नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते, बुधबार १०:३३

काठमाडौं-नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका लगानीकर्ता र अर्थमन्त्रालयबीच बजार खुलाउने सहमति भएपछि शेयर कारोबार खुला भएको हो ।मंगलबार अर्थमन्त्रालयले यस विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने र त्यस अवधिसम्म शेयर कारोबार खोल्न लगानीकर्ताहरु सहमत भएको लगानीकर्ता हित संरक्षण मञ्चका महासचिव कमल भारतीले जानकारी दिए । आन्तरिक राजश्व विभागले पुनः अर्को पत्र नपठाएसम्म कारोबार नखुलाउने आफूहरुको अडान रहेको महासचिव भारतीले बताए । यद्यपि शेयर कारोबार भने खुलिसकेको छ ।

कारोबार शुरु भएलगत्तै फरवार्ड माइक्रोफाइनान्सको २१० कित्ता शेयर किनबेच समेत भएको छ । हाल सम्म १ लाख २३ हजार ७ सय ९० रुपैयाँको कारोबार भएको छ ।हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै शेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएपछि नेप्सेमा मंगलबारदेखि नै कारोबार बन्द भएको थियो । लगानीकर्ताहरुले आन्तरिक राजश्व विभागको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए पनि मन्त्रालयसँग बार्ता मिलेपछि शेयर कारोबार आजैदेखि खुला हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु