काठमाडौं-बलिउड किङ शाहरूख खानलाई मिडीयाकर्मीले सोधे, ‘तपाईंलाई कहिलेकाहीँ आफ्नो स्टारडम गुम्छ भन्ने डर लाग्छ कि लाग्दैन ?’ उनले निकै घमण्डका साथ भनेका थिए, ‘मलाई मेरो स्टारडममा पूर्ण विश्वास छ । मलाई थाहा छ म झूटो दुनियाँमा छु । तर म विश्वास गर्छु कि कसैले मेरो स्टारडम खोस्न सक्दैन ।’ शाहरूखले मिडियामा जसरी खुलेर यस्तो घमण्ड देखाए, त्यसको केही दिनमा अर्थात नोभेम्वर २५ मा बहुप्रतिक्षीत चलचित्र ‘डियर जिन्दगी’ रिलिज हुँदैथियो । र त्यो चलचित्र तोकिएकै समयमा रिलिज पनि भयो तर दर्शक सोचेअनुरूप हलमा ओइरिएनन् । शाहरूख त्यसपछि केही समय चुप बसे । घमण्डले मान्छेलाई के र कस्तो बनाउछ भन्नेकुरा शाहरूख खानको त्यो इन्टरभ्यु र चलचित्रले पनि प्रष्ट बनाइदियो । लगत्तै अर्को चलचित्र रिलिज भयो ‘जब ह्यारी मेट सेजल’ । तर यो चलचित्रले पनि कुनै कमाल गर्न सकेन ।
बेला बेलामा आफ्नो स्टारडमको निकै घमण्ड गर्ने शाहरूखलाई आजभोलि लाग्दै होला कि आमिर खानले त ठीकै भनेको रहेछ यार । आमिरले के भनेका थिए त ? शाहरूखको यही भनाइलाई जोडेर एउटा अन्तर्वार्तामा पत्रकारले पश्न गरेका थिए र आमिरले भनेका थिए, ‘मलाई स्टारडम गुमाउनुको डर छैन । म स्पष्ट छु कि यो सबै एकदिन म गुमाउँदै छु । यसलाई लिएर मेरो दिमागमा कुनै डर र चिन्ता छैन किनकी एकदिन यो पनि हुनेछ, जब यो मेरो साथमा स्टारडम हुने छैन । अनि डर केको लागि ?’ उनले त्यतिबेला अझै थपे, ‘एकदिन हामी सबैको मृत्यु पनि हुन्छ । सृजनशीलता पनि एक समयसम्म मात्र रहन्छ र अन्त्यमा यो पनि सकिन्छ ।’ आमिरले अगाडि भने, ‘मलाई यो सोचेर निन्द्रा लाग्दैन कि म फिल्म बनाउने जटिल कामलाई सही ढंगबाट पूरा गर्दैछु वा छैन । हामी जे हासिल गर्न चाहिरहेका छौं, के त्यो सफल भयो ? मेरो सबैभन्दा ठूलो डर यही हो । हामीले यहाँ केही गलत गर्नु हुँदैन । के म आफ्नो रचनात्मकता गुमाउँदै छु ? अवश्य पनि यस्तो हुनेछ । के म आफ्नो सम्पत्ति गुमाउँदै छु ? सय प्रतिशत यस्तो हुनेछ । यसलाई लिएर कुनै प्रश्न उठ्दैन । यो समयले तय गर्छ ।’
अब नेपाली चलचित्र क्षेत्रका युवापुस्ताका वादशाह मानिएका अनमोल केसीले पनि यो कुराको महसुस गर्नुपर्छ कि सधैं सोचेजस्तो हुँदैन र स्टारडम सधंै आफ्नो गोजीमा रहन्न । किनकी अनमोलले पहिलोपटक नेपाली चलचित्र क्षेत्रबाट नमिठो हार खाएका छन् । ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ ले अनमोलको उचाइ निकै माथि पुगेकोे थियो कि उनका अगाडि अरू कुनै अभिनेता आकाशमा उडेका हवाइजहाजबाट देखिने तल जमिनका साना घरजस्तै थिए । तर उनको पाचौं चलचित्र ‘कृ’ लगभग अरू चलचित्रको तुलनामा असफल भएको छ ।
निकै चर्चा गरिएको चलचित्र ‘कृ’ हेर्ने दर्शक बिस्तारै पातलिएका छन् । हल खाली हुन थालेका छन् । आखिर कारण के हो त ? यो उनको गल्ती हैन, उनको भाग्यमा विगतमा जस्तो कथावस्तु परेनन् । अनमोलले शतप्रतिशत दमदार अभिनय गरेका छन्, तर कमजोर कथावस्तुमा अनमोलको त्यो अभिनय फिक्का छ । उनले मिहेनत गरेअनुसार कथावस्तु शक्तिशाली नहुनु दुर्भाग्यपूर्ण कुरा हो ।
यसअघि लभरब्वायको रूपमा देखिएका अनमोलका फ्यानहरूले यो चलचित्रमा फरक देख्ने भनेको एक्सन अवतार मात्रै हो । तर चलचित्रको पटकथा र निर्देशकीय पाटो यति झुर छ कि सायद, कृ यस्तो होला भनेर कमैले अनुमान गरेका थिए होलान् । सम्पादनमा निकै चर्चामा रहेका सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रमा उनले कुनै कमाल देखाउन सकेनन् । ‘कृ’ पछि यति चाहिँ भन्न सकिन्छ कि उनले नेपाली चलचित्र निर्देशन नगरेकै राम्रो ! यो कारणले कि अनमोलजस्तो स्टारडम भएका नायकलाई फितलो भूमिकामा देखाउनु र त्यत्रो खर्च गरेर पनि राम्रा चलचित्र खेजिरहेका दर्शकको प्यास नमेटाउनु हो । भुवन केसी र सुवास गिरीको करोडौं रकमलाई निर्देशक पौडेलले सही तरिकाले सदुपयोग गर्न नसक्नुले अनमोलको स्टारडम मात्रै खतरामा परेको छैन समग्र टिमकै अगाडि प्रश्न चिह्न खडा भएको छ –के राम्रा
अब नेपाली चलचित्र क्षेत्रका युवापुस्ताका वादशाह मानिएका अनमोल केसीले पनि यो कुराको महसुस गर्नुपर्छ कि सधैं सोचेजस्तो हुँदैन र स्टारडम सधंै आफ्नो गोजीमा रहन्न । किनकी अनमोलले पहिलोपटक नेपाली चलचित्र क्षेत्रबाट नमिठो हार खाएका छन् ।
कथावस्तु : उही पुरानै स्वादको जेरीजस्तो बहुप्रतिक्षित चलचित्र ‘कृ’ गत शुक्रबारबाट देशभर रिलिज भयो । ‘कृ’ कै कारणले ‘कान्छी’ चलचित्रले आफ्नो डेट पनि सा¥यो । र सोलो रिलिजको अवसर पनि पायो । मिडियालाई नै आधार बनाएर भन्ने हो भने पहिलो दिन एक करोड र दोस्रो दिन २ करोडको व्यापार ग¥यो । यति सानो बजार भएको नेपाली चलचित्र उद्योगमा यति राम्रो व्यापार गर्नु पक्कै पनि नेपाली चलचित्रको लागि शुभ समाचार हो । र अस्ति शनिबार गोपीकृष्ण हलमा ‘कृ’ का नायक अनमोल केसीलाई दर्शकहरूले जुन किसिमको व्यावहार गरे, साँच्चै त्यो नेपाली चलचित्रको लागि अचम्म लाग्दो थियो । तर, चलचित्र केही हदसम्म सफल हुँदाहुँदै पनि एउटा चेतना भएका दर्शकले चलचित्रमा केही पनि भेटेनन्, यो दुःखलाग्दो कुरा हो । कथा भन्ने तरिका उही पसलको उही पुरानो स्वादको जेरी खाएजस्तो ।
आफ्नी बाल्यकालकी प्रेमिका केशर (अदिती बुढाथोकी) ले भने अनुरूप लाउरे भएपछि अनमोल केसी (लाउरे) उनलाई भेट्न नेपाल आउँछन् । काठमाडौंमा ल्याण्ड भएको केहीदिनमा उनी अदितीलाई भेट्न गाउँ पस्छन् । उनीहरूको सजिलै भेट हुन्छ । तर, केशरले चिन्दिनन् । अनमोल गाउँ घुम्दै जाँदा उनकै घरमा बास बस्न पुग्छन् । केशरलाई आफू लाउरे भएर आएको चिनाउन खोज्छन् तर अदितीले चिन्दिनन् । जब उनले चिन्छिन्, अनमोल मन निराश बनाउँदै काठमाडौं फर्किसकेका हुन्छन् । अदिती अनमोल खोज्दै काठमाडौं आउँछिन् र गुण्डाको घेरामा पर्छिन् ।
यहाँ समस्या के छ भने नि ! क्यामेरामा पनि कुनै आर्ट देखिँदैन । काम चलाउनकै लागि मात्र र भिडियो खिच्नकै लागिमात्र चलाएजस्तो छ । क्यामेराको पनि कहाँबाट कसरी चलाउने भन्ने आफ्नै नियमहरू हुन्छन् । तर ठूलो बजेटको नेपाली चलचित्रमा पनि यति केयरलेस तरिकाले क्यामेरा चलाइएको छ कि सेन्सलेस तरिकाले खिचिएको छ हर दृश्यहरू । यत्रो ठूलो लगानी गरेर पनि राम्रोसँग क्यामेरा नचलाउनु दुर्भाग्यको कुरा हो ।
हिरोइन किड्न्याप भएको दृश्य छ । जहाँ यति झुर तरिकाले सिनहरू लिइएको छ कि अप्ठ्यारो लाग्छ चलचित्र राम्रो छ भन्नको लागि पनि । जहाँ पहिले हिरो र हिरोइन रोडमा भेटिन लाग्दा बस आउँछ र हिरोइन गायब हुन्छ । पछि मेन भिलेनले कथा भन्न लाग्दा पहिले नै हिरोइनको अगाडि पहिले नै बस बसेको देखाउँछ । योभन्दा झुर र केयरलेसनेस सायदै भेरिएला अन्य राम्रा भनिएका नेपाली चलचित्रमा पनि । यिनै सवाल वरपर घुमेको चलचित्र ‘कृ’ लाई दमदार बनाउन खोजिएको छ तर कथावस्तु न यता न उता बनाइएको छ ।
बच्चैमा छुटेकी प्रेमिकासँग पुनर्मिलन गर्न हिरो गाउँ फर्कनु, गुण्डाहरूले बाटो छेक्नु । ती प्रेमिका बलात्कारमा पर्नु । प्रेमीलाई आक्रमण गर्नु लगायतका विषयमा दर्जनौं फिल्म बनिसकेका छन् । सानोमा केटाकेटीबीच चिनो आदानप्रदान गरिएका विषयमा पनि टन्नै फिल्म बनेका छन् । ‘कृ’ को कहानी यो भन्दा माथि उठ्न सकेको छैन । बरु अनमोललाई ‘कृ’ले उनले विगतमा कमाएको स्टारडम बढाउने भन्दा पनि घटाउने सहजै अनुमान लगाउन सकिन्छ । फिल्ममा एक्सनबाहेक प्रेमकथा छ तर केही इमोसनल बनाउन सक्दैन फिल्म हेर्ने दर्शकहरूलाई । प्रेमीहरूलाई । प्रेम कथा त हो यो चलचित्र तर दर्शकको आँखाबाट आँसुहरू खस्न मान्दैनन् । समस्या यहाँनेर हो । फिल्म हेरिरहँदा वाह भनेर दर्शकले आँसु झार्ने कुनै दृश्य देखाउन सकेका छैनन् निर्देशक पौडेलले । फिल्मको होहल्ला साह्रै गरिए पनि साँच्चिकै भन्दा पुरानै शैलीमा चलचित्र निर्माण भएको छ । पटकथाकारद्वय प्रदीप भारद्वाज र आशिष रेग्मीले कुनै चक्मा दिने खाले जादु पस्कन सकेका छैनन् । अनमोलको अभिनय दमदार छ । चलचित्रमा देखाइएका दृश्य गज्जबका छन् । निर्माताद्वय सुवास गिरी र भुवन केसीले मन खोलेर लगानी गरेका छन् । तर त्यो लगानीलाई सोही अनुपातमा फिल्मका कमान्डर सुरेन्द्र पौडेलले कमाल देखाउन सकेका छैनन् । अनमोल जस्ता सर्वाधिक रुचाइएका स्टारलाई सही र राम्रो कथावस्तुमा प्रयोग गर्न नसकेर पौड्याल चुकेका छन् । हिरोको लुक्स चेन्ज गरी सफा र ताजा दृश्यमा फिल्म खिच्नु मात्र निर्देशकीय ड्युटी पक्कै हैन । गतिलो विषयवस्तु टिपेर त्यसलाई सुन्दर र सबैको मन मुटुमा छुनेगरी पात्रहरू मार्फत चलचित्रको सिनहरूमा देखाउनु पनि हो ।
फिल्ममा फाइटका दृश्य प्रशस्त छन् । कोरियोग्राफी आकर्षक छ । एक्सन राम्रै प्रस्तुत भएको छ । चन्द्र पन्तले आफ्नो ठाउँबाट राम्रै गरेका छन् । फिल्ममा एउटा विषयवस्तु गुन्डा र प्रहरीबीचको सम्बन्धलाई राम्रैसँग देखाइएको छ । साउन्ड डिजाइनर उत्तम न्यौपानेले राम्रै कमाल गरेका छन् । पुरुषोत्तम प्रधानको खिचाइ औसत छ । तर फिल्मका गीत दर्शकको मनमा बस्ने खालका छैनन् । गठिलो ज्यानका अनमोलले साँच्चै मिहेनत गरेका छन् । अभिनयमा कुनै कन्जुस्याइँ गरेका छैनन्, अभिनय कथावस्तु अनुसार राम्रै छ । अनमोलले थोरै फिल्म तर तारिफयोग्य काम गर्ने भन्दै आएका छन् । तर लामो समयमा खुबै मिहेनत गरेर काम गरिएका फिल्म नै राम्रो भएन भने करिअर धर्मराउन सक्नेमा कुनै शंका छैन । ‘कृ’ ले त्यस्तै कुनै अशुभ संकेत देखाएको त हैन ? त्यो भविष्यमा थाहा होला तर अब अनमोलले फेरि एकपटक सोच्नैपर्छ र अभिनय तथा लुक्समा केही नयाँ देखाउनैपर्छ ।
फिल्मको प्रोमो गजबको बनेको थियो । त्यसो त प्रोमोको ‘मेरा दुश्मनहरूले सोचेका होलान, म कहिल्यै फर्केर आउने छैन’ डायलग बलिउड कै ‘डन २’ मा शाहरूख खानको डायलगसित मिलेको भन्दै सोसल मिडियामा आलोचना भएकै थियो । तर त्यो डायलग फिल्मभित्र कहीँकतै देखिँदैन । यहाँ आँखै अगाडि चोरेर पनि चोर होइन भन्दै तर्किन खोजिएको छ ।
समग्रमा अनमोलको अभिनय राम्रै भए पनि यो चलचित्रले न त नेपाली चलचित्रलाई माथि उठाउन सक्छ न त ‘कृ’ को नाम लिएर ‘नेपाली चलचित्र यस्तो हुन्छ’ भनेर गर्व गर्न नै सकिन्छ । बस, सुवास गिरी र भुवन केसी लगानी हावामा उडाउन बाहेक अरू गतिलो योगदान केही छैन । र यसको सम्पूर्ण दोष निर्देशकले लिनुपर्छ । किनकी यत्रो लगानी गरेर पनि यस्तो झुर चलचित्र बन्नु भनेको दुर्भाग्यको कुरा हो ।-Ramji Gnawali(Janta Post)