गुगलका सयौँ कर्मचारीहरु विरोधमा उत्रिए, चीन छिर्ने योजना के होला ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११ गते, सोमबार ०७:५०

चीनका लागि सेन्सरयुक्त सर्च इन्जिन सुरु गर्ने गुगलको तयारीको विरोधमा गुगलका सयौँ कर्मचारीहरु उत्रिएका छन् । उनीहरुले गुगलको यस्तो योजनाको विरोधमा खुल्ला पत्र लेखेर सार्वजनिक गरेका हुन् ।चीनमा सेन्सरयुक्त सर्च इन्जिन सुरु गर्ने परियोजनाले नैतिक प्रश्न उठाएको भन्दै उनीहरुले गुगललाई पारदर्शी बन्न आग्रह गरेका छन् ।आफ्नो कामका बारेमा नैतिक रुपमा निर्णय लिनका लागि आवश्यक पर्याप्त जानकारी आफुहरुसँग नरहेको उनीहरुले जनाएका छन् ।

तर गुगलले भने यसबारेमा आधिकारिक रुपमा कुने टिप्पणी गरेको छैन ।चिनिया सरकारको सेन्सरसीप सम्बन्धी कडा कानूनको विरोधमा गुगलले आठ वर्षअघि चीनमा सर्च इन्जिन सेवा बन्द गरेको थियो । उतिबेला चीनमा सरकारी तबरबाटै गुगल ह्याक गरिएको आरोप पनि लागेको थियो ।तर अघिल्लो महिना सार्वजनिक एक रिपोर्ट अनुसार गुगलले चीनमा सर्च इन्जिन सुरु गर्न गोप्य रुपमा तयारी गरिरहेको छ । गुगलको त्यो सम्भावित सेन्सरयुक्त इन्टरनेट सर्च इन्जिनलाई ड्रागनफ्लाई नाम दिइएको छ ।समाचार अनुसार गुगलको उक्त चिनिया सर्च इन्जिनले मानव अधिकार तथा धर्मको विषयका सामाग्री तथा वेबसाइटहरु देखाउनेछैन । यद्यपि यो प्रस्तावित सर्च इन्जिनले अहिलेसम्म चिनिया सरकारको स्विकृति पाइनसकेको बताइन्छ ।गुगलको यस्तो योजनाबाट उसका धेरै कर्मचारीहरु आक्रोसित बनेका छन् ।

गुगलको यस्तो कदमले वाक् स्वतन्त्रतामाथि पावन्दी लगाउने चिनिया कदमलाई झनै सहयोग पुग्ने उनीहरुको भनाई छ ।धेरै मिडिया संस्थाहरुसँग समेत शेयर गरिएको उक्त पत्रमा यस्तो योजनाले गुगलको आचार संहिता पनि उल्लंघन हुने दाबी गरिएको छ ।पत्रमा भनिएको छ, ‘हामीलाई तत्कालै बढी भन्दा बढी पारदर्शिता चाहिन्छ । यस विषयमा छलफलका साथै स्वच्छ तथा खुल्ला प्रक्रियाप्रतिको प्रतिबद्धता आवश्यक छ । हामीले के बनाइरहेका छौँ भन्ने कुराको जानकारीका गुगलका हरेक कर्मचारीले पाउनुपर्दछ ।’कम्पनीको निर्णयको विरुद्धमा गुगलका कर्मचारीहरु उत्रिएको यो पहिलोपटक भने होइन ।गत अपि्रलमा गुगलका हजारौँ कर्मचारीले कम्पनीको एक परियोजनाको खुलेर आलोचना गरेका थिए ।

अमेरिकी मानवरहित विमान अर्थात् ड्रोनका लागि गुगलले आर्टिफिसियल इन्टेलिजेन्सको विकास गरिदिने प्रकारको कार्यक्रमको गुगलका कर्मचारीहरुले सख्त विरोध गरे ।तत् पश्चात् गुगलले यस परियोजनाका लागि पेन्टागनसँग भएको सम्झौता तोडेको थियो ।चीन विश्वको सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता भएको देश हो । तर सरकारी बन्देज र सामाग्रीहरुमाथिको कसिलो सेन्सरसीपका कारण गुगलले चीनमा सफलता प्राप्त गर्न सकेको छैन ।चीनमा अहिले गुगलका तिनवटा कार्यालय छन् । तर गुगलमात्र होइन फेसबुक, टि्वटर तथा इन्स्टाग्राम लगायतका साइटहरु चीनमा प्रतिबन्धित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु