अख्तियार प्रमुखमा कार्यवाहक प्रमुख आयुक्त घिमिरे सर्वसम्मत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ५ गते, शुक्रबार ०२:५८

काठमाडौं,-अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे स्वीकृत भएका छन् । बिहीबार संसदीय सुनुवाइ समितिले उनलाई सर्वसम्मत रूपमा  प्रमुख आयुक्तमा स्वीकृत गरेको समितिका जेष्ठ सदस्य सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । कार्यवाहक प्रमुख आयुक्तका रूपमा काम गरिरहेका घिमिरेले अब राष्ट्रपतिबाट सपथ लिएपछि पदभार ग्रहण गर्नेछन् । यसअघि संसदीय सुनुवाइका क्रममा सांसदहरूले घिमिरेमाथि अख्तियारले गरिरहेका कामकारबाही र उनका आगामी योजनाबारे प्रश्न सोधेका थिए ।

नेकपा सांसद योगेश भट्टराईले लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले संस्थालाई होइन आफूलाई शक्ति केन्द्र बनाएको र मानिसलाई साष्टाङ्ग गर्नु पर्ने अवस्था कसरी आएको थियो भनी प्रश्न गरेका थिए । भट्टराईले साँच्चै भ्रष्टहरूलाई कारबाही गर्ने हिम्मत छ कि छैन भन्ने प्रश्न पनि राखेका थिए । कांग्रेस सांसद पुष्पा भुषालले अख्तियारले बेलाबेलामा  दायरा नाघ्ने  गरेको  बताउँदै त्यसलाई रोक्न के गर्नुहुन्छ भनेर सोधेकी थिइन् । जवाफमा घिमिरेले अख्तियार व्यक्तिले भन्दा पनि पद्दतिले चलाउनु पर्छ भन्ने आफ्नो प्रतिवद्धता भएको बताए ।

घिमिरेले आफू कार्यवाहक प्रमुख भएदेखि नै १३ पाने भराउन छोडेको र अब पहिला अनुसन्धान गरेरमात्र १३ पाने भर्न लगाइने बताए । कार्यवाहक प्रमुख आयुक्त भएपछि १३ पाने भर्न रोकेको छु । पहिला अनुसन्धान हुन्छ  । प्रमुख आयुक्तकै नेतृत्वमा इन्टेलिजेन्स कमिटी बनाइएको छ, अनुसन्धानबाट सम्पत्ति विवरणभन्दा बढी सम्पत्ति देखियो भनेमात्र १३ पाने भर्नुपर्छ, घिमिरेले भने सम्पत्ति  मूल्यांकनको पनि नयाँ मापदण्ड बनाएका छौं । सांसदहरूले काम सुरू नहुँदै विभिन्न विकास निर्माणका काममा अख्तियार प्रवेश गरेकाले अप्ठेरो पर्ने गरेको गुनासो पनि गरेका थिए । घिमिरेले आफू कार्यवाहक भएयता  त्यस्ता कुनै पनि फाइल नतानेको बताए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु