१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ राष्ट्रिय पौडीमा बागमति च्याम्पिनय⚡रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि⚡कलात्मक वातावरणमा काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक⚡दशौँ राष्ट्रिय खेलकुदमा फुल कन्ट्याक्ट करातेको भव्य सुरुवात⚡टोखाको धापासीमा उच्च हिमाली क्षेत्रका रैथाने कृषि उपजको बजारीकरणका चुनौती र अवसरबारे अन्तरक्रिया⚡सामाजिक सुरक्षा कोषमा करार कर्मचारीदेखि अनौपचारिक श्रमिकसम्मलाई आबद्ध गराउने तयारी⚡यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर⚡प्रणयको मधुर स्मृति⚡सेवाभावको कदर, कर्मको सम्मान : लिला खनाललाई समाजसेवी सम्मान⚡नेपाली मौलिक सङ्गीतको उत्सव : क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ सम्पन्न

टोखाको धापासीमा उच्च हिमाली क्षेत्रका रैथाने कृषि उपजको बजारीकरणका चुनौती र अवसरबारे अन्तरक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर ११ गते, शुक्रबार १९:०८

काठमाडौं, मंसिर ११, २०८३ (शुक्रबार) । मनाङ, मुस्ताङलगायत उच्च हिमाली क्षेत्रमा उत्पादन हुने रैथाने कृषि उपजको बजारीकरणमा देखिएका चुनौती र सम्भावनाबारे सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ। रैथाने एग्री प्रडक्ट्स नेपालको आयोजनामा शुक्रबार, मंसिर ११ गते टोखा नगरपालिका–४, धापासी हाइटस्थित रैथाने घरमा ‘उच्च हिमाली क्षेत्रका कृषि उपजहरूको बजारीकरणमा देखिएका चुनौती तथा अवसर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

टोखा नगरपालिका–४ का वडा सदस्य ताराबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपत्यकामा स्टोर, अनलाइन तथा सुपरस्टोरमार्फत व्यवसाय सञ्चालन गर्ने व्यवसायी, उत्पादक किसान तथा बजारीकरणमा क्रियाशील संघसंस्थाका प्रतिनिधिसहित ४० भन्दा बढी व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले सहभागीहरूलाई स्वागत गर्दै नेपालमा रैथाने कृषिको सम्भावना, वर्तमान अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
त्यसैगरी नेपाल कृषि अनुसन्धान परिषद्का कृषि वैज्ञानिक प्रदीप थापाले ‘स्वर्णिम कृषि’ अवधारणा, यसको महत्त्व तथा उच्च हिमाली क्षेत्रको कृषिको महत्वबारे प्रस्तुति दिएका थिए। विश्व प्रकृति संरक्षण नेपालका कार्यक्रम संयोजक गौतम पौडेलले मनाङ र मुस्ताङमा सञ्चालित परियोजनाका उपलब्धि, कृषि उत्पादन तथा तिनको बजारीकरणका सम्भावनाबारे जानकारी गराएका थिए।

तीनवटै कार्यपत्रमाथि भएको छलफलमा होलिस्टिक हिलिङ नेपालका भोला पाठक, पेम्बा शेर्पा (अर्गानिक फार्म, कपन), कृषि विज्ञ गणपति पाण्डे, हाम्रो गाउँकी अमुना घिमिरे तथा कफी उत्पादक परशुराम आचार्य लगायतले आ-आफ्ना धारणा राखेका थिए।
सहभागीहरूले रैथाने कृषि उपजको महत्त्व, व्यावसायिक बजारीकरणमा सहकार्य, सामूहिक उत्पादनको आवश्यकता तथा उत्पादक र बजारबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा अनुभव आदानप्रदान गरेका थिए।

छलफलका क्रममा उच्च हिमाली क्षेत्रमा उत्पादन हुने मौलिक, पोषणयुक्त तथा स्थानीय पहिचान बोकेका कृषि उपजको संरक्षण र प्रवर्द्धनसँगै उत्पादन, प्रशोधन, गुणस्तर व्यवस्थापन, प्याकेजिङ र बजार विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिइएको थियो। साथै, किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न उत्पादक र व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

मनाङ, मुस्ताङलगायत उच्च हिमाली क्षेत्रमा विविध प्रकारका रैथाने कृषि उपज उत्पादन हुने भए पनि बजार पहुँचको कमी, सीमित उत्पादन, ढुवानी तथा भण्डारणको कठिनाइ र उपभोक्तामाझ स्थानीय उत्पादनको पहिचान स्थापित गर्न नसक्नेजस्ता चुनौती रहेको सहभागीहरूले बताएका थिए।यी समस्याको समाधानका लागि किसान, व्यवसायी, सहकारी, बजारीकरणमा क्रियाशील संघसंस्था तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

कार्यक्रमले उच्च हिमाली क्षेत्रका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न, उत्पादक किसानलाई बजारसँग जोड्न तथा स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रैथाने कृषि उपजको प्रवर्द्धनमार्फत किसानको आयआर्जन वृद्धि र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

कार्यक्रमका अवसरमा मनाङ र मुस्ताङ जिल्लामा सञ्चालित ‘नेपालको पर्वतीय क्षेत्रमा गहन पुनरुत्थानशील कृषि परियोजना (RegAGRI)’ अन्तर्गत उत्पादित रैथाने कृषि उपज तथा स्थानीय वस्तुहरूको प्रदर्शनीसमेत गरिएको थियो। प्रदर्शनीमा मनाङ, मुस्ताङलगायत उच्च हिमाली क्षेत्रका मौलिक कृषि उत्पादन, खाद्यवस्तु तथा स्थानीय उत्पादनहरू राखिएका थिए। प्रदर्शनीले हिमाली क्षेत्रको कृषि विविधता, स्थानीय उत्पादनको विशेषता तथा तिनको व्यावसायिक बजारीकरणको सम्भावना उजागर गर्न सहयोग पुर्‍याएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु