३९ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न पर्यटन संघ संस्थाहरुको सहकार्यमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले मङ्गलबार “Tourism and the Digital Transformation” भन्ने नाराका साथमा हाइकिङ कार्यक्रमको आयोजना गर्यो ।
प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि रविन्द्र अधिकारीज्यूद्वार ककनी मेमोरियल पार्कबाट सुरु भई शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै सूर्याचौर पुग्ने नयाँ पैदल यात्रा पदमार्गको उद्घाटन गरियो । मन्त्रि अधिकारीले नयाँ पदमार्ग गन्तव्यले स्थानीय पर्यटनको प्रवर्द्धनमा मद्दत पुग्ने बताउनु भयो । यस क्षेत्रको विकासका लागि अति आवश्यक भौतिकपूर्वाधार मध्य सडकको अवस्था महत्वपूर्ण रहेको भन्दै सडक निर्माणको लागि सरकारको तर्फबाट आफ्नो ध्यानकर्षण समेत भएको बताउनु भयो । साथै उहाँले ककनीलाई अन्तरराष्ट्रिय एक्जिबीसन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्न बजेट समेत विनियोजन भई कार्यक्रम समेत अघि बडेकाले ककनी क्षेत्रमा पर्यटनको विकास गर्न सरकार आतुर रहेको पनि बताउनु भयो ।
टानका अध्यक्ष नवराज दाहालले सूर्यचौरलाई नयाँ पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस हाइकिङ कार्यक्रम आयोजना गरेको भन्दै सूर्यचौर काठमाण्डौबाट नजिकै पर्ने एक उत्तम गन्तव्य भएको कारण आन्तरिक र बाह्य पर्यटकहरूले सुन्दर प्रकृतिको आनन्द लिन सक्ने बताउनु भयो । साथै उहाँले पर्यटन व्यवसायीहरूलाई सूर्यचौर हाइकिङ पर्यटकहरुको भ्रमण प्याकेजमा समेत समावेश गर्न अनुरोध गर्दै यसले नेपालको पर्यटनलाई बढवा दिन मद्दत गर्ने कुरामा जोड दिनु भयो ।
टानका महासचिव आङ पेम्बा शेर्पाले काठमाण्डौको धुलो धुवाँबाट टाधा आएर रमाउने आन्तरिक र बाह्य पर्यटकहरू सूर्यचौरको रमणीय प्रकृतिबाट आकर्षित हुने कुरा बताउनु भयो ।
हाइकिङ्ग ककनी मेमोरियल पार्कबाट सुरु भएर शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर मा अन्त्य भएको थियो । समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल जस्ता अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य अवलोकन गर्न सकिन्छ ।
पर्यटन मन्त्रि अधिकारी, सचिव कृष्ण प्रसाद देवकोटा, टानका कार्यसमिति सदस्यहरु, नेपाल पर्यटन बोडर्का कार्यकारी निर्देशक दिपक राज जोशी, विभिन्न पर्यटन संस्थाका प्रतिनिधिहरु, पर्यटन व्यवसायीहरु, मिडिया र अन्य व्यक्ति गरी ५ सय भन्दा बढीको सहाभागिता थियो । यसैगरी प्रदेश नं.३ का वन तथा पर्यटन विकाश समितिका सभासदहरु समेतको उपस्थिति थियो ।