काठमाण्डौ : मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।नेपाली सेना र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको सहभागिता छ । चार दिने उक्त अभ्यासमा नेपाल, अमेरिका, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, सिङ्गापुर, क्यानाडा, फिलिपिन्स, बेलायत, डेनमार्क, बेल्जियम, इजरायल, भारत र चीनका सैनिकको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हुने उक्त अभ्यासमा ६४ विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धारका क्षेत्रमा कार्यरत संस्थाका समेत ३ सय प्रतिनिधिको सहभागिता छ ।
उक्त अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले ठूला प्रकारका प्राकृतिक प्रकोपका घटनाले सामाजिक र आर्थिक क्षेत्रमा मात्र नभएर मानवीय विकासमा समेत ठूलो प्रभाव पार्नाकासाथै उपलब्ध जनशक्ति, स्रोत र साधनको प्रभावकारी परिचालनमा यस्ता तालिमको आवश्यकता रहेको बताए ।
नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालय निर्देशक जीतबहादुर गुरुङले यस्तो तालिम सन् २०११, २०१३, २०१६ मा काठमाडौँमा सञ्चालन भएको जानकारी दिंदै यस पटक विषयमा आपसी सहकार्यका विषयमा पनि अभ्यासका क्रममा छलफल हुने बताए ।
आगामी वर्षदेखि यस्तो अभ्यास प्रदेशस्तरमा पनि सञ्चालन गरिने र यस पटकको अभ्यास विमानस्थल, छाउनी, टुँडिखेल र विभिन्न अस्पतालमा सञ्चालन गरिने सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले बताए । गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पपछिको खोज, उद्धार र राहतसहित घाइतेको उपचारका लागि बहुराष्ट्रिय सेनाको परिचालन र समन्वय निकै प्रभावकारी ढङ्गबाट भएको निष्कर्ष निकालिएको थियो ।
श्राेतः janasawal.com