काठमाडौं -बुधबार नेप्से परिसूचक २.९ अंकले घटेको छ । साताको पहिलो कारोबार भएको दिन ५२ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा ४० अंकले बढेर सुधारिने संकेत देखिए पनि त्यसले निरन्तरता भने पाउन सकेन ।बुधबार कारोबार सुरु भएको ८ मिनेटमै १५ अंकले गति लिएको बजारले त्यसलाई निरन्तरता दिन सकेन । त्यसलगत्तै बजारले दिनकै न्यून बिन्दु छुँदा बजार ११ सय ८७ अंकमा पुगेको थियो । तर बजार फेरि बढ्न कोसिस गरेपनि त्यो सम्भव हुन सकेन । अन्ततः नेप्से परिसूचक १२ सय ४ दशमलव ८१ अंकमा पुगेर रोकियो ।
बुधबार नै आर्थिक श्वेतपत्र आउने खबरले केहीबेर बजार प्रभावित पारे पनि यो धेरैबेर टिकेन, जसको कारण बजारमा आरोह अवरोह देखिइरह्यो । श्वेतपत्रले लगानीकर्तालाई समेट्ने बताइएपनि बुधबार नै सरकारको भावी योजना सार्वजनिक नहुने निश्चित भएपछि लगानीकर्ता दुविधामा रहेको जानकारहरुले बताएका छन् ।यसदिन नेप्से घट्दा “क” वर्गका कम्पनीहरुको कारेबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.२६ अंकले घटेर २५७.४८ अंकमा पुगेको छ । बजारमा आधा अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
अघिल्लो दिन ५० करोड ६१ लाख रुपैयाँको कारोबार भएको बजारमा यसदिन ५१ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा १६२ कम्पनीका १३ लाख ५२ हजार २९० कित्ता सेयर किनबेच भए ।यसदिन कारोबारमा आएका समूहमा भएको घटबढ मिश्रित देखिएको छ । कारोबारमा आएका १० मध्ये ६ समूह ओरालो लाग्दा बीमा लगायत समूहमा आएको गिरावटले सेयरबजार परिसूचक घट्न टेवा पुग्यो ।यसदिन बीमा समूह सबैभन्दा धेरै ९१.४१ अंकले घटेको छ । त्यस्तै लघुवित्त र जलविद्युत् समूह क्रमशः २९.०९ र २१.१५ अंकले घट्दा होटल समूह पनि १८.९५ अंकले ओरालो लाग्यो ।
त्यसैगरी वित्त र ट्रेडिङ समूहमा ५.८२ र ४.५६ अंकका गिरावट आए ।बुधबार बढ्नेमा उत्पादनमूलक समूहको उपसूचक सर्वाधिक १४ं.७२ अंकले बढ्यो । यसदिन बैंकिङ, विकास बैंक र अन्य समूहमा क्रमशः २.९३, १.१६ र २.८७ अंकका सुधार आए ।यसदिन युनिलिभर नेपालका सर्वाधिक २ करोड ५८ लाख रुपैयाँको कारोबार हुँदा नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक र एभरेस्ट बैंकका पनि २ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।बुधबार राधी विद्युत् कम्पनीको लगानीकर्ताको सर्वाधिक १० प्रतिशत सेयर मूल्य बढ्दा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता ८.४२ प्रतिशत सेयर मूल्य गुमाए ।