चार दिने साबुन बनाउने तालिम हिजोदेखि बालुवाटारमा शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १० गते, आईतवार ०७:२८

काठमाडौं-साबुन बनाउने तालिम  हिजोदेखि काठमाडौंमा शुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने सो तालिमको हिजो आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले महिलाहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिदै महिलाहरु आफ्नो हक अधिकारका लागि जागरुक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

महिलाहरुलाई उद्यमी बनाउने काममा महानगरपालिकाले सहयोग गरिरहेको उल्लेख गर्दै महानगर कार्यबाहक प्रमुख खड्गीले महानगरपालिकाले महिलाहरुको क्षमता विकासमा विशेष ध्यान दिएको पनि बताउनुभयो ।
काठमाडौं महानगरपालिकाको सहयोगमा विकास र समृद्धिको लागि महिला नामक संस्थाले सो तालिम कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका ४ नं. वडाका वडा अध्यक्ष मोहन बहादुर विष्टले वडाले महिला, बालबालिका र जेष्ठ नागरिकको हक हित र वडाको समग्र विकासका लागि सक्रियतापूर्वक कार्य गरिरहेको बताउनुभएको थियो ।

कार्यक्रममा पूर्व सांसद रमा गुरागाई, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.४ का क्षेत्रिय सभापती रमेश कुमार खड्का, नेपाली कांग्रेसका स्थानीय नेताहरु राम प्रसाद न्यौपाने, शम्भु अधिकारी लगायतले महिला, बालबालिका र जेष्ठ नागरिकको उत्थान र वडाको विकासमा सहयोग गर्न कामपा कार्यबाहक प्रमुख हरिप्रभा खड्गी समक्ष आग्रह गरेका थिए ।

सो साबुन बनाउने तालिममा काठमाडौं महानगरपालिका ४ नं. वडाका महिलाहरुको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु