काठमाडौँ– नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टँुडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी. प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ । सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो ।
सर्वसाधारणलाई कुर्सी व्यवस्था
चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ । यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापनको काम गर्दैआएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ । कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसारसर्वसाधारणका लागि बस्नका लागि कुसी, पिउने पानी, र स्वास्थ्योपचार केन्द्र राखिने छ । सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिसकिएको ढकालले जानकारी दिए ।
बुधबार मनाइने संविधान दिवसका लागि कामपाले केही स्थानमा वृक्षरोपण, सरसफाइ, मञ्च सजावटजस्ता काम पनि गरेको छ । त्यसैगरी समारोहमा पुष्पवृष्टि गरिनाका साथै विकासे र सांस्कृतिक झाँकी प्रदर्शन गरिने कामपाले बताएको छ । कार्यक्रम अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ हुनेछ । काठमाडौँ उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेशागत समूहको प्रदर्शनका लागि कामपाले सहकार्य गरेको छ ।
‘संविधान सर्वस्वीकार्य बनाउने जिम्मा सरकारको’
काठमाडौँ(जस)–नेपाली काङ्ग्रेस सांसद प्रदीप गिरीले संविधानलाई सर्वस्वीकार्य बनाउने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् । प्रतिनिधिसभा मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले भने, “काङ्ग्रेस सरकारमा नरहँदा पनि प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई सहयोग गर्दैन, आवश्यक परेको बेलामा सरकारलाई सहयोग गर्छ ।” उनले काङ्ग्रेस सधैँ सत्यको पक्षमा अडिग रहेको बताए । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको वास्तविकता शीघ्र पत्ता लगाई दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै उनले समाजमा हिंसा तथा बलात्कारका घटना किन बढिरहेको छन् भन्ने सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद गिरीले सत्ताको हस्तान्तरण भए पनि रुपान्तरण हुन नसकेको उल्लेख गर्दै अहिलेको संयन्त्रलाई परिर्वतन गरेर भए पनि निर्मलाका बाबुआमालाई न्याय दिलाउनुपर्नेमा जोड दिए ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले समाजलाई चुनौती दिने घटनाका दोषी उम्कन नसक्ने बताउँदै वर्तमान सरकारले लोकतन्त्र र देशलाई बलियो बनाई मित्रराष्ट्रबीच अभूतपूर्व सम्बन्ध बनाउन सफल भएको उल्लेख गरे । सरकारले मुुलुक सञ्चालनका लागि राम्रोसँग राजश्व सङ्कलन गरेर अघि बढेको उल्लेख गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र देशको चौतर्फी विकासमा प्रतिबद्ध रहेको बताए ।
संविधानले परिकल्पना गरेअनुसार सरकारले तीन वर्षभित्र बनाउनुपर्ने मौलिक हकका कानून निर्माण गरिसकेको बताउँदै सांसद अधिकारीले मुलुकमा स्थायित्व कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गरे । सांसद राजेन्द्र लिङ्देनले सरकारले नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरेको विषयमा सरकारसँग स्पष्ट जानकारीको माग गर्दै निगमको विमान खरीद प्रकरणमा अर्बाैं रुपैयाँ अनियमितता भएको हुनसक्ने बताए । उनले उक्त अनियमितताको छानबिनका लागि संसदीय समिति बनाउन माग गरे ।
श्राेतः janasawal.com