काठमाडौं–एयरटेल सहकारीका सञ्चालक अशोक गोयल सर्वसाधारणको ५० करोड रुपैयाँ ठगेर परिवारसहित बेपत्ता भएका छन् । भारतबाट विभिन्न रुपमा नेपाल आई सामान्य कपडा पसलमा मजदुरी गर्दै आएका अशोक गोयल परिवार एयरटेल बचत तथा ऋण सहकारी संस्थाको ५० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरी गत सातादेखि फरार भएका हुन् । काठमाडौंको न्यूरोडमा सो सहकारी संस्थाको अध्यक्ष र प्रबन्धनिर्देशक समेत रहेका गोयलले पदको दुरुपयोग गरी आर्थिक अनियमितता गर्दै आएकोबारे जनसवाल दैनिकले नियमित समाचार प्रकाशन गर्दै आएको थियो । उनले विभिन्न मानिसहरुमार्फत समाचार प्रकाशन नगर्न समेत दबाब दिएका थिए । प्रमाणहरुको आधारमा समाचार निरन्तर रुपमा प्रकाशित भएपछि गत शनिबार बिहान गोयलको सपरिवार भारत गएको सो संस्थाका सेयरसदस्यहरुले अनुमान लगाएका छन् । गत शुक्रबार बेलुकासम्म अफिसमा बसेर सबै प्रमाणहरु बोकी शनिबार बिहानीपख गोयल परिवार नै एकाएक फरार भएको सेयरधनीहरुको भनाइ छ ।
प्रबन्धनिर्देशक अशोक गोयल र संस्थामा अध्यक्ष रहेकी उनकी श्रीमती सुमन केडिया, उनीको छोरी र छोरा समेत एकैसाथ फरार भएका छन् । गत शनिबारदेखि सम्पर्कविहीन भएर बसेका गोयलले संस्थामा गडबड गरेर भागेको अनुमान सेयरधनीहरुले गरेपछि अहिले सहकारीको कार्यालयमा पीडितहरुको भीड लागेको छ । सो सहकारीको कार्यालयमा केही कर्मचारीमात्र रहेका छन् भने पीडित सेयरधनीहरु आक्रोशित मुद्रामा अफिसमा ओहोरदोहोर गरिरहेका छन् । गोयलले फर्जी कागजात बनाएर ठूलो रकम हिनामिना गरी उनीहरु सम्पर्कविहीन बनेको पीडितहरुले बताएका छन् । विशेषगरी मारवाडी समुदायको ठूलो रकम रहेको उक्त सहकारीका सञ्चालकहरु कोही पनि सम्पर्कमा छैनन् । सो सहकारीका अध्यक्ष, प्रबन्धनिर्देशक तथा सञ्चालकहरुले आम सर्वसाधारणको एक अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अनुमान सेयरधनीहरुको रहेको छ । सो सहकारीको अधिकांश सञ्चालकहरु गोयलकै परिवारका सदस्यहरु रहेका थिए । जसमा अशोक गोयल प्रबन्धनिर्देशक, उनकी श्रीमती सुमन केडिया अध्यक्ष रहेका थिए ।
आइतबार एकाएक उक्त सहकारीका अध्यक्ष र प्रबन्धनिर्देशक फरार भएको खबर फैलिएसँगै पीडितहरु सहकारी कार्यालयमा पुगेका थिए । सो रकम सबै कागजपत्र नक्कली बनाएर रकम अनियमितता गरेको पाइएको छ । सहकारीका प्रबन्धनिर्देशक गोयलले सर्वसाधारणलाई ठगी गर्न नयाँ–नयाँ जुक्ति प्रयोग गरेको भेटिएको छ । भारतबाट नेपाल छिरेका गोयल सामान्य कपडा पसलमा काम गर्ने व्यक्ति हुन् । विभिन्न ठगी धन्दा गरेर नक्कली नेपाली नागरिकता लिनुअघि उनको नाम अशोक जैन रहेको थियो भने नक्कली नागरिकता बनाउँदा उनले जैन हटाएर गोयल राखेको पाइएको छ । सो सहकारी सञ्चालन गरेसँगै उनले ढुकुटी सञ्चालन, हुण्डीको कारोबार, वैदेशिक रकमको अपचलन गरी करोडौँ रुपैयाँ संकलन गरेको समेत स्रोतको दाबी रहेको छ ।
गैरकानुनी ढुुकुटी सञ्चालन गरेपछि साथीहरुसँग कुरा मिल्न छाडेको थियो । उक्त ढुकुटीको कारोबार सहकारीमा नै नक्कली खातामार्फत गर्ने र ढुकुटीको अवधि समाप्त भएसँगै सो खाताहरु आफैँ बन्द गरी सबै प्रमाणहरु नष्ट गर्दै गोयल (जैन)ले गर्दै आएका थिए । ठगी धन्दालाई निरन्तरता दिन गोयलले एयरटेल सहकारीकै कार्यालयबाट लाभा, माइक्रोम्याक्स, एमआईलगायतका मोबाइलको आधिकारिक बिक्रेता भएको भन्दै विभिन्न व्यक्तिसँग लगानी गर्न भन्दै रकम संकलन समेत गरी ठगी गरेका थिए ।
उक्त काम सिद्धी विनायक इनकर्पोरसन र श्रीगणेश गणपति इन्टरनेशनलको नाम देखाउँदै ठगी गर्दै आएका थिए । सो मोबाइल कम्पनी देखाएर सो कम्पनीमा सहकारीकै पैसा लगानी गरेको पाइएको छ । गोयलले यसका अलावा न्युरोडकै व्यापारीहरुलाई मिटरब्याजमा पैसा लगानी गर्ने र गुण्डाशैलीमा सहकारीकै कर्मचारीहरुको प्रयोग गरी पैसाअसुली गर्ने गर्दैै आएका थिए । सहकारीमा सर्वसाधारणदेखि उच्च व्यक्तिले जम्मा गरेको पैसा सबै आफ्नो नाममा, श्रीमतीको नाममा, छोरीको नाममा, छोराको नाममा र फर्जी नाममा समेत कर्जा बनाई सेयर बजारमा, मोबाइल व्यापारमा, मिटरब्याज लगानीमा, बालुवा खानीलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको समेत प्रारम्भिक अनुसन्धानबाट फेला परेको छ ।
एयरटेल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धनिर्देशकसहित उनको परिवारको बारेमा सप्रमाण समाचार प्रकाशन भएपछि सो सहकारीमाथि नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो । पहिलोपटक राष्ट्र बैंकबाट सो संस्थाका प्रबन्धनिर्देशक गोयल अध्यक्ष सुमन केडिया र सहकारीका अन्य केहीमाथि सप्रमाण बैंकमा उपस्थित हुन निर्देशन दिए पनि उनी पहिलोपटक बैंकमा गएनन् । पहिलो निर्देशनलाई लत्याएका गोयलले दोस्रोपटक राष्ट्र बैंकबाट गएको निर्देशन पत्रपछि उपस्थित भए पनि केन्द्रीय बैंकले अहिलेस्म्म कारबाही गर्न समेत सकेको छैन ।
प्रबन्धनिर्देशक अशोक गोयल भनिने अशोक जैनविरुद्ध जनसेवा प्रहरी कार्यालयमा उजुरी परेको थियो । सो सहकारीका कर्मचारी प्रकाश श्रेष्ठ र रमिला तामाङले उनीहरुविरुद्ध छुट्टाछुट्टै उजुरी दर्ता गराएका थिए । सहकारीका प्रबन्धनिर्देशक गोयल भनिने भारतीय मूलका अशोक जैनले कामदारको शैक्षिक प्रमाणपत्रको सक्कल प्रतिनै लिने गरेका आरोप लागेको थियो । भारतको राजस्थानबाट आएका अशोक जैनले गत २०६३ सालमा जनकपुर–१४ बाट अशोक गोयल भनिने अशोक जैनको नाममा नेपाली नागरिकता लिएका थिए । त्यसअघि उनी कपडा पसलमा काम गर्ने गर्दथे । नेपाली नागरिकता लिएको केही वर्षपछि उनले एयरटेल सहकारी खोलेका थिए । अशोककी श्रीमती सुमन केडियाको खिचापोखरीमा कपडा पसल खोलेर बसेकी थिइन । आठ वर्षअगाडि सामान्य जागिरे गोयल एयरटेलबाटै बह्मलुट मच्चाएर करोडपति बनेका हुन् ।
एयरटेल बचत तथा ऋण सहकारी संस्था प्रबन्धनिर्देशक अशोक गोयलले नेपाल सरकारको विभिन्न निकायमा बुझाएको शैक्षिक प्रमाणपत्र र नागरिकता समेत नक्कली भएको पाइएको छ । सहकारीमा जागिरका लागि आह्वान गरेपछि नेपाली नागरिकता र शैक्षिक प्रमाणपत्रसहित निवेदन दिनेहरुको प्रमाणपत्रमा फोटोसपबाट आफ्नो नाम ठेगाना लेखी नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्र प्रिन्ट गरेको समेत अनुसन्धानबाट खुलेको छ । भारतीय नागरिक अशोक जैनले २०६३ सालमा अशोक गोयलका नाममा नेपाली नागरिकता लिएपछि सहकारी सञ्चालन गरी ढुकुटी, हुण्डीको कारोबार सञ्चालन गरे पनि पछिल्लो समय मोबाइल कम्पनी, बालुवाखानी, घरजग्गा कारोबार, सेयरबजारमा सक्रिय हुनथालेका थिए । उनले सञ्चालन गरेको सहकारीका पनि सबै संस्थापक सदस्यहरु निष्काशन गरी एकलौटी बनाइसकेका छन् । प्रायः सबै बैंक खाता आफ्नो,श्रीमतीको र छोरीको दस्तखतबाट सञ्चालन गर्दै आएका उनले सञ्चालक समितिको माइन्युट आफूखुसी बनाउने र कुनै सञ्चालकलाई संस्थामा नै बोलाएर त कसैलाई घरमा नै लगेर दस्तखत गराउने गरेको पनि खुल्न आएको छ ।
माइन्युटका विषयमा प्रश्न उठाउने सञ्चालकलाई सञ्चालक समितिबाट हटाएको पाइएको छ । छोटो समयमा न्युनवर्गबाट उच्च वर्गमा पुग्ने उद्देश्यस्वरुप आफ्नो, श्रीमतीको, छोरीको, छोराको र नक्कली खाताबाट कर्जा बनाई सेयरबजारमा, घरजग्गालगायत अन्य क्षेत्रमा लगानी गर्नका लागि संस्थाकै कर्मचारीको नाम समेत प्रयोग गरेको पाइएको छ । भारतको राजस्थानबाट आएका अशोक जैनले गत २०६३ सालमा जनकपुर–१४ बाट अशोक गोयल भनिने अशोक जैनको नाममा नेपाली नागरिकता लिएका थिए । उनले संस्थाको पैसा विभिन्न बैंकहरुमा जैनले आफ्नो व्यक्तिगत नाममा खाता खोली ब्याज खानका लागि जम्मा गरेकोसम्म पाइएको छ । छोरीका नाममा लिएको तीन करोड ४७ लाख रुपैयाँ सेयरमा लगानी गर्नुका साथै ललितपुरस्थित मंगलमूर्ति बहुउद्देश्यीय सहकारी सञ्चालन गरेको पाइएको छ । आशिमा भन्ने नक्कली खाताबाट लिएको ६० लाख रुपैयाँ कर्जा विभिन्न कम्पनीका सेयर खरिदका लागि प्रयोग गरेको पाइएको छ । यस्तै बेला–बेलामा विभिन्न कम्पनीहरुले निकाल्ने एफपीओ तथा आईपीओमा सहकारीको करोडौँ पैसा लगाउने र सेयर पर्नेबित्तिकै सहकारीको पैसा फिर्ता गरी अकूत धन आर्जनमा जनताको पैसा जुवा खेलिरहेको पाइएको थियो । सरकारी करछली गर्न उनले लिने गरेको तलब एक लाख रुपैयाँ छोरीको, छोराको र आफ्नो नाममा राखी एक प्रतिशत मात्र कर तिर्ने गरेको पाइएको छ । उनले चढ्ने गाडी, छोरीले चढ्ने स्कुटर संस्थाको पैसाले किनेको मात्र नभएर सो सवारीमा प्रयोग हुने इन्धनदेखि मर्मत खर्चसम्म संस्थाको ढुकुुटीबाट खर्च गर्दै आएका थिए । भारतीय दूरसञ्चार सेवाप्रदायक कम्पनीजस्तै देखाउनकालागि गोयलले एयरटेल नाम राखी सहकारी चलाएको पाइएको छ । गोयलले ललितपुर फाइनान्समा ८ करोड भन्दा बढीको सेयर खरिद गरेर अध्यक्ष बन्ने प्रयाससमेत गरेका थिए ।
श्राेतः janasawal.com