काठमाडौं -नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरवार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेकाे छ । मुलुकी ऐनको विरोधमा निस्केका यी युवक नयाँ मुलुकी एेनको सम्भवतः पहिलो शिकार बनेका छन् ।
मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।
भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्नेमा जितिन लिम्बु छन् ।
कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ ? अहिले नै भन्न सकिँदैन
सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए । हाल लिम्बुलार्इ सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।
नागिंनेलाई के कारवाही हुन्छ ?
भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ मसिहनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजायँ हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ ।
नयाँ ऐनको १२२ (१) मा भनिएको छ- ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।’
जितिन लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरे पनि गुप्तांग भने देखाएका थिएनन् । उनले गुप्तांग कागजले छोपेका थिए । लंगौटीसम्म लगाएर हिँडेको अवस्थामा पुरुषलाई यौनांग देखाएको नमानिने स्थितिमा कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ ? अहिले नै भन्न सकिँदैन ।
तर, यो कुराचाहिँ पक्का छ कि भदौ १ देखि लागू भएको मुलुकी ऐनको पहिलो शिकार चाहिँ सिंहदरबार अगाडि नांगिएका यिनै व्यक्तिबाट सुरु हुने भएको छ ।प्रहरीले उनलाई अब नयाँ मुलुकी ऐनको ‘सार्वजनिक नैतिकताविरुद्धको कसूर’ अन्तरगत कारवाही चलाउने भएको छ ।
-onlinekhabar