काठमाडौं । कञ्चनपुर, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसीलगायत पाँच प्रहरी निलम्वनमा परेका छन् । घटना जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको भन्दै गृह मन्त्रालयले जिसीलगायत टिमलाई निलम्बन गरेको हो । निर्मला हत्यापछि आन्दोलनमा उत्रिएका कञ्चनपुरका स्थानीय र महिला अधिकारकर्मीले अनुसन्धानमा त्रुटि भएको भन्दै अनुसन्धानमा संलग्न सम्पूर्ण टिम र शंकास्पद सबैमाथि छानबिन माग गरेका थिए । कञ्चनपुरका तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्ली विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।
आन्दोलन रोकिन्छ त ?
घटनाको अनुसन्धानमा खटिएको पूरै टिम र एसपीसहित निलम्बनमा परिसकेको भए पनि आन्दोलन रोकिएको छैन । आन्दोलन अनुसन्धानका लागि कि अन्य कुनै पूर्वाग्रहका लागि ? प्रश्न उठेको छ । निलम्बनमा पर्नेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेट्टी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र प्रहरी नायब निरीक्षक रामसिंह धामी छन् । एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् । निर्मला पन्तको हत्या विरोधमा देशैभर आन्दोलन चर्काइएको छ र उनका बुवा आमालाई बोकेर काठमाडौंका विभिन्न सञ्चारमाध्यम र क्लबमा पु¥याइएको छ । राज्यले यसको दबाब थेग्न नसकेर अनुसन्धानलाई शुन्यबाट शुरु गर्नेसमेत बताइरहेको छ । तर आन्दोलन रोकिन्छ त भन्ने विषय अन्यौलमा रहेको छ । अप्रत्यक्ष रुपमा धेरैको सामाजिक प्रतिष्ठामा समेत आँच आएको छ । वास्तविक अपराधीको समयमै पहिचान नहुँदा र अनुसन्धान नै गतिलो नबन्दा यस्तो स्थिति आएको धेरैको बुझाइ छ । तर, प्रहरीले भने घटनास्थलमा भेटिएको प्रमाणका आधारमा नै निर्मला हत्याको कारबाही अगाडि बढेको बताएको छ ।
निलम्बित डिएसपी अंगुर जिसी के भन्छन् ?
कञ्चनपुरकी निर्मला पन्त हत्याको अनुसन्धानमा साउन १३ गते साँझ महेन्द्रनगर पुगेका सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले आफ्नो अनुसन्धान कुनै पनि हालतमा फेल नखाने दाबी गरेका छन् । उनले फिल्डमा देखिएका घटनाक्रमका आधारमा अनुसन्धान अगाडि बढेको र फेला परेका प्रमाणका आधारमा सत्यतथ्य छानबिन गरेको बताए । उनले हत्या गरिएकी निर्मला पन्तको शरीरबाट लिइएको भेजिनल स्वाबबाट नै घटनाको पुष्टि हुने भन्दै अनुसन्धान अगाडि बढाएको दाबी गरे। अनुसन्धानकै क्रममा आफूहरुलाई त्यहाँ असहयोग भएको बताउँदै उनले छानबिनक्रममा काठमाडौं फर्किनुपर्ने बाध्यताप्रति दुःख व्यक्त गरे ।
गृहमन्त्री र आइजीपीको मत बाझियो
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीलाई नै निलम्बन गर्नु दुर्भाग्य भएको खनालको भनाइ छ । उनका अनुसार गल्ती भेटिए जागिरबाटै निकालिनुपर्ने तर बिना प्रमाण अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश नजाने उनको दाबी छ । गृहमन्त्री भने देशैभर चर्कन थालेको आन्दोलन मत्थर पार्न ती प्रहरी अधिकारीलाई निलम्बन गर्नुपर्ने पक्षमा रहेका थिए । अन्ततः आइजीपीको असन्तुष्टिबीच शनिबार साँझ गृहमन्त्रालयले पाँच प्रहरीलाई निलम्बन गरेको छ । गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिका संयोजक सहसचिव हरिप्रसाद मैनालीको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छनु । गृहमन्त्रालयले अहिले ६ जना प्रहरीलाई निलम्बन गरे पनि पीडित परिवारको पक्षमा उठेको आन्दोलन आइतबार पनि रोकिएको छैन । बरु यो आन्दोलन कञ्चनपुरबाट विस्तारै राजधानीलगायत देशैभर फैलन थालेको छ ।
श्राेत:-जनसवाल दैनिक