आमाको अन्त्येष्टि गरिदै, तर छोरीलाई भनिदैछ ‘पख ल अहिले आउँछिन्’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २८ गते, बिहीबार १३:१७

बुटवल – मानिसले कहिले काँही आबेगमा आएर गर्ने निर्णय र व्यवहारले अरु धेरैको जिन्दगी र मानसपटलमा ठुलो असर गर्छ । बाग्लुङ्ग तमानखोला गाउँपालिका खुँखानी गाउँका भरतबहादुर बिकका एक छोरा, दुई छोरीसहित सुखी दाम्पत्य जीवन थियो ।

बैदेशिक रोजगारले गर्दा उनीहरुको आर्थिक सुधार पनि भईरहेको थियो । छोरा छोरीलाई पढाउन र श्रीमतीलाई पनि सुखी बनाउनका लागि उनले बर्र्तीबाङ्ग बजारमा डेरा गरी राखेका थिए ।

डेरामा राखे पनि पौरखी थिईन् उनकी श्रीमती प्रेमकुमारी बिक । उनले कुखरा पालनसमेत गर्दै आई रहेकी थिईन् । उनीसागै डेरा गरी बस्ने उनकी भाई बुहारी तारा रसाईलीसंग गरिएको कुराकानीमा आधारित रहेर लेखिँदैछ, उनीहरु हाँस्दा हाँस्दै जिस्कदा जिस्कदै हुन पुगेको यो बियोगान्तको कथा ।

‘अस्ती सोमबार साँझ अबेरसम्म खानपिन र हाँसो ठट्टामै रमाउँदै थिए’ भन्छन् तारा रसाईली । हिजो मंगलबार बिहान भने कल्पनानै गर्न नसकिने दृश्य देखे तारा र उनका श्रीमान खबहादुर विकले ।

घरै अगाडी जहाँ कुखराका खोरहरु छन् । प्रशस्त लोकल कुखराहरु पनि छन् । ‘कोही कुखुरा खोज्न जानेहरुसंग– आउने बेला भाछ । यिनी त बुढालाई राखी दिएकी भाले हुन् । बेच्दिन भन्ने गर्थिन प्रेम कुमारीले । सोही स्थानमा हिजो बिहान करिब ६ बजेको समयमा उनको शब फेला प¥यो ।’

३७ वर्षिया प्रेमकुमारीका श्रीमान विदेशबाट एक महिना अघि जेठमा घर फर्किएका थिए । तीनै श्रीमानको लागि पालेर राखी दिएकी कुखराको खोर नजिकै संजिवलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको बताईएको छ ।

मसिनो नाईलनको डोरी उनका श्रीमानले काटेर तल झारेको तारा रसाईलीले जानकारी दिईन् । पोष्टमार्टम गर्दा मुखमा समेत नाईलन डोरीको टुक्रा भेटिएको आफन्तजनहरु बताएका छन् ।

उनै प्याराले दागवत्तीसमेत दिन पाएनन्

श्रीमानलाई प्यारा भन्ने चलन अझै पनि छ गाउँमा । जेठमा उनका श्रीमान घर नआउनु अघि दिदी बहिनीहरुले जिस्कदै उनलाई कहिले आउँछन् तपाईका प्यारा भनेर सोध्थे । त्यसको केही दिनपछि उनै प्यारा घर आए । पालेर राखेका तीनै लोकल कुखराहरु काट्ने र अनेकथरी परिकारहरु खाँदैै–पिउँदै बसीरहेका थिए ।

विभिन्न ठाउँमा घुम्न पनि गए । छोरीको लडेर हाँत भाँचिएको थियो । उनैलाई बिचमा राखेर तस्वीर पनि खिचाए । त्यही तस्वीर नै उनीहरुको अन्तिम तस्वीर बन्न पुग्यो ।

१२ वर्षिय छोरा किरिया बस्दै

आज उनको शव सदरमुकाम बाग्लुङ्गबाट पोष्टमार्टम गरी बुर्तीबाङ्ग ल्याई स्थानीय सुरेलाघाटमा उनको अन्त्यिष्टी गरिदै छ । हत्याको आशंका गरी उनका साला खबहादुर बिकले जाहेरी दिएपछि उनका श्रीमान यति बेला प्रहरी हिरासतमा छन् । अस्ती साँझसम्म हाँसी मजाक गर्दै बसेका उनै प्याराले उनको मृत्युमा अन्तिम विदाई गर्न समेत पाएनन् । उनको सट्टामा उनका १२ वर्षिय छोरा मिनलाई दागबत्ती दिन लागिएको छ ।

तारा रसाईली गलाअबरुद्ध पार्दै भन्छिन् ‘त्यत्रो बालकले खै कसरी कुनो चलाउला ? ९ र ५ वर्षकी छोरी रोएर सताएकी छन् । हामी पनि सबैजाना रुवाबबासीमा छौं । उता जलाउन पठाएका छौं । ती छोरीले खै आमा कति बेला आउँनुहुन्छ भनेर सोधेको सोधै गर्छन् । अहिले आउनुहुन्छ, पख भनेर भुलाएका छौं । अब उनीहरुलाई कसरी हुर्काउने हो ।’

अझै लतारी विवाह बाग्लुङ्गमा

बाग्लुङ्गमा अझै पनि पुरुषले युवतीलाई लतारी विवाह गर्ने चलन कायमै छ भन्ने यी दम्पत्तीको वियोग कथा उठान गर्दा स्पष्ट भएको छ । २०५९ सालमा भरतबहादुरले उनको माईती घर बोमखानी गाउँबाट लतारी विवाह गरी ल्याएका थिए ।

बाग्लुङ्गका कतिपय ठाउँमा अझै पनि राम्री र मन परेकी युवतीलाई बारीमा लतार्न जाने । जितेर अर्थात तानेर ल्याउन सके श्रीमती बनाएर घर भित्र्याउने चलन रहेको छ । त्यसरी नै मन पराएर, जितर ल्याईकी प्रेमकुमारीको मृत्यु हुनु अघिसम्म पनि शौन्दर्यकी खानी थिईन् ।

्आखिर उनीहरु दुवैमा कमी के थियो ? छोरी स्कुल जाँदा लडेर घाईते भएका, आमाले हेरबिचार गर्न नसकेकोबाट रिसाएका उनका श्रीमानले बेला बेलामा झगडा गरी राख्ने, सँगै डेरामा बसेकाहरुले बताए । सोमबार साँझ आफुले श्रीमती कुटेको उनले प्रहरीसँमक्ष बताएको प्रहरीले जनाएको छ । कुटाई र तनाव सहन नसकेर उनले आत्मा हत्या गरिन् वा जाहेरीवालाले आशंका गरे जस्तो उनको हत्या नै भयो ? यो भने प्रहरी अनुसन्धानबाट मात्र खुल्ने छ ।

छुराको धारमा विदेश गएकाहरुको श्रीमती

हत्या नै भएको भए पनि उनका श्रीमानको आवेगका परिणाम भोग्नेछन् । आत्महत्या गरेको भए पनि अवेगको परिणामले उनका ती लालाबालाको बिचल्ली भएको छ । यसर्थ आवेगमा ज्यान हाल्न वा कसैको लिदा कसैको जिन्दगी बबर्चाद र बाँचेकाहरुलाई बिचल्ली पार्नु शिवाय अरु केही हुने छैन ।

बैदेशिक राजगारमा रहेका पुरुषहरुका श्रीमती समाजमा छुराको धारमा बाँच्नु परेको छ । यदाकदा केहीले बाटो बिराए होलन् । तर अधिकांश महिलाहरु आफ्नो सतधर्ममा रहे पनि ठाडोशिर लगाएर बाँच्न सकिरहेका छैनन् ।

बाटाघाट कसैसाग बोले पनि रुष्ट भएको परिवारका सदस्यहरुले गलत कुरा लगाई दिएर कोहीले आत्महया गर्छन् त कोही नचाहेर पनि घर छाडन् बाध्य भएका छन् । बाबु आमा, भाई, भतिजाको कुरा सुन्ने श्रीमानहरुले श्रीमतीलाई मर्न कि भगाउन बाध्य पारेको पाईएको छ । यस्तो हुनबाट जोगाउन र जोगिन एक अर्काबीचको विश्वास र समझदारीको खाँचो छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु