काठमाडौं–३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरेको थियो । महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो ।
निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । त्यस्तै सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी गत भदौ २९ गते रिहा भएका थिए । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत, विराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो । एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखाका प्रमुख थिए ।
यस्तै सुन प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पनि एसएसपी लोहनी रिहा भएको दुई दिनमै रिहा भएका थिए । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत, विराटनगरका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले केसीलाई थुनामुक्त गर्न आदेश दिएको हो । डिएसपी केसीले थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । केसी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखामा कार्यरत थिए ।
प्रहरी नायब निरीक्षक खरेल पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा बिहिबार प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो ।
आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा बिहिबार थप पक्राउ गरिएको हो । आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले बिहिबारै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिष्टारद्वय धर्मराज रोकाय र गङ्गाधर पौडेललाई पक्राउ गरेको छ । आयोगका अनुसार शङ्कर इलेक्ट्रिकल इण्डष्ट्रिजका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको भन्ने उजुरीका आधारमा आयोगले बबरमहलबाट पक्राउ गरेको हो ।
श्राेतः janasawal.com