अजयका दाजुको प्रश्न- जंगलमा लगेर मार्नुपर्छ भन्ने कुन नियममा छ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३० गते, बुधबार ०९:४८

काठमाडौं- आइबार साँझ काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या गर्ने दुई अपहरणकारीमाथिको प्रहरी इन्काउन्टर विवादमा तानिएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाको दाबीअनुसार अपहरणपछि बालकको हत्या गर्ने नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ प्रहरी मुठभेडमा मारिएका थिए ।तर, तामाङद्वयलाई प्रहरीले उनीहरुको कोठाबाटै सोमबार बिहान पक्राउ गरेर लगेको स्थानीयबासीहरुबाट वयान आउन थालेपछि प्रहरी इन्काउन्टर विवादमा तानिएको हो ।

बुधबार दिउँसो मृतकका परिवारले गोपाल र अजयको गैरन्यायिक तरिकाले हत्या भएको भन्दै छानबिनको मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।उजुरी दर्ता भएपछि मृतक अजय तामाङका दाजु सोनमले प्रहरीद्वारा ‘फेक इन्काउन्टर’ को घटना बनाएको दाबी गरे । उनले प्रहरीले कानुन अनुसार कारबाही गर्नुपर्नेमा पक्राउ गरिसकेर इन्काउन्टर गरिएको भन्दै आक्रोश पोखे ।

प्रस्तुत छ, सोनमको भनाइको सम्पादित अंशः

म विगत ५ वर्षदेखि विदेशमा श्रम गर्दै आएको थिएँ । विदामा नेपाल आएको हुँ । सोमबार साँझ ५ बजे सामाखुशी चोक आइपुगेको थिएँ । होटलमा आएपछि वाइफाइ चल्यो मोबाइलमा ।फेसबुक खोलेको, एउटा पेजमा नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकको अजय तामाङ प्रहरी इन्काउन्टरमा मारिए भन्ने समाचारमा देखेँ । मैले सुरुमा त पत्याउनै सकिनँ । यो सबै फेक हो भन्ने सोचंे । त्यसपछि के रहेछ भनेर न्यूज वेबसाइटहरु हेरेँ ।

त्यहाँ भक्तपुरमा सधैँ खाना खाने होटलको बच्चा अपहरण गरेर हत्या गरी गाडेको अवस्थामा निकालिएको पढेँ । त्यहाँ भागेर जाने क्रममा पाइटबाबा वनमा प्रहरीसँग भिडन्त भएको भनिएको थियो ।तत्काल घरमा फोन गरेँ । मुमा रोइरहनु भएको रहेछ । म छाँगाबाट खसेझैँ भएँ । तर, जब उनीहरुको कोठा पुगेँ । घरवेटी र नजिककै रहेको कोठाहरुमा बस्नेहरुसँग कुरा गरेँ । तब, मिडियाले लेखेको कुरा पनि गलत रहेछ भन्ने थाहा पाएँ । प्रहरीले गलत प्रचार गरेको रहेछ ।

वास्तवमा दुईजनाको कोठामा सोमबार बिहान ७ बजे सिभिलका प्रहरी आएका रहेछन् । उनीहरुले ९/१० बजेसम्म दुवैलाई कुटेछन् । हल्लाखल्ला भएपछि समातेर गाडीमा हालेका रहेछन् । त्यसपछि इन्काउन्टरका नाममा मारिएको रहेछ ।कानुन त सबैलाई बराबर होजस्तो लाग्छ । देशमा संविधान बनेको छ । कस्तोलाई कस्तो कारबाही गर्ने भन्ने छ ।कानुनअनुसार कारबाही गरेको भए चित्त बुझ्थ्यो ।

गल्ती गरेपछि जोकोही होस् कारबाही त हुनुपर्छ ।तर, नियम, कानुनले अपहरणकारीलाई मार्नुपर्छ, गोली ठोक्नुपर्छ भनेको छैन होला । समातेर, कुटपिट गरेर जंगलमा लगेर मार्नुपर्छ भन्ने कुन नियममा छ ? कानुनमा भएको भए मारेको भए पनि केही भन्ने थिएनौं ।

हामी दुई भाइ हौं । म जेठो, अजय कान्छो । गाउँमा अहिलेसम्म न भाइले, न मैले कसैको पनि एक शब्द पनि गाली खाएका छैनौं ।मेरो उमेर २६ वर्षको भयो । न मलाई कसैले औंला उठायो, न भाइलाई उठायो । यो घटना जुन हिजो भयो, मैले अहिलेसम्म पत्याउनै सकेको छैन । मैले भाइलाई हेर्न सकेको छैन । हिजो टिचिङमा जाँदा बेहोस भएँ । अझै पनि भाइ जिउँदै छ जस्तो लागिरहेको छ । भाइले त्यस्तो काम गर्छ, जस्तो सोचेको पनि थिइनँ । तर, यो घटनामा प्रहरीको फेक इन्काउन्टरमाथि चाँडोभन्दा चाँडो छानविन हुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु