काभ्रे-कुकुर देख्ने वित्तिकै धेरैले दया र माया गर्छन् भने कत्तिले रिस गर्दछन् । केही समय अघिसम्म कुकुरलाई निर्धात कुटेपनि कानुन लाग्ने अवस्था थिएन । तर देशमा नयाँ मुलुकी अपराध संहित लागु भएसँगै कुकुर लगायत जनावरहरुलाई कुटेमा कानुन लाग्ने भएको छ । त्यसको सुरुवात पनि काभ्रेबाटै भएको छ ।
कुकुर कुटेमा कारवाही सुरु भएको पहिलो जिल्लानै काभे्र बन्न पुगेको छ । काभ्रेमा कुकुर कुटेको उजुरी परेसँगै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर बनेपा–७ सिनागालका स्थानीय संविधानबहादुर जोशीको घरमा पालेको कुकुरलाई कुटपिट भएपछि उनकै जाहेरीको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले खानिखोला गाउँपालिका ७ घर भई बनेपा ७ सिनागालमा डेरा गरी बस्ने वर्ष १९ का सुरेश भ्लोन र धुलिखेल नगरपालिका वडा नम्वर १ घर भएका वर्ष २८ का राज लामालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहले बताए ।
प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ९ को उपदफा ७ बमोजिम प्रमुख जिल्ला अधिकारीवाट पक्राउ अनुमति प्राप्त गरेसँगै ईलाका प्रहरी कार्यालय बनेपाले पहिलो पटक कुकुर कुटेको दुईजना युवालाई नियन्त्रणमा लिएके हो । नियन्त्रणमा लिएका दुबैजनालाई जिल्ला अदालत काभ्रेवाट म्याद थप गरेर प्रहरीले अनुशन्धान गरिरहेको छ ।