• अस्ट्रेलियामा विद्यार्थीका चुनौती र समस्या

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार ०९:४९

    नेपालबाट भर्खर अस्ट्रेलिया पढ्न आएकी एक बहिनी हामीसँगै युनिट शेयर गरेर बस्छिन्। करिब एक महिनापछि बल्लतल्ल हाउसकिपिङ काम पाएकी उनले एक दिन ‘खुइय, खुइय’ गर्दै घर छिर्नेबित्तिकै भन्न थालिन् – ‘हेर्नुस् न दाइ दुई हप्ता काम गरेको जम्मा पैसा तीन सय डलर मात्र खातामा हालिदियो, कस्तो टेन्सन भइराछ। मरिमरि काम गर्यो अहिले पैसा दिने वेलामा यस्तो!’

    यो त एउटा प्रतिनिधि घटना मात्रै हो। भर्खर अस्ट्रेलिया छिरेका विद्यार्थीहरूलाई यहाँका नियम, कानुन त्यति नजिकबाट थाहा नपाएका हुन सक्छन्। यसैको फाइदा लिएर कैयौं कामदार तथा बिचौलियाहरूले काम लगाइदिने बहानामा काम गरेबापत् दिनुपर्ने न्यूनतम ज्याला पनि नदिने गरेका प्रसस्तै घटनाहरू भेटिन्छन्।

    विद्यार्थी संख्या धेरै

    अस्ट्रेलिया धेरै मुलुकहरूका विद्यार्थीहरूको लागि एउटा गन्तव्यस्थल हो भन्नेमा दुईमत छैन। सन् २०१६ को सरकारी तथ्यांकलाई हेर्ने हो भने अस्ट्रेलियामा जम्मा ७ लाख १२ हजार ८ सय ८४ विद्यार्थीहरू उच्च शिक्षा, एलिकोस (अंग्रेजी शिक्षा), भोकेसनल शिक्षा, स्कुल र नन अवार्ड विषयहरुको अध्ययनका लागि आएका थिए जुन सन् २०१५ को तुलनामा ११ प्रतिशत बढी हो भने यो संख्या अझै बढ्ने क्रममा छ। यहाँ पढ्न विश्वका करिब दुई सय मुलुकबाट विद्यार्थीहरू आउने गरेको समेत सो तथ्यांकले देखाएको छ। अझ नेपालजस्तो विकासोन्मुख मुलुकबाट धेरैजसो मध्यम र निम्नमध्यम वर्गीय नेपालीहरू आएका छन् जो यहाँ आउनेवित्तिकै कामको खोजीमा हुन्छन्। यसले के प्रष्ट देखाउँछ भने अस्ट्रेलियामा आउने विद्यार्थीहरूका लागि काम पाउनु एक कठिन र प्रतिष्पर्धी कार्य हो।

    अस्ट्रेलिया आउनेबित्तिकै काम खोजी गर्नका लागि विभिन्न स्थानीय वेबसाइट, संघसंस्था, साथीभाइ, आफन्त तथा नेटवर्किङको मुख्य भूमिका हुन्छ। धेरैभन्दा धेरै विद्यार्थीहरूले काम खोजी गरिरहेको अवस्थामा कैयौं कामदाहरूले फाइदा लिनका लागि कम पैसामा काम गराउने, काम लगाउनुभन्दा अगाडि केही दिन निःशुल्क रुपमा ट्रेनिङको बहानाले काम लगाउनेजस्ता गैरकानुनी कार्यहरू प्रशस्तै गर्ने गरेको भेटिन्छ। भर्खर नेपालबाट आएका विद्यार्थीहरूलाई जसरी पनि काम गर्नुपर्ने तथा महंगो फिस तिर्नुपर्ने बाध्यताले कतिपय कुराहरूमा सम्झौता गर्न बाध्य हुन्छन्। कोहीकोही विद्यार्थीहरू हप्ताको २० घन्टा मात्र काम गर्न अनुमति पाएका हुन्छन् तर त्यति समय मात्र काम गरेर मुश्किलले घरखर्च धान्न पुग्ने हुनाले गैरकानुनी भए पनि कम पैसा लिएर होस् वा क्यासमा धेरै घण्टा गर्न बाध्य भएका हुन्छन्।

    अन्यौलमा विद्यार्थी

    विरानो देशमा आउनेबित्तिकै धेरै कुरा थाहा हुँदैन। आफन्त र साथीभाइ भएर सहयोग पाइएको खण्डमा विद्यार्थीहरूले सजिलैसँग काम पाएका उदाहरण पनि प्रशस्तै हाम्रै समाजमा छन् तर कतिपय विद्यार्थीहरूले केही हप्ता वा महिनासम्म पनि काम नपाएर भौंतारिएर विभिन्न सहयोगको आशा राख्दै फेसबुक तथा अन्य विभिन्न सामाजिक सञ्जालमा याचना गरिरहेका घटनाहरू पनि बारम्बार आइरहेकै हुन्छन्। काम पाउन कति कठिन छ भन्ने कुरा सजिलैसँग हामीले यहाँका सामाजिक सञ्जालका भित्ताबाट थाहा पाउन सकिन्छ जहाँ एउटा कामका लागि सयौं उम्मेदवारहरूले प्रतिष्पर्धा गरिरहेका हुन्छ। काम सजिलैसँग नपाएपछि विद्यार्थीहरू कम पैसामा वा क्यासमा काम गर्न बाध्य पारिएका हुन्छन्।

    कतिपय नयाँ विद्यार्थीहरूको कामलाई ठूलो र सानोको रूपमा हेर्ने प्रवृत्ति पनि हुन्छ। यो प्रवृत्ति यहाँ बसिसकेपछि विस्तारै हराएर जाने भए तापनि शुरुमा कतिपय विद्यार्थीले सानातिना कामहरू गर्दिन भन्ने प्रवृत्तिले गर्दा पनि काम नपाएर भौतारिएका पाइन्छन्। हो ! आफ्नो हैसियत, क्षमता र योग्यता अनुसारको काम पूरा बल लगाएर खोज्नुपर्छ तर त्यसो भन्दैमा कामलाई ठूलो÷सानो भन्ने मानसिकतालाई पनि सकेसम्म विद्यार्थीले शुरुमैं हटाउन सके भने आफ्नो गुजारा चलाउन सानोतिनो कामहरू पाउन सकिने सम्भावना हुन्छ।

    संस्थामा अटाउँदैनन् विद्यार्थी

    नेपालबाट अस्ट्रेलिया छिर्ने विद्यार्थी नै अरू पेशाकर्मीको तुलनामा बढी हुने र विद्यार्थीलाई काम र कलेज दुवैको चाप एकैचोटि हुने हुँदा यो समूह सबभन्दा पीडित समूह मानिन्छ। विडम्बना के छ भने नेपालीहरूको सबभन्दा भरपर्दो संस्था एनआरएनमा समेत विद्यार्थीलाई अट्न सक्ने वातावरण अहिलेसम्म बनाइएको छैन। दुःख, शोक वा अन्य पीरमर्का पर्दा सहयोग गर्नको लागि भनेर विद्यार्थी ‘सोसल वेलफेयर फण्ड’ बनाइएको त छ तर अहिलेसम्म विद्यार्थीहरूले त्यसबाट कत्तिको फाइदा लिन सकेका छन् वा यसको प्रभावकारिताको विषयका न त विश्लेषण नै गरिन्छ न यसको जिकिर नै हुने गरेको छ। साथै नयाँ आउने विद्यार्थीहरूका हकहितका लागि ठोस् कार्यक्रमहरू लिएर आउने संस्थाहरू केही अपवादबाहेक अहिलेसम्म मैले भेटेको छैन।

    नेपालबाट आउँदा त्यहाँका कन्सल्टेन्सीहरूले विद्यार्थीलाई सही र सत्य परामर्श नदिंदा पनि धेरै विद्यार्थीहरु रनभुल्लमा परेका खबरहरू विद्यार्थीले महसुस गरेका पनि छन्। विद्यार्थी अस्ट्रेलिया छिर्नवित्तिकै उनीहरूलाई आवश्यक पर्न सक्ने जीवनोपयोगी सूचनाहरू उपलब्ध गराउन यी संस्थाहरुले प्रभावकारी भूमिका खेल्न जरुरी देखिन्छ। बस्ने ठाउँ र काम मात्र नभएर विभिन्न सामाजिक सुरक्षाका सूचनाहरू जस्तै कानुनी परामर्श, काम गर्ने मान्छेको अधिकार तथा कसरी पीडितेले न्याय पाउन सकिन्छ भन्ने खालका विषयहरूका बारेमा समेत विद्यार्थीलाई परामर्श दिनु आवश्यक देखिएको छ।

    कानुन छ तर विद्यार्थी रनभुल्ल

    अस्ट्रेलिया कानुनी राज्य हो। कुनै पनि कामदारले आफू कुनै किसिमबाट शोषित भएको महसुस गरेमा ‘फेयर वर्क ओम्बुड्समेन’ (Fair Work Ombudsman) मार्फत् न्याय पाउँछन्, चाहे त्यो जति नै पूरानो किन नहोस्। तर, भर्खर अस्ट्रेलिया आएका विद्यार्थीले कानुनी उपचार खोज्नु नेपालको जस्तो झन्झटिलो हुन सक्ने वा नेपालमा जस्तै अपराधीजस्तै पो भइने होकि ? भन्ने डरले गर्दा त्यस्तो बाटो रोज्न सकिरहेका हुँदैनन्। साथै, यसका बारेमा विद्यार्थीहरूलाई जानकारी दिने, विद्यार्थीका पनि काममा हुन सक्ने शोषण, जिम्मेवारी तथा कामका विविध पक्षका बारेमा वकालत गर्ने र विद्यार्थीलाई जानकारी दिनुपर्ने यहाँको संघसंस्थाको एउटा अभिभावकीय जिम्मेवारी वहन गर्न सक्ने संघ, संस्था छैनन्।

    नेपाली विद्यार्थीका यी यावत् समस्यालाई यहाँ रहेका संघसंस्थाले सहजकर्ताको भूमिका खेलेर निकास खोजिदिने वा सहयोग गरिदिने भूमिका खेल्नुपर्ने टड्कारो खाँचो छ। समुदायको हीतमा काम गर्छौं भनेर ढ्याङ्ग्रो ठटाउने यी संघसंस्थाहरूले हाम्रा यी पीडित विद्यार्थीहरूको अवाजलाई सम्बन्धित निकायसम्म सही मार्ग र आवाजका साथ पुर्याउनुपर्नेमा विद्यार्थीलाई आफ्नो संस्थाको परिधिभन्दा बाहिर पार्नु हाम्रो समाजको लागि दुःखद् विषय हो। विद्यार्थीको समस्यालाई सम्बन्धित निकायसम्म पुर्याएर ‘पुल’ को भूमिका खेल्न पाउने यो सुवर्ण अवसरलाई यहाँका सामाजिक संघसंस्थाले सदुपयोग गरेर सच्चा रूपमा समाजसेवी भूमिका खेलून्, मेरो शुभकामना।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु