काठमाडौं। मुलुक पहिलो पटक संघीयतामा गएको छ। मुलुकका सात प्रदेशसभामा नयाँ मुख्यमन्त्री बन्ने व्यक्ति पनि छनोट भइसकेका छन्। चुनावी परिणाम अनुसार सात प्रदेशमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ। दुई नम्बर प्रदेशमा भने फोरम र राजपाले सरकार बनाउँदै छन्।
प्रदेश नम्बर एकमा एक्लै बहुमत हासिल गरेको एमालेले पोलिट्व्यूरो सदस्य शेरधन राईलाई संसदीय दलको नेता चयन गरेको छ। राईले एमाले सचिव भीम आचार्यलाई दुई मतले पराजित गर्दै संसदीय दलको नेतामा चयन भएका हुन्। योसँगै राई प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्ने पक्का भएको छ।
यसैगरी प्रदेश नम्बर दुईमा सबैभन्दा ठूलो दल बनेको संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत मुख्यमन्त्री बन्ने निश्चित भएको छ। राउतलाई फोरमले संसदीय दलको नेतामा चयन गरिसकेको छ। शनिबार फोरम र राजपाबीच भएको सहमति अनुसार मुख्यमन्त्री फोरमले पाउने भएको छ। यो सहमतिसँगै दुई नम्बर प्रदेशको मुख्यमन्त्री राउत बन्ने निश्चित छ।
यसैगरी प्रदेश नम्बर तीनको मुख्यमन्त्री एमालेको भागमा परेको छ। एमालेबाट हेटौंडाका सांसद डोरमणि पौडेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। तीन नम्बर प्रदेशमा मुख्यमन्त्रीका दुई आकांक्षी थिए। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पौडेल संसदीय दलको चुनावमा प्रतिश्पर्धा गरेका थिए। चुनावमा शाक्यलाई पौडेलले पराजित गरेका थिए। तीन नम्बर प्रदेशमा पौडेल मुख्यमन्त्री बन्ने तय भएको छ।
यसैगरी प्रदेश नम्बर चारको मुख्यमन्त्री पनि एमालेको भागमा परेको छ। यो प्रदेशमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ संसदीय दलको नेता चयन भएका छन्। गुरुङ चार नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ।
यसैगरी प्रदेश नम्बर पाँचमा पनि एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। पोखरेल यसअघि नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भइसकेका छन्।
प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ। र, माओवादी केन्द्रले नेता महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ। ६ नम्बर प्रदेशमा शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
यसैगरी माओवादी केन्द्रकै भागमा परेको सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादीका नेता त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भइसकेका छन्। शाही र भट्टलाई एमालेले समर्थन गरेको छ।