काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन सक्दैन भने ।
उनले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको र पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, “प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भयो । प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।”
उनले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रुपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने जनाए । कञ्चनपुरमा गत साउन १० गते निर्मलाको शव उखुबारीको पानीमा भेटिएको थियो । निर्मलाकी आमा दुर्गामायाले अपराध लुकाउन प्रमाण नष्ट गरिएको र ६० दिन बित्न लाग्दा पनि दोषीमाथि कारवाही नभएकाले बाध्य भएर प्रधानमन्त्रीसँग न्याय माग्न आएको गुनासो गरे । नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले अपराधीलाई कानूनको कठघरामा ल्याउन सरकारले कुनै कदम बाँकी राख्न नहुने बताए । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले कञ्चनपुरवासीलाई न्याय दिन र त्यहाँको वातावरण शान्तिपूर्ण बनाउन प्रमुख प्रतिपक्षलगायत सबै दल लागिरहेकाले सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरे ।
दोषी केही दिनमै कारबाहीको दायरामा : गृहमन्त्री थापा
काठमाडौं(जस)–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री थापाले भने, ‘थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।’ उनले भने, ‘घटनालगत्तै स्थानिय प्रहरीलाई सो घटनाको गम्भिर रुपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सीआईबीको टोली पनि पठाईएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानबिन समिति गठन गरियो । अनुसन्धानमा प्रहरीको समेत लापरबाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरिएको छ ।’
त्यस्तै गहृमन्त्री थापाले छलफलमा महिला हिंसा र बलत्कारका घटना न्यूनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी पनि दिएका छन् । गृहमन्त्रीले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताए । उनले भने, ‘मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलत्कारको घटना बढेका छन्, तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ ।’
आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए । जनताको जीउधनको रक्षा, मानवअधिकारको संरक्षण गर्ने दायित्व गृह मन्त्रालयको रहेको र मानअधिकार आयोगको पनि सोही दायित्व रहेकोले दुवै निकायले सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव गृहमन्त्री थापाले छलफलमा राखे । छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरेका थिए । जनताको जिउधनको सुरक्षामा गृह मन्त्रालय गम्भिर बन्नुपर्ने अध्यक्ष शर्माको भनाई छ ।