नवलपरासी । ८ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । तर, जनताले सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए ।
नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताए ।
‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाग्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कसैको नाम नलिई भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो नि ।’
तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ ।
यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ ।
‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने अबस्था छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’
माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी गरे ।
आफ्नो प्रस्तावमा नै वाम गठबन्धन र एकता भएको भन्दै उनले त्यसलाई निष्कर्षमा पुर्याउने जिम्मेवारी आफ्नै भएको बताए । उनले भने, ‘हामी दुविधामा छैनौं । पार्टी एकता बनाइ छाड्ने, सरकार पनि स्थिर बनाउने तथा विकास निर्माण र समाजवादतिर देशलाई लैजाने भन्नेमा हामीले कहिँ कतै दायाँबायाँ सोच्ने कुरा छैन ।’
गठबन्धन तोड्न ठूलठूला अफर
माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोड्न ठूलठूला अफर आएको सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत समर्थनको प्रस्ताव गरेको भन्दै भने, कांग्रेसका तर्फबाट ५ वर्ष माओवादी एक्लैको सरकार बनोस्, हामी समर्थन गर्छौं भन्ने आएको छ ।’
तर, जनताले वाम गठबन्धनका लागि भोट दिएकाले आफू अन्यत्र नलाग्ने उनले बताए । उनले अघि भने, ‘एमालेको बहुमत भएको भए के हुन्थ्यो भने प्रश्न त रहृयो । बहुमत भयो, माओवादी नहुँदा पनि हुन्छ भनेर अर्कोतिर कुद्यो भने हामीले चाहँदा चाहँदै पनि एकता नहुने खतरा हुन्थ्योहोला तर, अब त्यो स्थिति हुँदैन । अब पार्टी एकता गर्ने र सरकार बनाएर जान्छौं ।’-अनलाईनखबरबाट