काठमाडौं। महानगर प्रहरी कार्यालयबाट नयाँ बानेश्वरमा खटिएका प्रहरीले एकजना युवालाई बीच सडकमै हातपात गर्दैगरेको दृश्य यो भिडियोमा छ।
सडक किनारामा ठेला राखेर वदाम बेच्ने युवालाई एक महिला प्रहरीले कठालो समातेर दुर्व्यवहार गरेकी हुन्। सडक मिचेर व्यापार गरेको भन्दै सामान जफत गरेपछि विवाद सुरु भएको थियो। विवाद चर्किएपछि हेर्न जुटेका मान्छेको भिडमा ती प्रहरीले युवाको गालामा झापड बर्साउँछिन्।
अफूमाथि अन्याय भएको भन्दै जोरसोरले प्रतिवाद गरेका युवामाथि ती प्रहरी कुटपिटमै उत्रिएपछि युवाको केही चल्दैन। त्यसमाथि अरु प्रहरी पनि थपिएपछि युवा निरिह भएर बाटो लाग्छन्।
बा १ झ ९७१७ नम्बरको महानगर प्रहरी लेखिएको गाडीमा सवार प्रहरीबाट ती युवामाथि मंगलबार दिउसो कुटपिट भएको हो।
ठेलामा बदाम बेच्ने ती युवाको मुख्य गुनासो थियो– ‘मसँग किन दुईसय माग्नु भो?’
सडक किनारामा ठेला राखेका युवाको सामान जफत गरेर गाडीमा राखेपछि ती प्रहरी महिलाले युवासँग दुईसय रुपैयाँ मागेकी थिइन्। पैसा पाए सामान फिर्ता दिने भन्दै आफूसँग पैसा मागेको ती युवाले उपस्थित भिडमा बताएका थिए।
ती युवाले पोल खोल्न थालेपछि प्रहरीले उनलाई गाडीमा कोचेर लैजान लागेका थिए। तर ती युवाले मानेनन्, प्रतविाद गरे। मसँग कनि पैसा मागेको? भन्दै र्याखर्याख्ती पारेपछि ती प्रहरी महिला र उनका चालक एकाएक भड्किएका हुन्। त्यसपछि प्रहरीको दुर्व्यवहार बढेर कुटपिटसम्मै हुन पुग्यो।
पैसा मागेको आरोप झुटो भएको प्रहरीको दावी छ।
जुटेको भिडले ‘दुःख गरेर खाने एकजना युवालाई खुलेआम लछारपछार पारेर कुटपिट गर्ने अधिकार तपाइँलाई छ?’ भन्दै महानगरका ती प्रहरीलाई प्रश्न गरेपछि प्रहरी झनै आक्रोशित बनेकी थिइन्।
दुःख गरेर खाने आफ्नो सामान जफत भएको, त्यसमाथि घुस मागिएको र आवाज उठाउँदा कुटिनु परेको भन्दै ती युवा रुँदै त्यहाँबाट हिडेका थिए।-DCnepal
हेर्नुस् भिडियोः