मदिरा पिएर बेसुर अवस्थामा घुरिरहेका वडाध्यक्ष कार्यालयबाटै समातिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १५ गते, बिहीबार ०८:००

झापा-  मेचीनगर नगरपालिका-२ का वडाध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले  मदिरा सेवन गरि बेसुर अवस्थामा घुरिरहेका बेला पक्राउ गरेको छ । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका उनलाई बुधबार दिउँसो स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगि उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगेको थियो ।

नमातेको बेला शालीन र सरल स्वभावका वडाध्यक्ष न्यौपानेले मदिरा पिएर लठ्ठ भएपछि जसलाई भेट्यो उसलाई तथानाम गालीगलौज गर्दै आएको स्थानीयवासी बताउँछन् ।नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष न्यौपानेलाई आचरण सुधार्न पार्टीले समेत पटकपटक मौका दिँदै आएको थियो ।‘पहिल्यैदेखि मदिरा खाएर छवि बिगारेका उहाँलाई टिकट दिनु हुँदैन भन्ने कुरा चुनाव अघि उठेको थियो’, एक एमाले कार्यकर्ता भन्छन्, ‘अहिले चुनाव जितेपछि पार्टीले सुधार्न अनेक प्रयास गर्‍यो, तर सकेन ।’

वडाध्यक्ष न्यौपानेले वडा कार्यालयका कर्मचारी र सेवाग्राहीहरुलाई समेत मातेको सुरमा दुर्व्यवहार गरेर लज्जित तुल्याउँदै आएका छन् । इलाका प्रहरी कार्यालयले साँझ वडाध्यक्ष न्यौपानेलाई  उप्रान्त मदिरा सेवन नगर्ने शर्तमा छाडिदिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु