गुल्मी । गुल्मीमा रेसुङ्गा विमान स्थलमा आउने जेठ पहिलो साता परिक्षण उडान हुने भएको छ । गएको दशैमा नै धुले उडान गर्ने भनिए पनि विविध कारणले समस्या परेको थियो । विमानस्थल निमार्ण समिती अध्यक्ष मधुकृष्ण पन्तका अनुसार परिक्षण उडानका लागि सबै तयारी पुरा भएको छ । अझै केहि सामान्य प्राविधिक काम भैरहेकाले जेठ पहिलो साता भित्रमै रेसुङ्गा विमानस्थलमा जहाज आउने पन्त बताए ।
जिल्लाको सदरमुकाम तम्घास नजिकै सिमीचौरमा एक दशक अगाडिवाट विमान स्थल निमार्णको काम शुरु भएको छ । तर कार्यले समयमै गति लिन नसकेपछि गुल्मेलीको आफ्नै विमान स्थलबाट जहाज चढ्ने चाहाना अधुरो बन्दै गएको थियो । ‘परिक्षण उडान गर्ने तयारी गरेका छौ,’ निर्माण समिति अध्यक्ष पन्तले भने,‘ पर्यटन तथा नागरिक उड्यन प्राधिकरणको टोलीले छिट्टै अनुगमन गरेपछि धुले उडान गराउँछौ ।’ यो बिषयमा नागरिक उड्यन प्राधिकरणमा पुगेर विमानस्थलको जानकारी गराइसकिएको उनले बताए ।
विमानस्थल निमार्णको जिम्मा पाएका निमार्ण ब्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले दशैमा धुले उडान गर्न कोशिस गरेपनि पुरै संरचना निर्माणमा समय लागेको बताए । उनले आफु पनि गुल्मीकै भएकाले जिल्लाको प्रतिष्ठाका लागि निमार्ण सम्झौतामा समेत नभएको काम गरेर परिक्षणका लागि विमानस्थल तयार गरिएको बताए । अहिले भर्खरै तयार पारिएको संरचनाले पनि स्थानीय नागरिकलाई जहाज आउनेमा थप विश्वास बढाएको स्थानीय ओम बहादुर थापा क्षेत्रीले बताए । ‘समयमै योजना सम्पन्न भएको भए धेरै राम्रो हुन्थ्यो,’उनले भने,‘तर पनि गत बर्षहरुमा भन्दा अहिले हेर्दा जहाज आउने आश पलाएको छ । परिक्षण उठानसंगै नियमित जहाज सञ्चालन भए गुल्मीसहित छिमेकी जिल्लाहरुको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा उद्योगी ब्यवसायीहरुको छ । गुल्मी उद्योग वाणिज्य सघंका महासचिव तारा भुसालले जिल्लाको भाग्य र भविष्यका लागि रेसुङ्गामा केवलकार र सिमिचौरको विमानस्थल संचालनमा आउनुपर्नेमा जोड दिए ।यो बर्ष बिमान स्थलका लागि संयोग पनि बनेको छ । प्रदिप ज्ञवाली अघिल्लो पटक पर्यटन तथा नागरिक उड्यन मन्त्री हुँदा शिलान्यास गरेको विमानस्थल अहिले परराष्ट्र मन्त्री हुँदा परिक्षण उडानको तयारी भैइरहेको छ । त्यसैले पनि यो पटक नागरिकहरुमा अलि बढि आत्म विश्वास पलाएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले आफुले हिजो देखिनै कालीगण्डकी करिडोर र रेसुङ्गा विमानस्थलको बारेमा धेरै प्रयास गरिरहेकाले कुनै हालतमा संचालनमा ल्याउने बताए ।‘गुल्मीको आर्थिक समृद्धि कृषी र पर्यटनबाट मात्रै संभव छ,’उनले भने,‘ त्यसैका लागि विमान स्थल हो, परिक्षण उडान गर्छौ ।’
विमानस्थल निर्माणको जिम्मा सुनिल समिर निर्माण सेवाले लिएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म झन्डै ११ करोड रुपैयाँ खर्च भइसकेको छ ।