कृषिमन्त्रीले गरिन् हरियाली प्रवद्र्धन कार्यक्रमको अवलोकन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १८ गते, आईतवार ०६:२६

बुटवल -बुटवल–भैरहवा ‘सिक्स लेन’ सडकमा सुरू गरिएको हरियाली प्रवद्र्धन कार्यक्रमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शनिबार अवलोकन गरेकी छिन् । विशेष गरी ‘सिक्स लेन’ सडकमा हरियाली तथा गार्डेन बनाउने अभियान्ता लुम्बिनी नसर्री तिलोत्तमा–५ ले उक्त क्षेत्रमा मन्त्रीलाई निरीक्षण गर्न आमन्त्रण गरेको थियो । बुद्धपावर गार्डेन र दर्लम महाकाली अटो पार्टसले सडकको किनारामा फूलहरु रोपेर हरियाली अभियान सुरू गरेका थिए ।

निरीक्षणपछि मन्त्री पौडेलले तिलोत्तमा नगरपालिकामा थालिएको हरियाली प्रवद्र्धन कार्यक्रम प्रदेश नम्बर पाँचका सम्पूर्ण सहरहरूमा सञ्चालन गर्न आफूले पहलकदमी लिने बताइन् । ‘हजुरहरू थाल्नुभएको अभियानबाट म अत्यन्त प्रभावित भए’ मन्त्री पौडेलले भनिन्, ‘गरे के हुँदैन भन्ने यहाँहरू उदाहरण बन्नु भएको छ । हजुरहरूले सुरू गरेको यो सडकमा गार्डेन बनाउने अभियान अन्य सहरका बासिन्दालाई पनि त्यहाँ गएर सिक्नुहोस भन्छु । प्रदेश अन्तर्गत पर्ने १२ जिल्लाका फराकिला बन्दै गएको सडकमा हरियाली अभियान सञ्चालन गर्न पहल गर्छु ।’

मन्त्री पौडेलले हरियाली प्रवद्र्धन कार्यक्रममा आफू मातहतको मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् । मन्त्रीले उक्त क्षेत्रमा बिरुवा पनि रोपिन ।सबैले आ–आफ्नो घर अगाडि बगैचा बनाउन मन्त्री पौडेलले आग्रह समेत गरिन् । कार्यक्रममा बोल्दै तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले ग्रीन तिलोत्तमा अभियानमा आफूहरू जुटेको मन्त्रीलाई जानकारी गराए । उनले भने, ‘यो सडकमा यात्रा गर्ने यात्रुहरुले गाडी रोकेर यहाँ सुरू भएको हरियाली हर्ने बनाउने गरी नगरपालिका र वडा कार्यालयहरू जुटेका छन् ।’

लुम्बिनी नर्सरीका सञ्चालक तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघका प्रदेश नम्बर पाँच इन्चार्ज रमेश पाण्डेले आफूहरू बुटवल भैरहवा सहरलाई फूलैफूलको सडक बनाउने अभियानमा जुटेको बताए । ‘आफूहरू बुटवलदेखि पर्यटकीय गन्त्व्य लुम्बिनीसम्म सडकको दायाँ बायाँ बगैचा बनाउने अभियान थालिएको छ । यस अभियानमा प्रदेश सरकारको साथ र सहयोग पनि आवश्यक छ’ पाण्डेले भने । मन्त्री पौडेलले दर्लमहाकाली पार्क, सिरिषा पार्क, बुद्धपावर पार्क र पोखरेल गरी ४ वटा पार्क/गार्डेनको अवलोकन गरेकी थिइन् ।

त्यस्तै मन्त्री पौडेलले बुटवल–११ कालिकाचोकमा महिलाहरुले थालेको हरियाली अभियानको पनि निरीक्षण गरिन् । कालिका नमूना पार्कका सञ्चालक सकुन्तला पुनले आफूहरू हरियाली प्रवद्र्धनमा जुटे पनि पानीको समस्या रहेको मन्त्रीलाई जानकारी गराइन् । मन्त्रीले हरियाली प्रवद्र्धनका लागि धारा जडान गर्न व्यक्तिगत रुपमा ३० हजार रूपैयाँ कालिका नमूना पार्कलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु