जनकपुर : जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकले एक बलात्कृत बालिकाको गलत रिपोर्ट दिएको रहस्य सार्वजनिक भएको छ । छिमेकबाटै बलात्कृत भएकी धनुषाको जनकनन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिकाको रिपोर्टमा जनकपुर अञ्चल अस्पतालका डा. रम्भा गोइत र डा. भीके सिंहले बलात्कारीलाई उन्मुक्ति दिने रिपोर्ट दिएको रहस्य खुलेको हो ।
भदौ ९ गते आफ्नै घरमा जनकनन्दनी गाउँपालिका २ का २३ वर्षीय किरण खत्वेबाट बलात्कृत बालिकालाई इलाका प्रहरी कार्यालय खजुरीले स्वस्थ्य परीक्षणका लागि अञ्चल अस्पताल पुर्याएको थियो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय गोइत र सिंहले बालिकालाई केही नभएको तयार गरेको रिपोर्ट ११ दिनपश्चात जनकपुर अञ्चल अस्पतालले उपलब्ध गराएको थियो ।
बालिकाको गाला, आँखा, ओठ र घाँटीमा देखिने गरी कोतरेको घाउ रहे पनि अस्पतालले रिपोर्टमा ‘नो स्केच’ लेखेर दिएपछि प्रहरीलाई शंका लाग्यो । र, इलाका प्रहरी खजुरीले भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराएको थियो । तर जिल्ला अस्पताल सिरहाले अनुहारका विभिन्न ठाउँमा कोतरेको घाउले बालिका बलात्कृत भएको पुष्टि गरेको छ ।
बलात्कार घटनापश्चात भारत भागेका खत्वे पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते नै पक्राउ गरेको थियो । अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफ्नो अपराधसमेत स्वीकार गरेका छन् । बालिका बलात्कार भएको पुष्टि गरेको अस्पताल सिरहा र बलात्कार नभएको पुष्टि गरेको अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट र अभियुक्तले स्वीकारेको बयानको भिडियोसहित सरकारी वकिल कार्यालयमार्फत इलाका प्रहरी खजुरीले जिल्ला अदालतमा मुद्दा पेस गरेको जनाएको छ ।
सरकारी वकिलको कार्यालयले अभियुक्त खत्वेसहित स्वास्थ्य रिपोर्टमा छेडखानी गर्ने चिकित्सकलाई समेत कारबाहीको माग गर्दै जिल्ला अदालत धनुषामा असोज ४ गते मुद्दा दर्ता गराएको छ । मुद्दाको मिसिलमा भनिएको छ ‘अस्पालका डाक्टरले चरम लापरबाही गरी अनुसन्धानलाई प्रभावित हुने गरी रिपोर्ट तयार गरेको छ, बालिकालाई तत्कालै स्वास्थ्य परीक्षण गर्न पठाउँदा ११ दिन ढिलो गरेर दिएको रिपोर्टमा यौनाङ्गमा केही नदेखिएको र पुनः सिरहा अस्पतालमा पठाउँदा यौनाङ्ग च्यातिएको देखियो ।’ सरकारी वकिलको कार्यालयले यी दुवै स्वास्थ्य रिपोर्टको प्रतिलिपि र अभियुक्तको बयानको भिडियो टेपसहित स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, मेडिकल काउन्सिल, महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयलाई गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही माग गरेको छ ।
श्राेतः janasawal.com