काठमाडौं, ९ असोज । क्रोसियाका फुटबलर लुका मोड्रीच २०१८ को फिफाको बर्ष खेलाडीको उपाधि जितेका छन्। फुटबलको सर्वोच्च संस्था फिफाले हरेक बर्ष प्रदान गर्ने यस अवार्डमा क्रिस्टियानो रोनाल्डो र मोहमद सलाहलाई पछि पार्दै मोड्रीचले पहिलो पटक फिफा बर्ष खेलाडीको उपाधि जितेका हुन्। फिफामा आवद्ध देशका कप्तान र म्यानेजरहरुको मतबाट छानिने यस अवार्डमा मोड्रीचले सर्वाधिक २९.०५ प्रतिशत मत पाएर सो अवार्ड जितेका हुन् । त्यस्तै रोनाल्डोले १९.०८ प्रतिशत मत पाए भने सलाहले ११.२३ प्रतिशत मत पाए। मोड्रीचले यो अवार्ड पाएसंगै विश्व फुटबलमा पछिल्लो दश बर्षसम्म राज गरेका मेसी र रोनाल्डोको दबदबा अब सकिएको विश्वास गरिएको छ। अहिलेपनि सक्रिय फुटबल खेलिरहेका यी दुवै खेलाडीले पछिल्लो दश बर्षमा ५-५ पटक यो अवार्ड जितेका छन्। मोड्रीचले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका छन् भने क्रोसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याएका थिए। उनी यस विश्वकपका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल विजेता पनि हुन् भने उनले यस बर्षको युरोपको उत्कृष्ट फुटबलरको अवार्ड पनि जितिसकेका छन् । बर्ष खेलाडीको अवार्डका लागि फिफाले यसअघि सार्वजनिक गरेको १० खेलाडीबाट उत्कृष्ट ३ जनामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, क्रोसियाका लुका मोड्रीच र इजिप्टका मोहमद सलाह रहेका थिए । तिनै जना हालै युइएफ़एले दिएको युरोपको उत्कृष्ट खेलाडीको अवार्डमा पनि अन्तिम तीनमा थिए जसमा मोड्रीचले सो अवार्ड पाएका थिए। फिफाको बर्ष खेलाडीको अन्तिम तीनमा अर्जेन्टिनाका लियोनेल मेसी परेका थिएनन्। मेसीले बार्सिलोनालाई ला लिगा र कोपा डेल रे जिताए पनि च्याम्पियन्सलिग मा भने बार्सिलोना अन्तिम १६ बाट बाहिरिएको थियो। त्यस्तै विश्वकपमा पनि अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो। फिफाले गत श्रावन ८ गते सार्वजनिक गरेको १० जनाको सुचिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सका किलियन एम्बाप्पे, फ्रान्स कै एन्टोनी ग्रिजम्यान, फ्रान्सकै राफेल भेरान, इजिप्टका मोहमद सलाह, क्रोसियाका लुका मोड्रीच, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुने र इङल्याण्डका ह्यारी केन रहेका थिए । यस सुचिमा ब्राजिलका चर्चित फुटबलर नेइमार, बेल्जियमका रोमेलु लुकाकु यस सुचिमा परेका थिएनन् । फिफाले ३ जुलाई २०१७ देखि १५ जुलाई २०१८ सम्म अन्तर्राष्ट्रिय र क्लब स्तरमा गरेको प्रदर्शनलाई आधार बनाएर बर्षको उत्कृष्ट खेलाडी छानिएको बताएको छ । फिफाको ४ सदस्यीय प्यानलले यो सुची छानेको हो। सो प्यानलमा ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो, इङल्याण्डका फ्रान्क लामपार्ड, ब्राजिलका नाजारियो र इङल्याण्डका पुर्व म्यानेजर फाबियो कापेलो रहेका थिए। फिफाले यी १० खेलाडीलाई विश्वभरका फ्यानहरुलाई आगामी अगस्ट १० सम्म मत दिन भनेको थियो । फिफालेगए राति लन्डनमा आयोजित कार्यक्रममा सो अवार्ड वितरण गरेको छ।
श्राेतः janasawal.com