेरै भीआइपी गाडि पनि नेपालमै व्यवस्थापन हुन्छ भन्ने प्रमाणित गरेर देखाएका छौं ।’
सोलुखुम्बुमा जन्मिनुभएका यूवा व्यवसायी कट्टेल नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) का कार्यसमिति सदस्यसमेत हुनुहुन्छ ।
मुख्यगरी पर्यटक यातायात व्यवसाय गरिरहेको कम्पनीले यसरी ठूलो संख्यामा गाडि उपलब्ध गराउनु अब हामी पनि आत्म निर्भर हुँदै गएको प्रमाण त हो नै, निक्कै अर्थपूर्ण र दीर्घकालिन महत्वका रुपमा लिइएको सीको नेपाल भ्रमणका लागि आवश्यक ठूलो संख्यामा गाडि व्यवस्थापन नेपालमै गर्न सक्नु राष्ट्रकै लागि गौरबको विषय पनि हो ।
र, वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सम्मुखमा आइरहेको सन्दर्भमा पर्यटनको पहिलो आधार यातायातजस्तो पर्यटकीय पूर्वाधारमा आत्मनिर्भर हुनु सबैका लागि शुभसंकेत हुनसक्छ ।