काठमाडौं-नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् ।नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरिने बताइएको छ ।
संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासीवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । जुन कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासीको पहिचान सुनिश्चित गर्न नयाँ राजनीतिक बाटो तय हुने महासंघले अपेक्षा गरेको छ ।
संविधान जारी हुने बेला छुट्टै आन्दोलन गरेको पद्यमरत्न तुलाधार नेतृत्वको ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ले समेत यस वर्ष महासंघसँग सहकार्य गरेको विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले सार्वजनिक गरेको कार्यक्रम अनुसार तुलाधार नेतृत्वको समूहले ‘संघीयता कार्यान्वयन र जातिय सवाल’ विषयमा अन्तरकृया गर्ने बताइएको छ । महासंघको नेतृत्वमा आदिवासी जनजाति जन्य संघ संस्थाहरुले समेत विविध कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विश्वभरका आदिवासीले हरेक वर्ष ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउने गरेका छन् ।