गोल्जुङको काखमा फक्रिएको आशा : आमासँगै हुर्कने नयाँ जीवन र राज्यको अभिभावकत्व⚡प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार⚡घोप्ट्याएको भात : परम्परा, संस्कृति र आजको फेसन⚡बिहीबारको दिन तपाईंका लागि कस्तो रहला? हेर्नुहोस् आजको राशिफल⚡एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि⚡यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित⚡राउटे समुदायसँग मन्त्री बादीको आत्मीय भेट, शिक्षा–स्वास्थ्यदेखि सुरक्षित आवाससम्म छलफल⚡शान्तनुको उपचार, पुनर्स्थापना र परिवारको भविष्यमा सरकारको चासो⚡नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड⚡Nepal-Sri Lanka Chamber Elects New Leadership, Shrestha Honored with outstanding Award

घोप्ट्याएको भात : परम्परा, संस्कृति र आजको फेसन

मोहन बहादुर गजुरेल
प्रकाशित मिति : २०८३ मंसिर १० गते, बिहीबार ८:१४

थकाली खाना भन्नेबित्तिकै धेरैको मनमा एउटा विशेष दृश्य आउँछ—किटको कराईमा घोटिघोटी पकाइएको कालो दाल, भात, गुन्द्रुक, टिम्बुरको छोप, स्थानीय चामलको सुगन्ध र थरीथरीका परिकारले भरिएको थाल। अनि पछिल्लो समय त्यही थालको बीचमा कचौरा घोप्ट्याएर राखिएको भात पनि थकाली खानाको एउटा पहिचानजस्तै बन्न थालेको छ। आजभोलि थकाली खानाको नाममा कचौरा घोप्ट्याएर थालमा भात सजाउने चलन निकै लोकप्रिय भएको छ। साना होटलदेखि ठूला रेस्टुरेन्ट तथा पाँचतारे होटलसम्म यस्तो प्रस्तुति देख्न पाइन्छ। सामाजिक सञ्जालमा समेत यसको आकर्षक तस्बिर र भिडियोहरू प्रशस्तै देखिन्छन्।

तर प्रश्न उठ्छ—यो थकाली खानाको मौलिक परम्परा हो त?

मेरो बाल्यकाल सम्झँदा ‘भात घोप्ट्याउने’ कुरासँग जोडिएको अर्थ आजको भन्दा बिल्कुलै फरक थियो।हाम्रो गाउँघरमा कुनै अग्रजको मृत्यु हुँदा संस्कारअनुसार एक दिन पाकेको भात घोप्ट्याएर फाल्ने चलन थियो। बाल्यकालमा खाना खाँदाखाँदै रिस उठेर भात घोप्ट्याइयो भने पनि ‘अलक्षण लाग्छ’, ‘घोप्टे भइन्छ’ भनेर बा–आमाले सम्झाउनुहुन्थ्यो। त्यो समयको समाजमा यस्ता व्यवहार केवल सामान्य क्रिया थिएनन्। तिनका पछाडि धार्मिक विश्वास, संस्कार, सामाजिक अनुशासन र सांस्कृतिक अर्थ जोडिएका हुन्थे।

मलाई अझै एउटा बाल्यकालीन दृश्य सम्झना आउँछ—घोप्ट्याएर फालिएको भात धेरै दिनसम्म त्यत्तिकै रहन्थ्यो। चराचुरुङ्गी वा जनावरले समेत नछोएको जस्तो देखिन्थ्यो र अन्ततः माटोमै मिसिन्थ्यो। त्यस्ता अनुभवले बालमनमा स्वाभाविक रूपमा प्रश्न जन्माउँथे—हामीले घोप्ट्याएको भात र सामान्य रूपमा खाने भातबीच आखिर के फरक छ?
हाम्रा विभिन्न संस्कारमा पनि अन्नलाई विशेष अर्थ दिइएको पाइन्छ। श्राद्ध तथा पितृकार्यसँग सम्बन्धित कतिपय परम्परामा पिण्ड तथा अन्न अर्पण गर्ने विधि छन्। केही संस्कारमा विशेष प्रकारले तयार पारिएको अन्न विशेष उद्देश्यका लागि छुट्याइन्छ। यी सबै अभ्यासलाई हाम्रो पुस्ताले केवल खाना होइन, संस्कार र प्रतीकका रूपमा बुझ्दै आएको छ।

यही सांस्कृतिक पृष्ठभूमिमा हेर्दा ‘भात घोप्ट्याउने’ कार्यलाई केवल सजावट वा आकर्षणका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन।
तर आजको पुस्ताले यसलाई अर्कै रूपमा ग्रहण गरिरहेको छ।
आज घोप्ट्याएको भात थकाली खानाको आकर्षक प्रस्तुति बनेको छ। ग्राहकलाई नयाँपन दिन, फोटो राम्रो देखाउन र परिकारलाई आकर्षक बनाउन कचौरा घोप्ट्याएर भात पस्कने चलन बढेको छ। देशभित्र मात्र होइन, विदेशमा रहेका नेपाली रेस्टुरेन्टहरूमा समेत यस्तो प्रस्तुति देखिन थालेको छ।

तर यहाँ एउटा महत्वपूर्ण कुरा स्पष्ट गर्न आवश्यक छ—थकाली समुदायको मौलिक खानपान परम्परामा भात घोप्ट्याएर पस्कने चलन नै अनिवार्य वा मूल पहिचान हो भन्ने बुझाइ सही नहुन सक्छ।
सम्भवतः पछि खानालाई आकर्षक देखाउने, परिकारको प्रस्तुति प्रभावकारी बनाउने र ग्राहकको ध्यान तान्ने उद्देश्यले यस्तो शैली लोकप्रिय भएको हुन सक्छ।

त्यसैले हाम्रो मौलिक खानालाई आधुनिक बनाउन खोज्दा मौलिकता र आकर्षणबीचको सीमा पनि बुझ्न जरुरी छ।जहाँसम्म ‘ऊर्जा’ वा त्यसले मानिसको जीवनमा पार्ने प्रभावको कुरा छ, हाम्रा परम्परा र संस्कारमा अन्न, भोजन र पस्कने विधिसँग विभिन्न धार्मिक तथा सांस्कृतिक विश्वास जोडिएका छन्। तर त्यस्ता विश्वासलाई वैज्ञानिक तथ्यका रूपमा निष्कर्ष निकाल्नुअघि प्रमाण र अध्ययन आवश्यक हुन्छ।

क्वान्टम सिद्धान्तले सूक्ष्म संसारका धेरै रहस्यमय पक्ष बुझ्न सहयोग गर्छ भन्ने कुरा सत्य हो। तर त्यसलाई आधार बनाएर घोप्ट्याएको भातले मानिसमा रोग, असफलता, तनाव वा पारिवारिक समस्या ल्याउँछ भन्ने निष्कर्ष निकाल्न वैज्ञानिक प्रमाण आवश्यक हुन्छ। परम्परागत विश्वास र वैज्ञानिक प्रमाणलाई एउटै कुरा मानेर प्रस्तुत गर्नु उचित हुँदैन।

मेरो चिन्ता भने अर्कै हो।

हामीले आफ्नो मौलिक खाना र संस्कृतिलाई बजारको आकर्षणका लागि प्रस्तुत गर्दा त्यसको इतिहास, परम्परा र सांस्कृतिक अर्थ पनि बुझेर अघि बढ्नुपर्छ।थकाली खाना केवल थालमा सजाइएको भात र दालको नाम होइन। यो हिमाली जीवनशैली, स्थानीय उत्पादन, स्वाद, आतिथ्य, श्रम र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पाक–संस्कृतिको एउटा सुन्दर परिचय हो।

त्यसैले थकाली खानालाई आधुनिक होटलमा प्रस्तुत गरौँ, नयाँ शैली अपनाऔँ, आकर्षक बनाऔँ—तर त्यसको मौलिकता नहराओस्।
भात तातो राख्नुपर्छ भने कचौरा, हटकेस वा उपयुक्त भाँडामा राख्न सकिन्छ। आकर्षक प्रस्तुति दिन सकिन्छ। तर सजावटका नाममा कुनै सांस्कृतिक प्रतीकलाई नबुझी नक्कल गर्ने प्रवृत्तिबारे भने सोच्नैपर्छ।
हामीले ग्राहकलाई केवल खाना होइन, खानाको कथा पनि पस्कनुपर्छ।

हाम्रो रैथाने खाना हाम्रो पहिचान हो।हाम्रो भान्सा हाम्रो इतिहास हो।
र हाम्रो पाक–परम्परा हाम्रो पुस्ताको सम्पत्ति हो।त्यसैले आधुनिकता अपनाऔँ, तर मौलिकता नभुलौँ।

जय रैथाने।
जय भान्सा।
(लेखक : सेफ मोहन बहादुर गजुरेल
होटल, हस्पिटालिटी तथा होमस्टे तालिम प्रशिक्षक
CTEVT Affiliated Supernova Training Center, बनेपा, काभ्रेपलाञ्चोकका संचालक हुनुहुन्छ )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु