काठमाडौं-नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक एवम् पूर्व राजदुत डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने स्पष्ट पारेका छन् । थापाले प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी हुने विश्वास दिलाए ।प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वराजदुत थापाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले अघि सारेको प्राथमिकताकै आधारमा आन्तरिक तथा बाहृय सम्बन्धहरु अघि बढ्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने,‘अहिलेको सरकारको मुख्य फोकस नै राष्ट्रियतालाई बलियो बनाउने, राष्ट्रिय स्वार्थलाई अघि बढाउने र जनतालाई समृद्धि दिने नै हो, सम्वाद गर्दा यीनै कुरामा ध्यान दिनुपर्छ।’
थापाले भ्रमणमा नयाँ सम्झौता गर्नुभन्दापनि भएका सम्झौताहरु कार्यान्यवनमा जोड र आर्थिक समृद्धि हाँसिल गर्ने विषयमा केन्द्रित रहेर कुरा गर्न सुझाव समेत दिएका छन् ।क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा निर्वाचन सम्पन्न भएसँगै स्थायी प्रकृतिको सरकार बनेको सुनाए । उनले भने,‘अहिले वातावरण फेरिएको छ, चुनापछि भारत र स्वयम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालका तीन जना नेतालाई फोन गरेर बधाई दिनुभयो, यसले पनि के देखाउँछ भने अहिले वातावरण फेरिएको छ।’
थापाले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू पूर्ण विश्स्त रहेको बताए । उनले भने,‘ऋषिजी तपाई ढुक्क हुनुहोस्, प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल हुन्छ ।’
‘प्रधानमन्त्रीको भ्रमण सफल र उपलब्धिमूलक हुन्छ’
नेपालमा विगतदेखि नै सरकारले धेरै कुराहरु कबुल गरेको तर लागु गर्न नसक्दा जनतामा निराशा छाएको उनको टिप्पणी थियो । उनले भने,‘अहिलेपनि धेरै आन्तरिक तथा बाहृय चूनौतिहरु छन्, सबै कुराहरुलाई सुझबुझका साथ अघि बढाउनुपर्छ, सरकारले ६ वटा प्राथमिकताहरु सार्वजनिक गरिसकेको छ, अब कार्यान्वयनमा जोड दिनुपर्छ।’उनले नेपालको शासन पद्धतिमा कसैबाट पनि प्रभाव वा आघात पार्ने व्यवहार नेपालीहरुलाई स्विकार्य नभएको बताए । ‘अबको एजेण्डा भनेको आर्थिक समृद्धि नै हो, राष्ट्रियताको संरक्षण एवम् प्रर्वद्धन गर्दै हामी यही बाटोमा अघि बढ्न सक्नुपर्छ।’–उनले थपे।
भारतसँग आजभन्दा करिब १८ वर्षअघि पञ्चेश्वर आयोजनामा हस्ताक्षर भएपनि अहिलेसम्म त्यो अगाडि नबढ्नु दुःखदायी कुरा भएको उनको गुनासो थियो । ‘अहिले त भनेर भन्दा पनि गरेर देखाउने बेला आएको छ।’–थापाले थपे।प्रधानमन्त्री ओलीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरा उठ्छ त भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले यो विषय भ्रमणसँग सम्बन्धित नरहेको स्पष्ट पारे । थापाले नेपालले अब संविधान र संविधान कार्यान्वयनले देखाएको बाटो हिँड्ने बताउँदै मुलुकको हितको लागि आपसी समझदारी अनिवार्य रहेको बताए ।भारतसँग भएको १९५० को सन्धिबारे अहिलेसम्म गहिरिएर र करेक्सन गर्नेबारे गृहकार्य नभएको गुनासो पोख्दै उनले भने,‘तर अहिले यो विषयले हाई–लेभलमा प्रवेश पाएको छ|
यसलाई समसामयिक बनाउन र विगतमा भएका तित्तता कम गर्नेगरि हामीले होमवर्क गरिरहेका छौं।’थापाले यो विषय संवेदनशील र अभ्यास गम्भिर रहेकोले आफूहरु सन्धि, व्यापार, पानी, सिमा, सुरक्षा आदि विषयमा तथ्यमा छलफल गरेर निश्कर्षमा पुग्ने जनाए । उनले भने,‘हामीले निकालेको निश्कर्ष दुवै पक्षबाट स्विकार हुन्छ।’त्यस्तै उनले भारतसँग रहेको व्यापार घाटा कम गर्नको लागि नेपालले उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले थपे,‘उत्पादन भएपछिमात्रै देशको प्रगति हुन्छ, नेपालीहरुले पसिना र रगत बेच्ने र चामल, नून, तेल किन्ने गरेका छज, हामीले मानवीय स्रोत एक्सपोर्ट गर्ने अनि कमोडिटी ईम्पोर्ट गरिरहेका छौं।’