फिल्म दृष्टि | झेल्नु नपर्ने ‘हरि’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते, बुधबार ०९:३१

केही गीत, केही फाइट, केही कमेडी र केही रोमान्सका दृश्य राख्दा फिल्म बनिहाल्छ अनि बजारमा चलिहाल्छ नि भन्ने परम्परागत मानसिकताबाट धेरै पर रहेर बनेको छ– हरि । न यहाँ अनावश्यक चुट्किलाले महत्व पाएको छ, न अनावश्यक ग्ल्यामर नै भित्रिएको छ ।कसैले छाड्ने हिम्मत गर्न नसकेको नेपाली फिल्मको परम्परागत कथ्य संरचनालाई ‘हरि’ले सजिलै छाडिदिएको छ । ‘हरि’ नेपाली फिल्ममा बिल्कुलै नयाँ प्रयोग हो । हिजो नेपाली फिल्ममा जसरी कथा भनिन्थ्यो, यो फिल्मले त्यसरी कथा भनेको छैन ।

निर्देशकले कथा भन्न बिल्कुलै नयाँ शैली आत्मसात गरेका छन् । अरुले रोपिदिएकै विरुवामा मलजल गर्न रुचाउनेहरुको भिडमा निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले गरेको यो हिम्मत तारिफयोग्य छ ।यो सिनेमामार्फत् नेपाली फिल्मले पहिलोपल्ट सन् १९२१ मा फ्रान्सको पेरिसबाट सांस्कृतिक क्रान्तिका रुपमा सुरु भएको सररियालिज्म (अतियथार्थवाद)लाई आत्मसात गरेको छ । तर जसरी सररियल फिल्महरुले यौन जीवनका बारेमा ज्यादा कुरा गर्न रुचाउँछन्, त्यस्तो प्रयास ‘हरि’ले गरेको छैन । निर्देशकले पात्रमार्फत् अवचेतन र अलौकिक मनको यथार्थलाई आत्मसात भने गरेका छन् ।‘हरि’ यही नाम बोकेको पात्रको कथा हो । चार पुस्ताको पारिवारिक परिचयबाट सुरु हुने यो फिल्मले तीस वर्षीय विष्णुहरि (विपिन कार्की)को कथा भन्छ । जो फिल्ममा रामहरिका पनाति, कृष्णहरिका नाति र शिवहरिका छोरा हुन्छन् ।फिल्ममा विपिनले चारवटै भूमिका निर्वाह गरेका छन् । विष्णुहरि फिल्मका न्यारेटर पनि हुन्, जो आफ्नो कथा आफैँ सुनाउँछन् । धर्म र अन्धविश्वासमा बढी विश्वास राख्छन् उनी । उनको आफ्नै बाँच्ने शैली छैन । आफ्नो पुर्खा र आमाले बनाएको नियममा उनी बाँचिरहेका हुन्छन् ।उनी लक्ष्मी फाइनान्स कम्पनीका म्यानेजर हुन्छन् जो बाइकमा घर–अफिस गर्छन् । भगवानप्रति यतिसम्म आस्तिक हुन्छन् कि बाटोमा ८ वटा मन्दिरलाई अफिस जाँदा र अफिसबाट फर्कदा ढोग्न कहिल्यै छुटाउँदैनन् । प्रणामी धार्मिक समुदायका हुन् उनी, प्याज लसुन केही चल्दैन । क्यान्टिनको मःम पनि चल्दैन, घरबाटै टिफिनमा खाजा बोकेर अफिस जान्छन् ।

हरियो रङको कपडा पनि लाउँदैनन्, कारण ज्योतिषले फाप्दैन भनेको छ ।एकदिन सधैँजसरी बाइकमा अफिस गइरहेका बेला हरिको टाउकोमा चराले आची गरिदिन्छ । त्यसपछि उनको मनमा तनाव सुरु हुन्छ । तनाव आचीले भन्दा पनि काग या परेवा कसको भन्नेमा हुन्छ । परेवा उसका लागि शुभ संकेत हो भने काग खराब समयको संकेत । त्यसपछि उत्पन्न हुने तनावकै बीचमा हरिमा एकाएक बदलाव आउँछ । आफ्नै ऐनाअगाडि उभिएर जब उसले ‘म को हुँ’ भनेर आफूले आफैँलाई प्रश्न गर्न चाहन्छ, त्यसपछि फिल्मले लिने नयाँ मोड र उत्पन्न हुने अप्रत्यासित घटना नै यसको कथा हो ।एउटा निर्दोष र इमान्दार व्यक्ति थाहा नपाउँदा–नपाउँदै कसरी अपराधको भुमरीमा फँस्छ ? निर्देशकले हरिमार्फत् समाजको यो यथार्थ देखाउन खोजेका छन् ।  फिल्मभित्र विष्णुहरिका बाबु पनि छन् जो अलि ‘साइको’ लाग्छन् । आमा पनि छिन्, जो छोरालाई औधि प्रेम गर्छिन । अफिसमा आफूभन्दा कनिष्ठ कर्मचारी (कमलमणि नेपाल)पनि छन् जसको हेपाहा र काममा ठग्ने प्रवृत्तिसँग रुष्ट छन्, हरि ।फिल्ममा ‘हरि’ सपना देखिरहन्छन् । बाहिरी भन्दा पनि आन्तरिक यर्थाथसँग बढी अन्तरक्रिया गर्छन् । उनको खास द्वन्द्व आफ्नै पहिचानसँग हुन्छ ।‘हरि’ले पनि अतियर्थाथवाद (सररियालिज्म)लेझैँ परम्परागत रुढी व्यवस्थालाई अस्वीकार गरेको छ । फिल्मले बढी अव्यक्त जीवन र प्रकृतिका पाटालाई उजागर गर्न खोजेको छ ।

स्क्रिन–प्लेको तयारीमा पनि अचेतन लेखनलाई महŒव दिइएको देखिन्छ ।फिल्मलाई पहिला कला र त्यसपछि मात्र पैसा हो भनेर मान्न तयार दर्शकलाई यो फिल्म साँच्चिकै कलात्मक र साहित्यिक लाग्छ । ‘नमस्ते दर्शकवृन्द, म हरि । आराम हुनुहुन्छ ?’ भनेर सुरु हुने यो फिल्ममार्फत् प्रमुख पात्रले अन्त्यसम्म दर्शकसँग अन्तरक्रिया गर्छन् । पात्रसँग अन्तरक्रिया गरेको अनुभूत गरिरहेका दर्शकलाई फिल्मको अन्त्यतिर हरिले ‘दर्शकवृन्द यतिन्जेलसम्म मलाई झेलिदिनुभएकोमा यहाँहरुलाई हृदयदेखि नै धन्यवाद’ भन्दा झन् नजिक महसुस हुन्छ ।फिल्मभित्र टेम्पोवाली (थिन्ले ल्हामो)लाई देख्दा जाग्ने हरिको प्रेम, छेउमा बुबाको गाइने साथीले बजाउने सारङ्गी दर्शकलाई कलात्मक मात्रै लाग्दैन यसले दर्शकमा बेग्लै मिठासपन पनि छर्छ । फिल्ममा गरिएको छायाको प्रयोग, अन्तिम दृश्य आदि उस्तै अर्थपूर्ण र कलात्मक लाग्छन् । रहस्मयी बाबा, बुबाको ज्याकेट लगाउँदा हरिमा आउने मनोवैज्ञानिक परिवर्तन लगायतका केही दृश्य हलबाट बाहिर निस्कँदासम्म दर्शकको मस्तिष्कबाट हट्दैन, बरु मगज हल्लाइरहेको हुन्छ ।

यति भन्दाभन्दै ‘हरि’ कमजोरीविहीन बन्न भने सकेको छैन । हाफ टाइमपछि फिल्मले लय गुमाएको भान हुन्छ । पात्रको मूल द्वन्द्व आफ्नै पहिचानसँग हुन्छ, तर फिल्म अन्तै गइरहेको जस्तो लाग्छ । यसले फिल्मको मूल द्वन्द्व स्थापित गर्ने चरणमा निर्देशकीय दुविधा देखाउँछ ।अभिनयको चर्चा गर्दा दर्शकलाई पूरै फिल्म अवधिभर इन्गेज गराउने ल्याकत राखेका छन्– विपिन कार्कीले । एउटै फिल्ममा एउटा कलाकारलाई चार वटा पात्रको भूमिका निर्वाह गर्नु चानचुने चुनौती होइन तर उनले यसलाई अवसरमा बदलेर न्याय गरेका छन् ।सुनिता श्रेष्ठसँग श्रीमान् भएर रोमान्स गर्दा र छोरा भएर अभिनय गर्दा पनि उनी चिप्लिएको पाइएन । सुरुदेखि नै फरक–फरक चरित्रमा अभिनय गर्दै आइरहेका विपिनले फेरि एकपल्ट आफूलाई बहुमुखी र प्रतिभाशाली अभिनेता साबित गरेका छन् ।

फिल्ममा सुनिताको अभिनय तारिफयोग्य छ । आकाशको भूमिकामा कमलमणि नेपाल फिट देखिएका छन् तर फिल्मभित्र उनको श्रीमतीको अभिनय अलि ‘लाउड’ लाग्छ । थिन्लेको मुस्कानसहितको अभिनयले दर्शकलाई लोभ्याउँछ ।फिल्मभित्र क्यामेराको प्रयोग प्रशंसनीय छ । पात्र र दृश्यलाई बलियोसँग स्थापित गराउन क्यामेराले भूमिका खेलेको छ । फिल्ममा क्यामेराको चालसँगै दृश्यका रङहरु परिवर्तन हुन्छन्, जसले पात्रहरुको अवस्थालाई चित्रण गरिरहेको जनाउँछ ।फिल्ममा प्रयोग गरिएको साउन्ड अर्को सुन्दर पक्ष हो । दर्शकलाई फिल्मको लयसँग गाँस्न र इन्गेज गराइरहन ब्याकग्राउन्ड म्युजिकले पनि भूमिका खेल्छ ।फिल्ममा तडकभडक, धुमधमाका र मसला खोज्नेहरुलाई त भन्न सकिन्न तर सिरियस फिल्मप्रेमी र विपिनका अभिनयका पारखीका लागि यो फिल्म रुचिकर छ । कथा चोरेर बनाइने १० वटा ‘कोहलपुर एक्सप्रेस’हरु भन्दा बल्लतल्ल बन्ने ‘हरि’ नै नेपाली फिल्मको उन्नतिमा सारथि बन्न सक्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु