वासुदेव पौडेल/पोखरा(रासस)- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ ।पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । “मोदीको मुक्तिनाथ र जनकपुर भ्रमणसँगै पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ,” पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले भन्नुभयो । भारतीय पर्यटक मुक्तिनाथको दर्शन र हिमाली भू–भागको अवलोकन गर्न आउने गरेका छन् ।
भ्रमणका लागि नेपाल सरकारको सवारी पास अनुमति लिएर भारतीय पर्यटक आउने गरेका छन् । यतिखेर भारतका उत्तरप्रदेश, बिहार, सिक्किम, उत्तराखण्डलगायत स्थानका पर्यटक पोखरा घुम्न आएका छन् ।पोखरा आउने भारतीय पर्यटक पोखरालाई आधार बनाइ उडानका माध्यमबाट जोमसोम विमानस्थल हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कतिपय पर्यटक सडक मार्ग प्रयोग गरी उक्त स्थानमा जाने गरेका छन् । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या बढिरहेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
“मोदीको भ्रमण अघि पनि भारतीय दर्शनार्थी आउने गरेका थिए, भ्रमणपछि उनीहरूको संख्यामा वृद्धि भएको छ,” उहाँले भन्नुभयो । मोदीको भ्रमणपछि दैनिक एक हजारदेखि एक हजार २०० को हाराहारीमा भारतीय दर्शनार्थी आउने क्रम जारी छ ।भारतका विभिन्न ठाउँमा गर्मी ह्वात्तै बढेका कारण भारतीय पर्यटकको चाप बढेको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेल बताउनुहुन्छ । “यतिखेर भारतमा गृष्मकालीन बिदा छ, बिदाको उपयोगका साथै धार्मिक स्थलको दर्शन र प्राकृतिकस्थलको अवलोकनको लक्ष्य राख्दै पर्यटक पोखरा र आसपासका क्षेत्र आउने गरेका छन्,” – उहाँले भन्नुभयो ।
भारतबाट आउने पर्यटकमध्ये ९० प्रतिशतले आफ्नै सवारी साधन लिएर आउने गरेको जानकारी दिँदै उहाँले उनीहरूले पोखरामा सामान्यतः दुई/तीन रात बिताउने गरेका छन् । होटेल एशियाका सञ्चालक धर्म पन्थीका अनुसार पोखराका होटेलमा यतिखेर भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ ।
भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध संघ संस्थाले गरेका प्रवद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण भारतीय पर्यटकको संख्यामा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताउनुभयो ।प्रवद्र्धनात्मक कार्यक्रमका कारण अन्तर्राष्ट्रिय बजारको विश्वास जित्ने क्रम बढिरहेको उहाँको भनाइ छ । थपलियाका अनुसार सामान्यतः वार्षिक रुपमा हवाईमार्ग हुँदै पोखरा आउने भारतीय पर्यटकको संख्या करीब ६० हजार रहेको छ भने स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या दुई लाख रहेको छ ।
नेपाल आउने बाह्य पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा उक्त संख्या बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने गरेको छ । पोखरामा पर्यटकलाई लक्ष्य गरी व्यवसायीले रु एक खर्बभन्दा बढी लगानी गरिसकेका छन् । पोखरामा हाल दुईवटा पाँच तारे, १४ वटा तीन तारे र अन्य पर्यटकस्तरीय करिब ४०० वटा सुविधा सम्पन्न होटल रहेका छन् । ९तस्वीर संलग्न छ०