२०८१ साल चैत २८ – पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन एवं विभिन्न सरकारवाला संस्थाहरूको आयोजनामा राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम २०८१ बानेश्वर स्थित अलकोभ होटलमा दुग्ध विकास संस्थान, केन्द्रीय सहकारी सङ्घ लिमिटेड, उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघ लिमिटेड, नेपाल कृषि तथा पशुपन्छि व्यवसाय संघ, कृषि पत्रकारहरूको संस्था अनाज, रोटरी क्लब कपनका प्रतिनिधिहरूको उपस्थिति एवं प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका श्रीमान सचिव डा. राजेन्द्रप्रसाद मिश्रज्यूको प्रमुख अतिथ्यता एवं राष्ट्रिय विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सिडिक्यानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, केन्द्रीय मत्स्य सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारी, नाल्बाका महासचिव श्रीकृष्ण भण्डारी, अनाजका अध्यक्ष किरण आचार्य, रोटरी क्लब अफ कपनका अध्यक्ष नियुक्ति शेर्पा, पूर्व अध्यक्ष मनोज कुमार घिमिरे, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, राष्ट्रिय दूध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल एवं डेरी उद्योगीहरू, पत्रकारहरु, किसानहरु एवं शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सबै प्रतिनिधिहरूले मोही अभियान हामी सबैको साझा अभियान हो भन्दै स्वदेशी उत्पादन र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो भन्ने कुरालाई विशेष जोड दिए । यो अभियान सुरु गरेकोमा नेपाल डेरी एसोसिएसनलाई सबै वक्ताहरुले विशेष धन्यवाद दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि सचिवले अध्यक्ष प्रल्लाद दाहाललाईले शुरु गरेको मोही अभियानको प्रसंशा गर्दै अध्यक्ष दाहाललाई खादा ओडाई मन्त्रालयको तर्फबाट सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचिवले यस्ता किसिमका अभियान अब देशैभरि शुरु गर्नुपर्ने र यो अभियान शुरु गरेकोमा एसोसिएसन परिवारलाई विशेष धन्यवाद दिए। कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादबले नेपाल डेरी एसोसिएसनले सधैं अलि फरक ढंगले कार्यक्रम गर्ने गरेको बताउँदै यस्ता किसिमका गतिविधिले दुग्ध क्षेत्रलाई सहयोग पुर्याउने कुरा बताए । वरिष्ठ उपाध्यक्ष सापकोटाले किसानको तर्फबाट पनि मोही अभियानता दाहाललाई विशेष धन्यवाद दिंदै राज्यले पनि सम्मान गर्नु पर्ने बताए । कार्यक्रममा धन्यवाद ज्ञापन नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले गरेका थिए । कार्यक्रम पछि खाजाको रुपमा भुटेको मकै , गुन्द्रुकको अचार, भट्मास र मोही खुवाइएको थियो भने सचीवले ठेकीमा मोही तुल्याई अनुभव लिइएका थिए ।
मोही अभियानमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई एसोसिएसनको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष, कृषि उद्यम केन्द्रका बोर्ड सदस्य एवं राष्ट्रिय मोही अभियानता प्रल्हाद दाहालले राष्ट्रिय मोही अभियानमा साथ सहयोग गर्नु हुने पत्रकारहरु एवं सबै डेरी उद्योगी मित्रहरुलाई धन्यवाद दिंदै मोही अभियान सफल भएकोमा खुशी ब्यक्त गरे ।
नेपाल डेरी एसोसिएसन नेपाल डेरी एसोसिएसनले जहाँ जहिले पनि स्वदेशी उत्पादनको उपभोग बढाउने उदेश्यले आफ्ना गतिविधि गरिरहेको हुन्छ । आफ्ना कार्यक्रमहरु बालबालिका वा जेष्ठ नागरिकलाई दुध सेवन गराई समुद्घाटन गर्ने, मायाको चिनो स्वरुप दुग्ध पदार्थ वितरण गर्ने, आफ्ना कार्यक्रमहरुमा दुग्ध पदार्थ खुवाउने, अन्य पेय पदार्थको ठाउँमा मोही, लस्सि, दही, आइसक्रिम आदि राख्ने, सधैं दुध वा दुध चिया कफि खुवाउने अभियानमा निरन्तर काम गरिरहेको छ । जसले गर्दा केहि मात्रामा भए पनि दुध तथा दुग्ध पदार्थको स्वदेशी खपत बढेको छ ।
नेपाल डेरी एसोसिएसनले दुई वर्ष अगाडिबाट विद्यालय, अस्पताल, आश्रम विभित्र सामाजिक संघ संस्थामा नि:शुल्क मोही सेवन गराउँदै आइरहेको छ । यहि क्रममा काठमाडौंको दरबार मार्गमा रहेको रैथाने कृषि उपज बिक्री गर्ने स्थान ओरियन्ट क्याफेमा हरेक शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म परम्परागत रुपले ठेकीमा मोही तुल्याई नि:शुल्क बितरण गरिरहेको छ । हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झण्डै २ लाख जनालाई नि:शुल्क सेवन गराइएको छ। सो मोही नेपाल डेरी एसोसिएसनले ब्यवस्थापन गर्दै आएको छ। हालसम्मको हिसाबमा नेपाल डेरी एसोसिएसनले २० लाख बराबरको निशुल्क मोही सेवन गराएको छ । यहि कुराको प्रभावले आम मानिसमा मोही प्रतिको मोह बढ्दै जान थाल्यो र हिजोका दिनमा मोही सेवन गर्न मन लाग्दा लुकेर सेवन गर्नु पर्दथ्यो भने आज यो अभियानले आम मानिसलाई शानसँग सार्बजनिक ठाउँमा बसि फोटो खिच्दै मोही सेवन गर्न सक्ने अवस्था सृजना भएको छ । देश भरमा दुई दर्जन जति डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङ गरि बजारमा ल्याएका छन् । सबैभन्दा पहिला उपत्यका बाहिर लेबलिङ र प्याकेजिङ गरि बजारमा सन्जिविनी ब्रान्डमा मोही उत्पादन कास्की लेखनाथमा रहेको बजगाईं डेरी उद्योगले गरेको थियो भने उपत्यकामा पाटन औद्योगिक क्षेत्रमा रहेको नवप्रभात डेरी उद्योगले ” प्रभात मोही” भनि बजारमा ल्यायो । अहिले बजारमा लेबलिङ र प्याकेजिङ भएर करीब २५ हजार लिटर मोही दैनिक खपत हुन्छ भने झन्डै १ लाख लिटर मोही अनौपचारिक रुपमा देशभर खपत हुन्छ । दुग्ध क्षेत्र भित्र यो एउटा ठूलो क्षेत्र बन्ने सम्भावना रहेको छ । अब हामीले मोहीको प्रबर्द्धनमा निरन्तर लाग्न आवश्यक छ । मोहीको यसरी ब्यापक प्रचारप्रसार भई आज यो किसिमको अवस्था सृजना हुनुमा आम मिडिया कर्मीको ठूलो साथ र सहयोग रहेको छ । अब २०८१ सालबाट यहि चैत २८ गते नेपाल डेरी एसोसिएसन र सरोकारवाला सबैको आयोजनामा “नियमित मोही सेवन स्वस्थ र फूर्तिलो जिवन ” भन्ने नाराका साथ राष्ट्रिय मोही दिवस मनाइदैछ ।
यो मोही दिवस मनाइनाले मोहीको महत्व र यसबाट हुने फाइदाको बारे सबैलाई थाहा हुने र ठेकीमा मोही तुल्याउने कुरा हाम्रो मौलिक परम्परा हो र यसलाई बचाउँन सहयोग पुग्नुको साथै यसको महत्त्व बुझी स्वदेशी खपत पनि बढ्छ भन्ने नै प्रमुख उदेश्य हो । मोहीले गर्मी मौसम शुरु भएसँगै शरीरलाई चिसो राख्ने र ताजगी दिने गर्दछ । जब गर्मी बढेसँगै पेय पदार्थहरूको चर्चा पनि बढ्न थाल्छ। कोल्ड ड्रिंक, जुस र अन्य कृत्रिम पेय पदार्थको विकल्पमा प्राकृतिक, स्वस्थकर र पारम्परिक रूपमा हाम्रो भान्सामा सहजै उपलब्ध हुने भनेको मोही नै हो । पहिले गाउँघरमा मात्रै सीमित रहेको मोही अहिले शहर बजारमा सहजै पाइन थालेको छ । अहिले विभिन्न मेला, विवाह, भोज, भत्तेर तथा अन्य ठूला कार्यक्रममा समेत मोही राख्ने चलन चलेको छ। एसोसिएसनले देशभर मोही प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापन गर्न सबैलाई आव्हान गर्दै आएको छ। यसैले गर्दा डेरीहरूले स्थानीयस्तरमै उत्पादन गरेको मोहीलाई अब सुपर मार्केट, खुद्रा पसल, होटल र क्याफेहरूमा सहजै उपलब्ध गराउन थालेका छन्।
नेपाल डेरी एसोसिएसनले मोही अभियानलाई अझ व्यापक बनाउन विवाह, भोज, महोत्सव तथा व्यापारिक मेला जस्ता स्थानमा प्रचारप्रसारका लागि निश:शुल्क मोही वितरण गरिरहेको छ। यो अभियानले डेरी उद्योगलाई नयाँ उचाइमा पुर्याएको छ भने नेपालको मौलिक उत्पादनलाई प्रवर्द्धन गर्न पनि टेवा पुर्याएको छ। मोहीलाई यहाँसम्म पुर्याउन एसोसिएसनको ठूलो योगदान,साथ र सहयोग रहेको छ । अब डेरी उद्योगले थप नयाँ उचाईमा पुर्याउन यसको फाइदा, महत्त्व, र मौलिकता बुझी सबैलाई बुझाउन जरुरी छ।
मोही दहीबाट बनाइने एक पारम्परिक पेय पदार्थ हो। पहिलेदेखि नै नेपाली समाजमा दहीको उपयोग उच्च छ। जसलाई विभिन्न तरिकाले उपभोग गरिँदै आएको छ । मोही बनाउने परम्परागत विधिमा दहीलाई ठेकी वा मट्कोमा राखेर पानी मिसाएर घोटिन्छ। यसरी बनाइएका मोहीमा आवश्यकता अनुसार स्वादका लागि नुन, जिरा, अदुवा, वा अन्य मसला मिसाएर बनाइन्छ। तर, अहिले बजारमा प्याकेजिङ सहितका मोहीहरू पनि आउन थालेका छन्, जसले गर्दा आधुनिक जीवनशैलीमा पनि मोहीलाई सहजै अपनाउन सकिन्छ।
गर्मी मौसममा मोही पिउनु भनेको शरीरलाई चिसो बनाउनु हो। गर्मीले शरीरको पानी कम हुँदा डिहाइड्रेसनको समस्या आउन सक्छ । मोहीले त्यस्तो समस्याको समाधान गर्छ। मोहीमा पाइने प्रोबायोटिक तत्वले पेटलाई स्वस्थ राख्छ। गर्मी मौसममा देखिने अपच, एसिडिटी वा ग्यास्ट्रिक समस्या मोही पिउँदा कम हुन्छ। मोही कम क्यालोरीयुक्त पेय पदार्थ हो। यसको नियमित सेवनले शरीरलाई आवश्यक पोषण दिन्छ तर तौल बढाउँदैन। मोहीमा क्याल्सियम र प्रोटिन भरपूर मात्रामा पाइन्छ । मोहीले हड्डी बलियो बनाउँछ। विशेष गरी वृद्धवृद्धा, बालबालिका, वा तौल घटाउने प्रयासमा रहेका व्यक्तिहरूका लागि मोही उपयुक्त पेय हो। नियमित मोही सेवनले छालामा नमी बढाउँछ र चमक ल्याउँछ। यसमा भएको ल्याक्टिक एसिड छालालाई स्वस्थ बनाउन मद्दत गर्छ। गर्मी मौसममा भाइरल इन्फेक्सनहरू धेरै हुने भएकाले मोहीको सेवनले शरीरलाई रोग प्रतिरोधात्मक क्षमता दिन्छ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पेय पदार्थको तुलनामा मोही सेवन गर्न सुझाव दिनुभएको थियो भने डाक्टरहरुले पनि मोही पिउन सल्लाह दिइरहेका हुन्छन् । यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा आयोजित रैथाने कृषि बजारमा ठेकीको मोही सेवन गर्नुभएको थियो । अहिले त केहि पालिकाहरु जस्तै चितवनको इच्छा मनकामना र काभ्रेको मण्डन देउपुर पालिकाले मोहीलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । यसबाट पनि पुष्टि हुन्छ कि मोही हाम्रो लागि अत्यन्तै महोत्वपूर्ण पेय पदार्थ हो । मोही अब केवल गाउँघरमा मात्र सीमित नभई अब राष्ट्रिय स्तरमै लोकप्रिय पेय पदार्थ बन्दै गएको छ। नेपालको मौलिक स्वाद भएको, स्वास्थ्यका लागि फाइदाजनक, र प्राकृतिक रूपमा शरीरलाई स्वस्थ राख्ने मोही आजको समयमा सबैको पहिलो रोजाइ हुनुपर्छ।
स्वास्थ्यका लागि दहीलाई अमृत समान मानिन्छ । शरीरलाई शीतल बनाउने भएकोले दहीलाई मात्रै होइन मोहीलाई पनि स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । यी दुबैमा प्रशस्त मात्रामा पोषण पाइन्छ । दुवैले हाम्रो शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । सर्सर्ती हेर्दा दुवै स्वास्थ्यका लागि राम्रो छन् । तौल घटाउने प्रयास गरिरहँदा दहीभन्दा मोही नै बढी फाइदाजनक हुन्छ । सय ग्राम दहीमा ९८ क्यालोरी हुन्छ भने मोहीमा ४० ग्राम मात्रै क्यालोरी हुन्छ । तौल घटाउने अभियानमा रहेकालाई दहीको तुलनामा मोही बढी उपयोगी हुन्छ । मोहीमा प्रशस्त मात्रामा पानी हुन्छ । यसले शरीरलाई लामो समयसम्म हाइड्रेटेड राख्छ । मोही पिउँदा लामो समयसम्म पेट टम्म भरिएको महसुस हुन्छ । शरीरमा पानीको पनि कमी हुँदैन । अर्को महत्त्वपूर्ण कुरा चाँहि केही मानिसलाई ल्याक्टोज इन्टोलरेन्स हुन्छ । यस्ता मानिसहरू दही खान सक्दैनन् । दही सहजै पच्दैन । तर मोही पचाउन धेरै मिहेनत गर्नु पर्दैन । त्यसैले पनि यो राम्रो विकल्प हुन्छ । पौष्टिकता बारे कुरा गर्ने हो भने दही र मोही दुबैमा हाम्रो शरीरलाई आवश्यक भरपुर मात्रामा प्रोबायोटिक्स पाइन्छ । यी दुबैमा क्याल्सियम, भिटामिन र अन्य धेरै पोषक तत्त्वहरू हुन्छन् ।
मोही खाँदा स्वास्थ्यमा फाइदा पुर्याउनुको साथै अन्य धेरै कुरामा समेत हित गर्दछ । पटक पटक बाडुल्की लाग्ने समस्या रहेमा मोहीमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्दा लाभ दायक हुन्छ । सौन्दर्य समस्याको लागि पनि मोही निकै फाइदाजनक चीज हो । यसको साथै गुलाबको जरालाई मोहीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ । यदि हामी अत्यधिक तनावमा भयौं भने वा शरीरको कुनै पनि भागमा पोलेको छ भने तुरुन्त मोही सेवन गर्ने वा लगाउँदा आराम मिल्छ । कुर्कुच्चा फाट्ने समस्या हुँदा मोहीको सेवन गर्दा अत्यधिक लाभदायिक मानिन्छ ।
यि सबै कुराको महत्व बुझी नेपाल डेरी एसोसिएसनले हाम्रो मौलिक, पराम्परागत रुपमा परापूर्वकालदेखि नै पेय पदार्थको रुपमा उपयोग हुँदै आएको स्वास्थ्यको दृष्टीकोणले पनि श्रेयस्कर घरमै बनाउन सकिने अत्यन्तै लाभदायिक पेय पदार्थ मोहीको उपयोगिता, व्यवासायिकरण तथा बजारीकरणका लागि लामो समयदेखि क्रियाशिल रहि आएको कुरा सबैमा अवगत नै छ ।
हाम्रो देशमा विभिन्न देशबाट आयातित विभिन्न किसिमका विदेशी पेय पदार्थको आयातको परिमाणको तथ्याङ्क अत्यन्तै धेरै रहेको अवस्थामा स्वदेशमा उत्पादित मोहीको प्रबर्द्धन गर्ने उद्देश्यका साथ “स्वस्थ र फ़ुर्तिलो जीवन, नियमित मोही सेवन” भन्ने नारा सहित पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन ( NDA ), कृषि पत्रकारहरुको संस्था (अनाज), दुग्ध विकास संस्थान (DDC ), केन्द्रीय दुग्ध सहकारी संघ ( CDCAN), उद्योग वाणिज्य महासंघ अन्तर कृषि उद्यम केन्द्र ( AEC ) , केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपाल, कृषि तथा पशुपन्छि व्यवसायी संघ ( NALBA ), रोटरी क्लब अफ कपनको सयुक्त आयोजनमा यहीं २०८१ चैत २८ गतेका दिन “राष्ट्रिय मोही दिवस कार्यक्रम” भव्य र सव्य रुपमा मनाउने कार्यक्रम सफल बनाउन हामी आम सरोकारवाला सबै लागौं । कार्यक्रम नयाँ बानेश्वर, अलकोभ होटल समय र स्थानमा भएको थियो ।