
लेखक : गोबिन्द राज ओझा (राजन )
जूनको शीतल किरणमा तिम्रै मुहार देख्छु म,
एकान्त रातको सपनामा तिम्रै संसार लेख्छु म।
वीणाको मधुर धुनसँगै तिम्रै नाम गुञ्जिन्छ,
हृदयको प्रत्येक स्पन्दन तिम्रै यादमा बाँचिन्छ।
फूलको सुगन्धभित्र तिम्रै सुवास भेटिन्छ,
वसन्तको हरियो वनमा प्रेमको रङ्ग छरिन्छ।
नयनले बाटो हेर्दैछन्, पर्खाइ लामो भयो,
तिमीबिना यो जीवनको प्रत्येक पल अधुरो भयो।
मन्दिरका दीपझैँ बल्छन् मनका पवित्र भावना,
तिम्रै साथ सजाउन चाहन्छु जीवनका ती कामना।
न जातले प्रेम रोक्न सक्छ, न दूरीले छुटाउन,
साँचो मनको सम्बन्धलाई समयले मेट्न पाउँदैन।
जन्मौँजन्मको साथ बनोस् हाम्रो अमर कहानी,
तिमी मेरो प्राणको धड्कन, म तिम्रो प्रेम निशानी।
संसार बदलिँदै जाओस्, माया कहिल्यै नबदलियोस्,
दुई आत्माको मिलनले जीवन स्वर्गझैँ सजियोस्।


