रुपन्देहीमा अनुगमन समितिले गर्यो भैरहवामा ३ वटा ट्राभल एजेन्सीमा शिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते, मंगलवार ०४:३६

भैरहवा-नेपाल–भारत सीमाक्षेत्र रुपन्देहीको बेलहियामा रहेका केही ट्राभल एजेन्सीहरुले पर्यटकहरु ट्राभल एजेन्सीको नाममा ठगि गरेको खुलासा भएको छ ।सो क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुमा अनुगमन गर्दा दर्ता नै नभएका ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई ठग्ने गरेको खुलेको हो ।

कुनै पनि आधिकारीक निकायमा दर्ता नगरी वा अन्य शहरमा दर्ता गराई गैरकानूनी रुपमा एजेन्सी खोलेका ३ वटा ट्राभल एजेन्सीलाई अनुगमन समितिले शिल समेत गरेको छ ।जिल्ला अनुगमन समितिले ट्राभल एजेन्सीहरुको अनुगमन गर्दा बेलहियामा रहेका विनचेष्टर ट्राभल एण्ड टुर्स प्रा ली, महाराजा ट्राभल्स एण्ड ट्रेकर्स र लिंक एब्रोड टुर्स एण्ड ट्राभल्समा अनुगमन समितिले ताला लगाएको छ ।

बेलहियामा रहेका केही ट्राभल एजेन्सीहरुले ठगि गरेका, दर्ता बिना नै सञ्चालन गरेको एवम पर्यटकहरुलाई गुमराहमा पारी नेपाली पर्यटन क्षेत्रलाई बदनाम गरेको उजुरी बढ्दै गए पछि सो क्षेत्रमा अनुगमन गरिएको बाणिज्य कार्यालय भैरहवाका प्रमुख तथा अनुगमन समितिका संयोजक बेद प्रकाश उपाध्यायले बताए ।पर्यटक आगमनको बिन्दु क्षेत्रबाट नै बिभिन्न बिचौलियाहरुले पर्यटकहरुलाई गलत सूचना दिई उनिहरुलाई अल्पत्र पार्ने, उनिहरुलाई ठग्ने गरेका छन । नेपालका बिभिन्न स्थानमा ट्रेकिङ्ग देखी होटल बुक गर्ने नाममा मोटो रकम लिई उनिहरु पर्यटकहरुलाई उक्त सेवाहरु नदिई भाग्ने गरेको उपाध्यायको भनाई छ ।

बेलहिया क्षेत्रमा बिचौलियाहरुको प्रभाव बढ्दै गई पर्यटकहरु ठगिदै गएको भनि ट्राभल्सहरुको संगठन नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट (नाटा)ले पनि सो निायन्त्रणको प्रयास थालेको छ ।नाटाका महासचिव चन्द्र बहादुर थापाका अनुसार बेलहियामा ट्राभल ब्यवसायको नाममा अवैध रुपमा खुला रुपमा दलाल केन्द्रहरु खुलेको बताए ।उनले नेपाल प्रवेश विन्दु बेलहियामै पर्यटकहरुको बाटो ढुकी पर्यटकहरु माथी जवरजस्ती र छिनाझपटी गर्ने गरेको गुनासो गरे ।यस्ता एजेन्सीहरुले ट्राभल ब्यावसायकै बदनाम गरेको हुदा स्थानिय प्रशासनको सहयोगमा उनिहरुलाई नियन्त्रणमा ल्याउने प्रयास थालिएको बताए ।

नेपाल भारतको सीमा नाका बेलहियाबाट स्थल मार्ग हुदै मुलुककै सबै भन्दा बढी पर्यटक भित्रिने गरेका छन । यस्ता पर्यटकहरु नेपालको प्रवेश बिन्दुमै गलत सूचना पाउदा र ठगिदा समग्र नेपालकै पर्यटन उद्योगमा नाकारात्मक असर पर्ने पक्का छ । ट्राभल एजेन्सीहरुमा गरिएको अनुगमनलाई स्थानिय ट्राभल ब्यावसायीहरुले सकारात्मक भएको बताउदै यसलाई निरन्तरता दिनु पर्ने आवाज समेत उठाएका छन ।सोमबार बाणिज्य कार्यालय भैरहवाको अगुवाईमा पर्यटन कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नाटा, पर्यटक प्रहरीको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु