काठमाडौं, २५ भदौ । युवा प्रर्वद्धक एवम् पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले दुर्घटनाको कारण विमान चालक र मौसमलाई देखाएर पर्यटनमन्त्री रवीन्द्र अधिकारी उम्कन अब सम्भव नभएको बताएका छन् ।
मन्त्री अधिकारीको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि पोख्दै ई. कंडेलले आज यस्तो आरोप लगाएका हुन् । उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘मन्त्री अधिकारीको पछिल्लो व्यवहारप्रति म पूर्ण रुपमा असन्तुष्ट छु । उहाँले नागरिक उड्यन प्राधिकरणलाई सुधार गर्न मैले दिएको सुझावलाई अनुशरण नै गर्नुभएन । उहाँजस्तो जिम्मेवार व्यक्तिले नै यसरी बेवास्ता गरेपछि अनि कहाँबाट समस्याको समाधान हुन्छ ?’
ई. कंडेलले यसअघि नै मन्त्री अधिकारीलाई उनकै कार्यकक्षमा पुगी यही भदौ ४ गते विमानस्थलमा देखिएको प्राविधिक समस्यादेखि लिएर प्राधिकरणलाई सुधार गर्ने उद्देश्यसहित समाधानका उपाय समेटेर ज्ञापनपत्र बुझाएका थिए । तर, मन्त्री अधिकारीले आफूले दिएको सुझावका सम्बन्धमा खासै चासो नदेखाएपछि कंडेलले रुष्ट बन्दै आईकाओलगायत सम्बन्धित विभन्नि निकायसँग प्राधिकरण सुधारको बारेमा छलफल गर्दै आईरहेका छन् ।
भदौ ४ गतेपछि लगातार २ वटा विमान दुर्घटना भएको र दुर्घटनामा पाइलट सहित ६ यात्रुको मृत्यु भएको उल्लेख गर्दै उनले यसप्रति सरकार अविलम्ब गम्भिर बन्नुपर्ने धारणा राखेका छन् । उनले भने,‘सरकारले गम्भिरता देखाओस् । अझैपनि समय छ । प्राधिकरण सुधारको लागि म निरन्तर प्रयासरत छु । सम्बन्धित सबै निकायले सहजीकरण गर्ने हो भने हामी प्राधिकरणलाई सुधार गरेर देखाउन सक्छौं ।’
मन्त्रीलाई पटक–पटकको प्रयासपछि भेटेर ज्ञापनपत्र बुझाउँदापनि कुनै चासो र विमानस्थलमा हुने दुर्घट्नाबारे सुधारका कुनै सकारात्मक पहलकदमी नचालिएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि भेटको लागि प्रधानमन्त्री कार्यालयमा सम्पर्क गरेको कंडेलले जनाए ।
उनले भने,‘अहिले मैले प्रधानमन्त्रीज्यूसँग भेटको लागि समय मागेको छु । यदि उहाँले मलाई भेटको लागि अवसर दिनुभयो भने म उहाँसँग प्राधिकरण सुधारको लागि खाका विस्तृत रुपमा प्रस्तुत गर्छु । तर, उहाँ पनि गम्भिर हुनुभएन भने नेपालको आकाशमा नेपाली मात्र नभएर विदेशीपनी उढ्ने भएकोले भोलि यो मुद्दा अन्तर्रा्ष्ट्रियस्तरमा पनि उठाउँछु ।’
आफूले मन्त्री अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा नेपालको हवाई क्षेत्रमा खतरायुक्त धावनमार्ग, अत्याधुनिक प्रविधि नभएको, हवाई क्षेत्रबारे अन्तर्रा्ष्ट्रियस्तरमा खराब उपस्थिति रहेको, विमान दुर्घट्ना लगायतका घट्नामा पर्याप्त अनुशन्धान नभएको, विगतमा घटित घट्नाबाट पाठ नसिकिएको र चालक र एयरपोर्ट ट्राफिक कन्ट्रोलरबीच पर्याप्त सञ्चार आदान–प्रदानमा त्रुटी भएको जस्ता कुरा समेटेको कंडेलले जानकारी दिए ।
आफूले छिट्टै नेपालको हवाई क्षेत्रको सुधारको लागि अन्तर्रा्ष्ट्रियस्तरको सम्मेलन गर्न तयारी गरेको पनि उनले स्पष्ट पारे । उनले भने,‘म नेपालको हवाई क्षेत्रलाई सुधार गर्नको लागि अहिले प्रयत्नरत छु । र, यसको लागि छिट्टै नेपालमा अन्तर्रा्ष्ट्रियस्तरको सम्मेलन गर्न चाहन्छु । यो कुरा मैले मन्त्रीज्यूलाई पनि जानकारी गराईसकेको थिएँ ।’
ई. कंडेलले नेपालमा भएका प्रायः हवाई दुर्घट्नामा मौसम र विमान चालकलाई दोष दिने प्रचलन व्याप्त रहेकोप्रति कडा गुनासो पोखेका छन् । उनले थपे,‘समस्या एकातिर छ, तर नेपालमा विमान दुर्घट्ना भयो कि, कि त मौसमको कारण देखाईन्छ, कि त विमान चालकको लापरवाही भनिन्छ । यो गैरजिम्मेवारीपूर्ण तर्क हो । यसमा कुनै दम छैन । यस्ता प्राविधिक र वैज्ञानिक विषयवस्तुमा नेपाल सरकारका जिम्मेवार निकायका पदाधिकारीले यस्तो गैर–जिम्मेवारीपूर्ण कार्य गर्नु गलत हो ।’
उनले भने,‘नेपाल सरकारका सम्बन्धित पदाधिकारीले यसरी घट्नामा आफू मुछिने डरले गलत र अवैज्ञानिक कारण देखाउदै आएका छन् । यसले गर्दा नै घट्नाहरु झन एकपछि अर्को गर्दै घटिरहेका छन् । समस्याको चुरो पत्ता लगाएर समाधान गर्नतिर पहिल्यैनै सोचेको भए आज सायद यस्तो समस्या आउँदैन थियो होला । म उहाँहरुको तर्कप्रति कहिल्यैपनि सहमति हुन सकेको छैन् । त्यसैले पछिल्लो समय म कटिबद्ध भएर नेपालको हवाई क्षेत्रको समस्या समाधान गर्नतिर केन्द्रित रहेर अघि बढेको छु । सरकारले मेरो अभियानमा पर्याप्त सहयोग पुर्याउनुपर्छ ।’